१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका चुडाल र सुवेदीको सुनुवाइ बुधबार

संसदीय सुनुवाइ समितिले खोल्यो उजुरी

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालको संसदीय सुनुवाइ चैत २५ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले सुवेदी र चुडालविरुद्धका उजुरी खोल्दै सुनुवाइको मिति तय गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका चुडाल र सुवेदीको सुनुवाइ बुधबार

समिति सभापति लक्ष्मणलाल कर्णले सुवेदीविरुद्ध ५ र चुडालविरुद्ध २ उजुरी परेको जनाउँदै ती उजुरीमाथि समितिले अध्ययन गर्ने बताए । त्यस क्रममा उजुरीकर्ताहरूसँग पनि समितिले छलफल गर्ने भएको छ । चैत २२ गते संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ ।

न्यायाधीश सिफारिस गरिएका सुवेदीविरुद्धको उजुरी उनको योग्यता र उच्च अदालतमा न्यायाधीशका रूपमा काम गर्दाका फैसलासँग सम्बन्धित रहेको समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

न्यायपरिषद्ले फागुन २८ गते सुवेदी र चुडालको नाम सिफारिस गरेको थियो । चुडाल हाल उच्च अदालत, पाटनको मुख्य न्यायाधीश र चुडाल सुर्खेतका मुख्य न्यायाधीश हुन् ।

चुडालले यसअघि केही विवादास्पद निर्णय गरेका थिए । सुवेदीको भने संविधानअनुसार सर्वोच्चको न्यायाधीश हुने योग्यता नपुग्ने देखिन्छ । चुडालले राजस्व न्यायाधिकरणमा हुँदा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूलाई दोषी ठहर गरेपछि उनीहरूमाथिको जरिवाना घटाएर उन्मुक्ति दिएका थिए । उक्त विवादास्पद निर्णयपछि अर्थ मन्त्रालयका तत्कालीन अधिकारीहरूले प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग गुनासो गर्दा चुडालको सरुवा भएको थियो । चुडाल उच्च अदालत, पाटनमा हुँदा सिभिल सहकारीको जग्गासम्बन्धी विवादास्पद फैसला गरेका थिए ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी २०७४ पुस २० मा नातेदार प्रधानन्यायाधीश गोपाल पराजुली न्यायपरिषद्को अध्यक्ष भएको मौकामा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । संविधानको धारा १२९ को उपधारा ५ मा उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशका रूपमा ५ वर्ष काम गरेको व्यक्ति सर्वोच्चको न्यायाधीशका लागि योग्य मानिने उल्लेख छ । सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश भएको तीन वर्ष दुई महिनामात्रै पुगेको छ । यसअघि पनि उनी छोटो समयमा सर्वोच्चको रजिस्ट्रारबाट मुख्य रजिस्ट्रार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनेका हुन् ।

प्रकाशित : चैत्र १९, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?