२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

औषधि नखाइदिँदा हात्तीपाइले रोगविरुद्धको अभियान कमजोर

नेपालमा अझै साढे २ करोड जनसंख्या हात्तीपाइले रोगको जोखिममा– डा. कृष्ण पौडेल, निर्देशक- ईडीसीडी
रुपा गहतराज

काठमाडौँ — सरकारले लाखौं खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान चलाइरहे पनि लक्षित वर्गले औषधि सेवन नगरिदिँदा बाँकेमा यो अभियान सफल हुन सकेको छैन ।

औषधि नखाइदिँदा हात्तीपाइले रोगविरुद्धको अभियान कमजोर

बाँकेमा २०६७ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि खाएका थिए । तर दोस्रो वर्ष यो संख्या झन्डै आधाले घट्दै ४७.४३ प्रतिशत पुग्यो ।

त्यसपछिका वर्षहरूमा क्रमशः ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशतको मात्रै सहभागिता रह्यो । सन् २०१९ मा ५४.९८ प्रतिशतले खाँदा सन् २०२० मा यो संख्या बढेर ७४ प्रतिशतसम्म पुगेको थियो । गत वर्ष ५ लाख ४२ हजार ६ सय ३६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकामा ४ लाख ३६ हजार ६ सय ८ जना मात्रै सामेल भएका स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ । यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ ।

पछिल्लो एक दशकयता निरन्तर अभियान चले पनि जिल्लामा १० प्रतिशत मात्रै बिरामी घटेका छन् । पहिलो चरणको अभियान चल्दा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले करिब १० प्रतिशत रहेको तथ्यांक छ । यो औषधि सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउँछन् भन्ने भ्रम फैलँदा उपस्थिति घट्दै गएको स्वास्थ्यकर्मीहरूको बुझाइ छ । जनप्रतिनिधि र अभियानमा खटिने स्वास्थ्यकर्मीले त्यस्ता भ्रम हटाउन पहल नगर्दा यस्तो अवस्था आएको बताउँछन् स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह । ‘जनताकै तहमा पनि औषधि खानमा वास्ता गरिएको पाइँदैन,’ उनले भने ।

यस वर्ष स्थानीय तहमार्फत हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन हुँदै छ । शाहका अनुसार बाँकेमा ५ लाख ७६ हजार ७६ जनालाई औषधि खुवाइँदै छ । राप्तीसोनारी गाउँपालिकामा ७० हजार, कोहलपुरमा ८५ हजार, बैजनाथमा ६५ हजार, खजुरामा ५९ हजार, जानकीमा ४४ हजार, नेपालगन्जमा १ लाख ६६ हजार, डुडुवामा ४३ हजार र नरैनापुरमा ४० हजारभन्दा बढीलाई अभियानमा सामेल गराउने लक्ष्य छ । ‘जिल्लाका हरेकलाई औषधि खुवाउने योजना बनाएका छौं,’ उनले भने, ‘अब परम्परागत होइन, नयाँ ढंगबाट अभियान सुरु गर्छौं ।’ उनका अनुसार अभियानमा खटिएका स्वास्थ्यकर्मीको समेत अनुगमन हुनेछ ।

नेपालगन्जमा चैत २० देखि चैत मसान्तसम्म अभियान सञ्चालन हुने उपमहानगरले जनाएको छ । यसअघि कम औषधि सेवन भएका स्थानमा जनप्रतिनिधि, धर्मगुरु, स्वास्थ्यकर्मीलगायतको सहभागितामा अभियान चलाउने तयारी गरिएको छ । अभियानका लागि १ सय ११ स्वास्थ्यकर्मी परिचालन हुने उपमहानगरको स्वास्थ्य शाखाअन्तर्गत हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन विनोदकुमार विकले बताए ।

‘नगरमै औषधि खान आनाकानी गर्छन्,’ उनले भने, ‘पढेलेखेकाले नै औषधि नखाइदिँदा गाउँ–गाउँमा बुझाउन गाह्रो भयो ।’ उनका अनुसार गर्भवती, सुत्केरी र सिकिस्त बिरामीबाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाइनेछ ।

स्वास्थ्य कार्यालयअन्तर्गत हात्तीपाइले रोगविरुद्धका फोकल पर्सन रत्नलाल शर्माका अनुसार नेपालगन्जमा गत वर्ष ५२ प्रतिशतले मात्रै औषधि खाएका थिए । यो संख्या ९० हजार ३ सय ३२ हो । ‘स्थानीय तह आफैं सचेत भएर सहयोग गरेमा अभियान सफल हुनेछ,’ उनले भने, ‘तर कतिपय जनप्रतिनिधिलाई नै पूर्ण जानकारी छैन । स्थानीय तहले नै अगुवाइ गरे कभरेज बढाउन सम्भव छ ।’ उनका अनुसार रोग निवारणका लागि हरेक वडामा ६५ प्रतिशतभन्दा बढीले सेवन गर्नुपर्छ ।

नेपालगन्ज उपमहानगर प्रमुख धवलशमशेर राणाले औषधि सेवनको संख्या बढाउने वडालाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने बताए । ‘जहाँ ८५ प्रतिशतभन्दा बढी खुवाइन्छ, त्यो वडाको बजेट वृद्धि गर्न पहल गर्नेछु,’ उनले भने । यसपटक बाँकेसहित देशभरका १२ जिल्लामा यो अभियान सञ्चालन हुँदै छ ।

अझै साढे २ करोड जनसंख्या हात्तीपाइलेको जोखिममा नेपालमा अझै साढे २ करोड जनसंख्या हात्तीपाइले रोगको जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर बर्सेनि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलाइए पनि यसको जोखिममा रहनेको संख्या उल्लेख्य मात्रामा नघटेको महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । उनका अनुसार अहिलेसम्म ११ करोड १० लाख मात्रा औषधि जोखिमयुक्त जनसंख्यामा खुवाइसकिएको छ । ‘अझै ६३ वटा जिल्ला यो रोगको जोखिममा छन्,’ उनले भने ।

हालसम्म मुलुकभर ३० हजारभन्दा बढीले हात्तीपाइलेसम्बन्धी समस्या भएको भन्दै सरकारी स्वास्थ्य संस्थामा रिपोर्ट गरेका छन् । जसमध्ये धेरैमा हाइड्रोसिलको समस्या देखिएको छ । आर्थिक वर्ष २०७५/७६ सम्मको तथ्यांकअनुसार ९ हजार ८० जनाको हाइड्रोसिलको शल्यक्रिया भइसकेको छ । हाइड्रोसिल हात्तीपाइलेका कारण हुने एक शारीरिक समस्या हो ।

नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । पहिलो वर्ष एकमात्र जिल्लामा औषधि खुवाइएको थियो । सन् २००७ मा बढाएर २१ जिल्लामा अभियान सञ्चालन गरियो । धेरै जिल्लामा यो रोगका बिरामी देखिएपछि सन् २०१३ मा ५६ जिल्लामा औषधि खुवाइएको थियो । सन् २०२० मा भने १३ जिल्लामा मात्रै यो अभियान सीमित भयो ।

‘गत वर्ष हात्तीपाइलेको उच्च जोखिममा रहेका र धेरै बिरामी भेटिएका जिल्लामा मात्रै औषधि खुवाइएको हो । अवस्था हेरी यो अनुपात बढ्ने–घट्ने भइरहन्छ,’ डा. पौडेलले भने । उनका अनुसार यो रोगका बिरामी समुद्र सतहदेखि ३ सय फिट (तराई) देखि ५८ सय फिटसम्मको उचाइ (पहाड) सम्म फेला परेका छन् ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?