राजनीतिमा पनि अछुतकै व्यवहार !- समाचार - कान्तिपुर समाचार

राजनीतिमा पनि अछुतकै व्यवहार !

दलित महिला वडा सदस्य भन्छन्– ‘हाम्रो सही चल्छ, निर्णय चल्दैन’
मेनुका ढुंगाना

अछाम — प्रत्येक स्थानीय तहमा एक जना दलित महिला अनिवार्य वडा सदस्य रहने कानुनी व्यवस्था छ । छुवाछूत व्यवहारबाटै हटाउने संविधानको परिकल्पना साकार पार्न राखिएको यो अनिवार्य सर्तका कारण अन्यत्रझैं अछाममा पनि दलित वडा सदस्यहरू चुनिएका छन् । तर, चार वर्ष पुगिसक्दासमेत विकास निर्माण तथा नीति निर्माणका कुनै पनि सवालमा उनीहरूले जिम्मेवारी पाउन सकेका छैनन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका महिला वडा सदस्यहरू यशोदा बोहरा, डम्बरादेवी स्वाँर, बिस्ना ठकुल्ला, मथुरा भुल, लक्ष्मी सुवर्णकार, आरती कुँवर, हिमसरा थापालगायत अघिल्लोसाता गाउँसभामा सहभागी हुँदै। तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

युगौंदेखिको विभेद सहँदै आइरहेका उनीहरू जनप्रतिनिधि चुनिँदा जति खुसी थिए, अहिले चरम बेवास्तामा पर्दा उत्तिकै दुःखी छन् । जनप्रतिनिधि बने पनि राजनीतिक हिसाबले अझै अछुतकै थान्कामा रहनु परेको उनीहरूको गुनासो छ । वडाका सार्वजनिक कार्यक्रममा विभेद नगरिए पनि राजनीतिक हिसाबले जातीय विभेद कायमै रहेको मंगलसेन नगरपालिका–६ की वडा सदस्य भावना विकले बताइन् । ‘न कुनै जिम्मेवारी छ न कुनै अवसर । राजनीतिक हिसाबमा हामी अपवित्र नै बनाइएका छौं, अछुत झैं व्यवहार छ,’ उनले भनिन्, ‘दलित समुदायका आवाज माथि उठाउन हामी जनप्रतिनिधि बनेका हौं तर अहिलेसम्म केही गर्न सकिएन । आफैं अपमानित छौं ।’ समाजमा दलितको सीप चल्ने तर पानी नचल्ने अवस्था भएजस्तै वडाहरूमा दलित महिला सदस्यको सही चल्छ तर कुनै निर्णय नचल्ने अवस्था रहेको उनीहरूले गुनासो गरे । अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ की दलित वडा सदस्य मथुरा भुलको पनि उस्तै तीतो अनुभव छ ।

उनलाई आफ्नो वडामा आउने बजेट, योजना र कार्यक्रमबारे केही जानकारी छैन । उनी वडा समितिको बैठकमा आउने र निर्णयको माइन्युटमा हस्ताक्षर गरेर फर्किने गर्छिन् । ‘दलित महिला सदस्य अनिवार्य भएकाले हामीलाई उम्मेदवार बनाएका हुन् । नभए म जस्ता धेरै महिला जनप्रतिनिधि हुने थिएनन्,’ उनले भनिन्, ‘पालिकासम्मै आवाज पुर्‍याउन हाम्रो पहुँच पुग्दैन । वडामा पेलेरै काम गर्छन् । कुनै भूमिका नपाएरै कार्यकाल सकिन लाग्यो ।’

दलित कोटाबाट चुनिएकी अछामकै मंगलसेन नगरपालिका–२ की भुन्टी ढोलीले दलित महिला सदस्यमा जितेको चार वर्ष हुन लाग्यो । यसबीच वडामा हुने बैठकमा हस्ताक्षर गर्नेबाहेक उनले पनि जिम्मेवारी र भूमिका पाएकी छैनन् । ‘दलित वर्गको अधिकारका लागि यो गर्छु, त्यो गर्छु भनेर भोट मागें । तर, अहिले केही गर्न सकिएको छैन,’ उनले भनिन्, ‘वडाध्यक्षले पनि खासै समन्वय गर्दैनन् । हामीले बोलेको कुरा सुन्ने कोही छैन ।’

