कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपाल भन्छन्– ‘केपी ओलीको कारबाही कसले टेर्छ ?’

प्रतीक्षा काफ्ले

कास्की — एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही नटेर्ने बताएका छन् । पोखरामा बिहीबार आयोजित कार्यकर्ता भेलामा उनले एमाले पार्टी ओलीको निजी कम्पनी नभएको भन्दै पार्टीको विधि र विधानविपरीत गरिएको कारबाही स्वीकार नगर्ने प्रस्ट्याए । 

नेपाल भन्छन्– ‘केपी ओलीको कारबाही कसले टेर्छ ?’

उनले आफू वरिष्ठ नेताको पदमा यथावत् रहेको जनाउँदै एमालेको पदाधिकारी बैठकमा पनि आफ्नो समूहको बहुमत रहेको बताए । ‘१५ सदस्यमध्ये उनका ५ जना मात्रै छन् । स्थायी कमिटीमा हामी १२, उनका १० जना छन् । पोलिटब्युरोमा पनि हामी नै बढी छौं । यो उनलाई सह्य भएन,’ उनले भने ।

ओलीमा पार्टीको विधि र विधानमा नचल्ने, बहुमतको निर्णय नटेर्ने प्रवृत्ति रहेको र उनले गुटको ‘प्राइभेट कम्पनी’ चलाउन खोजेको नेपालले आरोप लगाए ।

उनले ओलीले एमाले अध्यक्ष र प्रधानमन्त्री पदको समेत दुरुपयोग गरेको बताए । ‘सरकारलाई करोडौं राजस्व नतिर्ने व्यक्तिको घरमा पार्टी कार्यालय राख्ने भनेर ओली पुगेका छन्,’ उनले भने, ‘यसरी गलत प्रवृत्तिलाई च्याप्दा जनतासँग विश्वास गुम्छ ।’ उनले अहिले एमालेभित्र पद र व्यक्तिको नभई गलत प्रवृत्तिको लडाइँ रहेकाले ओली प्रवृत्तिको निरुत्साहित गर्नुपर्ने बताए ।

नेपालले सर्वोच्च अदालतको फैसलासमेत चित्तबुझ्दो नरहेको धारणा राखे । ‘फैसला मान्नुपर्छ तर चित्त बुझेको छैन । नेकपा पार्टी ठूलो हुन्छ चुनाव चिह्न हामीलाई नै हुन्छ र आफू कमजोर हुन्छु भनेर ओलीले खेल खेलेका हुन् ।’

ओलीको गलत कामलाई उनका आसेपासेले मात्र सही हो भन्दै उचाल्ने गरेको नेता नेपालले बताए । ओलीमा सुध्रिने चाहना नै नरहेको जनाउँदै उनले भने, ‘यदि चाहन्छन् भने फागुन २८ मा भएका निर्णय सच्याऊन् । हामी पुराना कुरा बिर्सिएर नयाँ ढंगबाट अगाडि बढ्न तयार छौं । होइन भने हाम्रो संघर्ष जारी रहन्छ ।’

ओलीकै कारण पार्टीमा समस्या उत्पन्न भएको भन्दै नेपालले ओली पुन: संसद विघटन गर्ने तयारीमा रहेको दाबी गरे । ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्छ भनेर गुटको एकलौटी काम गरेको उनको भनाइ थियो ।

‘हामी पनि नयाँ कमिटी बनाएर घोषणा गर्छौं,’ नेपालले भने, ‘हामी केपीतिर जानु छैन । कारबाही गरेर आत्तिनुपर्ने केही छैन ।’

उनले अब स्थानीय, प्रदेश र संघको चुनावमा सबै वामपन्थी एक हुने भन्दै यस विषयमा छलफल भइरहेको बताए । ‘ओलीलाई एक्ल्याएरै छाड्छौं,’ उनले भने ।

सरकारमा भएकैले ओलीको दम्भ बढी भएको जनाउँदै सरकारबाट बाहिरिएपछि उनी कमजोर हुने नेपालले बताए । एमालेका ८ लाख सदस्यमध्ये ओलीका २ लाख मात्रै रहेको उनले दाबी गरे । ‘उनको व्यवहारबाट चिन्तित हुने होइन, चुनौतीसँग लड्ने हो,’ उनले भने, ‘केपीले जेल हाल्छु भन्दैमा को डराउँछ ? यो सबै सत्ताको फुइँफुइँ हो ।’

प्रकाशित : चैत्र १९, २०७७ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?