२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिसडोलवासीसँग सहमति भएन, सातादेखि फोहोर सडकमै

काठमाडौँ — काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच भएको वार्ता सफल हुन नसकेपछि उपत्यकाको फोहोर अझै नउठ्ने भएको छ । महानगर र सिसडोलवासीबीच बुधबार र बिहीबार वार्ता भएको थियो ।

सिसडोलवासीसँग सहमति भएन, सातादेखि फोहोर सडकमै

बिहीबार महानगर प्रमुख विद्यासुन्दर शाक्य बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको फोहोरमैला प्रभावित शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिश शर्मा ढुंगानाले बताए । उनले शुक्रबारको वार्ता सकारात्मक बनेपनि आन्दोलन जारी राख्ने जनाए ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलले सिसडोलवासीसँग बृहत् छलफल भए पनि सहमति हुन नसकेको बताए । ‘मेयर अस्वस्थ हुनुहुन्थ्यो, छलफलमा केही समय सहभागी भएपछि उहाँ उपचारका लागि निस्किनुभयो,’ उनले भने, ‘त्यसपछि सिसडोलवासीले मेयरसाबकै अगाडि छलफल गर्ने भनेपछि वार्ता स्थगित भयो ।’ सिसडोलवासीसँग शनिबार वार्ता गरी फोहोर व्यवस्थापनको समस्या टुंग्याउने उनले बताए ।

सिसडोलवासीले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्नेलगायत यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

उपत्यकाको फोहोर चैत १३ देखि उठ्न सकेको छैन । उपत्यकाका १८ स्थानीय तहको फोहोर १३ वर्षदेखि सिसडोलमा विसर्जन गरिँदै आएको छ । हाल दिनहुँ १२ सय मेट्रिक टन फोहोर सिसडोल पुर्‍याइन्छ ।

काठमाडौं महानगरबाट मात्रै दिनहुँ ५ सय मेट्रिक टन फोहोर निस्किन्छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि सरकारले नुवाकोटकै बन्चरेडाँडामा १७ सय रोपनी जग्गा अधिग्रहण गरी ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?