माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माण प्रक्रिया सुरु हुन सकेन : शर्मा- समाचार - कान्तिपुर समाचार

माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माण प्रक्रिया सुरु हुन सकेन : शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा न्यूज एजेन्सी नेपाललाई बिहीबार प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकोले नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिएमा मात्रै कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनले बताए । उनले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद् सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उनले भने, ‘संसद्‌मा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौं । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने संकेत प्रस्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि बताए ।

प्रकाशित : चैत्र १९, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड'

कान्तिपुर संवाददाता

भारत सरकारले अभिनेता रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड'बाट सम्मान गर्ने भएको छ । फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रजनीकान्तलाई यो सम्मान दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सूचना तथा प्रसारणमन्त्री प्रकाश जावेडकरले बिहीबार रजनीकान्तलाई यो अवार्ड दिने घोषणा गरेका हुन् । 'यो घोषणा गर्न पाउँदा निकै खुसी लागिरहेको छ । सन् २०१९ को दादासाहेब फाल्के अवार्डबाट भारतीय फिल्म क्षेत्रको महान् कलाकार रजनीकान्तलाई सम्मान गरिने भएको छ । अभिनेतासँगै उनले निर्माता र पटकथाकार भएर फिल्म क्षेत्रलाई पुर्‍याएको योगदान ठूलो छ,' जवाडेकरले ट्विटरमा लेखेका थिए ।

सन् १९६९ मा स्थापना भएको यो अवार्ड भारतको सबैभन्दा प्रतिष्ठित सम्मान हो । हरेक वर्ष प्रदान गरिने यो अवार्ड भारतको नेसनल फिल्म अवार्डसँगै सरकार र अवार्डका आयोजकबाट संयुक्त रुपमा प्रदान गरिन्छ ।

यो पटक आशा भोस्ले, निर्देशक सुवास घई, अभिनेता मोहनलाल, गायक शंकर महादेवन र विश्वजीत च्यटर्जीको जुरीले रजनीकान्तलाई अवार्ड दिने निर्णय गरेको हो । सन् २०१८ को यो अवार्ड अभिनेता अमिताभ बच्चनले पाएका थिए ।

राजनीतिमा प्रवेश गरेको तीन वर्षपछि हालै रजनीकान्तले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नयाँ पार्टी नखोल्ने घोषणा गरेका थिए । सन् १९७५ मा तामिल फिल्म 'अपूर्व रागङ्गल'बाट अभिनयमा डेब्यु गरेका उनले त्यसपछि 'बाशा', 'पडयप्पा' र 'एन्धीरन'लगायतका ब्लकबस्टर फिल्म खेलेका थिए ।

प्रकाशित : चैत्र १९, २०७७ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×