जनप्रतिनिधि भएका कारण उनीहरूमाथि जातीय विभेद नभए पनि राजनीतिक रूपमा स्थानीय निकायका अन्य पदाधिकारीले अछुतसरह व्यवहार गर्छन् । न उनीहरूलाई कुनै निर्णयमा सामेल गराइन्छ, न त उनीहरूको मत नै मागिन्छ । आफ्ना कुरा खासगरी गाउँघरका समस्या वडा कमिटी बैठकमा सुनुवाइ नै नहुने गरेको अनुभव ढोलीसँग छ । ‘चार वर्ष बित्न लाग्यो प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले ल्याएका योजना र प्रस्तावमा सहीछाप गर्ने मात्र काम भयो,’ उनले भनिन्, ‘महिला त्यसमा दलित महिला सदस्य भएरै होला, हाम्रा कुराको सुनुवाइ नै भएन ।’

मंगलसेन नगरपालिका–१ की दलित महिला वडा सदस्य राधिका जैगडीको गुनासो पनि उस्तै छ । ‘सामान्य घरपरिवारबाट राजनीतिमा आइयो । केही बुझिन्छ कि भन्ने लागेको थियो । तर, अहिलेसम्म कुनै अवसर पाएको छैन,’ काम गर्न नपाएको गुनासो गर्दै उनले भनिन्, ‘खुलाबाट जितेका वडा सदस्यलाई त कुनै जिम्मेवारी नै छैन । हामीले झन् कोटामा जितेका । कसैले टेर्दैनन् ।’ दलित कोटाबाट निर्वाचित सदस्यहरू आफ्नो भूमिका र जिम्मेवारीका विषयमा अनभिज्ञ छन् । ‘हाम्रो भूमिका के भन्ने थाहा छैन,’ जैगडीले भनिन्, ‘बैठकमा बोलाए जाने हो नत्र घरकै काममा व्यस्त हुन्छु ।’

स्थानीय तहको दलित कोटामा परेर सदस्य बनेका मात्र होइनन्, खुलाबाट आएकाहरूको पीडा पनि उही छ । मंगलसेन नगरपालिका–१ की वडा सदस्य गंगा थापाले आफ्नो जिम्मेवारी खोज्दाखोज्दै पनि अहिलेसम्म कामविहीन बनेको बताइन् । ‘वडामा योजना छनोट कसरी हुन्छन्, अनुगमन र भुक्तानी कहिले हुन्छ, हामीलाई केही जानकारी हुँदैन । खोजीनिती गरे पनि जानकारी पाइँदैन,’ उनले भनिन्, ‘स्नातक तहसम्म अध्ययन गरेकी छु । मसँग पनि योग्यता र क्षमता छ । तर मूल्यांकन कसैले गर्दैनन्, जिम्मेवारी छैन ।’ वडाका महिलाहरूले आफूहरूलाई के योजना छन् भनेर सोधपुछ गर्दा जवाफ दिन नसकेको उनको भनाइ छ । ‘महिला लक्षित योजना खोइ भनेर महिलाहरू पटकपटक सोध्छन् । कतिपय अवस्थामा गाली पनि पाइएको छ,’ गंगाले भनिन्, ‘वडाध्यक्ष बाहिर हुँदा एकपटक कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी थिएँ । त्यो बेला पनि खासै केही गर्न सकिएन ।’

दलित अनुसन्धानकर्मी शिवहरि ज्ञवाली स्थानीय तहमा दलित प्रतिनिधित्व ‘सेरेमोनियल’ खालको देखिएको बताए । जातीय संरचनाको सोझो प्रभाव वडा तहभित्र पनि परेको र जसको मारमा दलित प्रतिनिधि रहेको उनको बुझाइ छ । ‘दलित प्रतिनिधिलाई आफ्नो भूमिकाको कमजोर ज्ञान देखिन्छ,’ उनले भने, ‘जसको पछाडि विद्यमान सामाजिक संरचना जिम्मेवार देखिन्छ ।’

