कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडाैं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन

भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।


तस्बिरहरु : बिजु महर्जन/कान्तिपुर

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो ।

शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, 'केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।'

लिमिटेडले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताएका छन् । उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको हो ।

यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।

प्रकाशित : चैत्र २०, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?