कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका तीन प्राचीन सम्पदा फिर्ता ल्याइँदै

देवेन्द्र भट्टराई

काठमाडौँ — नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका तीनवटा प्राचीन सम्पदा फिर्ता हुने भएका छन् । ती सम्पदाको ‘उत्पत्ति र आधिकारिकता’ पुष्टि भएपछि अमेरिकाको न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालमै फर्काइदिन लागेको हो । 

नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका तीन प्राचीन सम्पदा फिर्ता ल्याइँदै

पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३औं शताब्दीको काठमा कुादिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएका छन् । न्युयोर्कमा बिहीबार आयोजित समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्युयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले यी सम्पदा नेपाललाई हस्तान्तरण गरिएकोबारे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अमेरिकी गृह मन्त्रालय तथा सुरक्षा निकायको समन्वयमा फेला परेका यी सम्पदाको ‘कन्ट्री अफ ओरिजन’ (उत्पत्तिको पहिचान)बारे स्थानीय अदालतमा मुद्दा परेको र अदालतको छिनोफानोपछि सम्पदा नेपाललाई फर्काइन लागेको संस्कृति मन्त्रालयले जानकारी दिएको छ । प्राचीन सम्पदाको चोरी, ओसारपसार वा खरिदबिक्री गर्ने गिरोहमार्फत अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायले फेला पारेको भनिएका यी सम्पदा युनेस्कोको अभिसन्धिअनुसार अमेरिकाले नेपाललाई फर्काउने भएको हो । स्रोतका अनुसार यी सम्पदा चोरी गरेर अमेरिका पुर्‍याउने गिरोह श्रीलंकाली मूलका थिए । यसबारे विस्तृत विवरण भने खुलाइएको छैन ।

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा भेटिए ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान छ । नेपाल र अमेरिका उक्त अभिसन्धिका हस्ताक्षरकर्ता हुन् ।

यो पनि पढ्नुहाेस्

– हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

– वासुदेव–कमलाजा मूर्ति ल्याउन लाग्ने खर्च ललितपुर महानगरपालिकाले बेहोर्ने

प्रकाशित : चैत्र २०, २०७७ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?