सूचना चुहाएर सेयर कारोबार

पहिल्यै सूचना चुहिँदा सस्तोमा सेयर उठाउने र मूल्य बढाएर किनबेच गर्ने ‘इन्साइडर ट्रेडिङ’ को प्रवृत्तिमाथि नेप्सेले लगाम भने कस्न सकेको छैन ।
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो ।

सूचना चुहाएर सेयर कारोबार

उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । त्यसपछिको धेरै कारोबार ब्रोकर नम्बर ५० बाट भएको देखिन्छ ।

उक्त कम्पनीबाट ११ हजार २ सय १९ कित्ता सेयर किनबेच भयो । ब्रोकर नम्बर ३३ बाट पनि १० हजार ८ सय ४० कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५० र ३३ बाट भएको कारोबार उक्त दिन अजोड इन्स्योरेन्सको कुल सेयर कारोबारको करिब १०/१० प्रतिशत हो । सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको देखिन्छ ।

यो एउटा उदाहरण मात्र हो । विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन, लाभांश घोषणा, वित्तीय विवरणको अवस्थालगायत सूचना चुहाएर ती कम्पनीको सेयर कारोबार गर्ने प्रवृत्ति मौलाएको छ । यस्तै प्रवृत्ति वाणिज्य बैंक, बिमा कम्पनी मात्र नभएर अन्य क्षेत्रका कम्पनीमा पनि देखिएको छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । तर नियामक निकाय धितोपत्र बोर्ड र फ्रन्टलाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो ।

बजारमा भित्री सूचनाका आधारमा कुनै कम्पनीको सेयर मूल्य निरन्तर बढ्ने र उक्त सूचना सार्वजनिक भएपछि सेयर मूल्य घट्ने प्रवृत्ति प्रशस्तै हुँदा पनि हालसम्म कुनै कम्पनीलाई पनि कारबाही त परको कुरा, स्पष्टीकरणसम्म पनि सोधिएको छैन ।

गत पुस २९ मा छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभाले ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्‍यो । उक्त सूचना सार्वजनिक भएको अघिल्लो दिन ठूलो संख्यामा सेयर किनबेच भयो । भित्री सूचना चुहाएकै कारण ठूलो संख्यामा सेयर किनबेच भएको थियो ।

गत असोजमा अपी हाइड्रो पावर कम्पनीको सेयरमा पनि ‘इन्साइडर’ कारोबार भएको पाइएको थियो । कम्पनीले लाभांश घोषणा गर्नुअघि नै सेयर मूल्य धेरै बढ्यो । तर लाभांश घोषणा भएपछि सेयर मूल्य घट्न थाल्यो । यस्तै गएको असारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशतका दरले हकप्रद जारी गर्‍यो । लघुवित्तले उक्त सूचना औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै त्यसको सेयर ठूलो परिमाणमा कारोबार भयो । लाभांश घोषणाको सूचना सार्वजनिक भएपछि सेयर मूल्य धेरैले बढेन ।

यस्तो चलखेल नयाँ भने होइन । तर विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृत्ति फस्टाएको जानकारहरू बताउँछन् । खासगरी कम्पनीले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दा र त्यसका आधारमा लाभांश घोषणा गर्दा यस्तो धेरै हुने गरेको छ ।

बजारमा धेरै भित्री कारोबार भइरहँदा पनि नेप्सेले त्यस्ता कारोबारको प्रमाण भेट्टाउन नसकेको बताउने गरेको छ । ‘सञ्चारमाध्यममा आएका समाचारलाई प्रमाण भन्न मिलेन,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘मैले अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसँग कुरा गरेको थिए । आफूहरूले सूचना नचुहाएको दाबी उनले गरे । प्रमाण छैन । कसरी कारबाही गर्नु ?’

भित्री सूचना बाहिरिएर कारोबार भएको प्रमाण भए कानुनअनुसार कारबाही गरिने उनले बताए । अघिल्लो दिन ठूलो संख्या/रकमको सेयर किनबेच हुने र त्यसको भोलि–पर्सिपल्ट कम्पनीले सेयर प्रभावित सूचना सार्वजनिक हुने देखिएको छ । यस्ता कारोबारलाई नेप्सेले प्रमाणका रूपमा मान्दैन त ? साउद भन्छन्, ‘कारोबारलाई मात्र प्रमाण भन्न सकिन्न । धेरै कारोबार त अरू कारणले पनि हुन सक्छ ।’

अजोड इन्स्योरेन्सबारे धेरै गुनासो आएकाले के भएको हो भन्ने सम्बन्धमा सम्बद्ध विभागले अध्ययन थालेको धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । ‘उक्त कारोबारलाई बोर्डले सूक्ष्म रूपमा हेरेको छ,’ उनले भने, ‘केही तथ्यांक नेप्सेबाट पनि मगाएका छौं । दोषी भेटिए कानुनबमोजिम कारबाही गर्छौं ।’ बोर्ड बजार नियमनका लागि निरन्तर लागिरहेको र त्यस्ता अनैतिक कारोबार फेला परे कानुनी कारबाही गर्ने उनले जानकारी दिए । यद्यपि बढेको बजारमा चलखेलको सम्भावना धेरै रहेकाले सचेत भएर लगानी गर्न उनले आग्रह गरे ।

धितोपत्र ब्रोकरहरू भने बजारमा भित्री कारोबार बढेको र त्यो नै नेप्से उच्च वृद्धिको कारण भएको अस्वीकार गर्छन् । वार्षिक मुनाफाका आधारमा यो वर्षको लाभांश तय हुने भएकाले यस्तो सूचनाले बजार धेरै प्रभावित हुँदै आएको हो । लगानीकर्ताले पनि विभिन्न बाटोबाट सूचना फुत्काउने र त्यसकै आधारमा चलखेल गर्ने गरेको देखिन्छ ।

सेयरधनीलाई दिने लाभांश, हकप्रद सेयरका सूचनासम्बद्ध कम्पनीले औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै सूचना चुहाउन पाइँदैन । पहिल्यै सूचना चुहिँदा सस्तोमा सेयर उठाउने र मूल्य बढाएर किनबेच गर्ने ‘इन्साइडर ट्रेडिङ’ को प्रवृत्तिमाथि नेप्सेले लगाम भने कस्न सकेको छैन । इन्साइडर ट्रेडिङ गरेको ठहरिए बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनमा छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?