गैरदलित प्रतिनिधिको अवस्था पनि उस्तै

अछामको बान्नीगढी जयगढ गाउँपालिका–२ की डम्बरादेवी स्वार वडा सदस्य हुन् । अहिलेसम्म उनलाई आफ्नो वडामा बजेट कति विनियोजन हुन्छ, कुन शीर्षकमा छुट्याइन्छ भन्नेसमेत जानकारी छैन । ‘वडाध्यक्षले कहिलेकाहीँ बैठक छ भनेर बोलाउँदा आउँछु । साइन गरेर जान्छु । कहिलेकाहीँ भत्ता पनि दिन्छन्, त्योभन्दा बढी मलाई जानकारी छैन,’ उनले भनिन्, ‘मत दिएर जिताएकाहरू योजना माग्छन्, आफ्ना कुरा सुनाउँछन् । तर आफूसँग केही छैन । चुप लागेर बस्छु ।’

महिलाका विषयमा कार्यपालिका बैठकमा कुरा गर्दा पुरुष जनप्रतिनिधिले नै सकारात्मक रूपमा नलिएको मंगलसेन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्यायले बताइन् । ‘कार्यपालिका बैठकमा महिलाका विषयमा सुनुवाइ हुँदैन । सबै पुरुष जनप्रतिनिधि एक हुन्छन् । मलाई पनि गाह्रो छ,’ उनले भनिन् । महिलाका लागि योजना बनाउन खोज्दा कार्यपालिकाबाट सिधै प्रतिकार हुने गरेको चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले सुनाइन् । ‘सडक, पोखरी, भवन निर्माणमा बढी लगानी छ । महिलाका लागि पनि केही गरौं भन्दा यी कुरा महिलाले पनि प्रयोग गर्छन् भन्ने जवाफ आउँछ,’ उनले भनिन् ।

महिलामात्र होइन, पुरुष सदस्य पनि कामविहीन भएको गुनासो गर्छन् । विभिन्न आश्वासन देखाएर चुनाव जिते पनि अहिले हात बाँधेर बस्नुपर्ने अवस्था रहेको मंगलसेन–२ का सदस्य बम बोगटीले बताए । ‘हामीले सेवा सुविधा मात्रै पाएका छौं । जनताका लागि काम गर्न पाउनुपर्‍यो नि,’ उनले भने । वडामा हुने बैठकबाहेक अरू काममा अध्यक्षले समेत समन्वय नगरेको उनको भनाइ छ । ‘अध्यक्ष कार्यपालिका बैठकमा पनि जान्छन्, त्यहाँ के भयो, के गर्नुपर्ने हो, त्यो सूचना पाउने अधिकार हाम्रो पनि हो,’ उनले गुनासो गरे, ‘४ वर्ष हुन लाग्यो, केही जानकारी पाएको छैन ।’

अछाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् । एक वडामा ४ जना सदस्यका दरले जम्मा ३ सय ६४ जना वडा सदस्य छन् । काम गर्न जिम्मेवारी नपाएको उनीहरू सबैको साझा गुनासो छ । ‘वडामा अध्यक्ष र सचिवले मात्रै काम गरेको देखिन्छ । हरेक बैठक भेलामा उनीहरू नै जान्छन् । हाम्रो त वडामा बैठक हुँदा हस्ताक्षर गर्ने काममात्र हो,’ ढकारी गाउँपालिका–६ का सदस्य मने साउँदले भने, ‘हामी फुर्सदिला छौं । सदस्यको पदले चित्त बुझाउनुपरेको छ ।’ कतिपय अवस्थामा अध्यक्ष र सचिवले नीतिगत निर्णय भन्दै जानकारीबिनै काम गर्ने गरेको उनको गुनासो छ ।

मंगलसेन नगरपालिका–६ का अध्यक्ष जनकराज भण्डारी उल्टै दलित महिला सदस्यहरू सक्रिय हुन नसकेको आरोप लगाउँछन् । ‘स्थानीय तह सञ्चालन ऐन २०७४ मा वडा सदस्यले टोलमा जाने, भेला गर्ने, स्थानीयका समस्या बुझ्नेजस्ता थुप्रै व्यवस्था गरिएको छ,’ उनले तर्क गरे, ‘टोल–टोलसम्म जाने, गुनासा सुन्ने र समाधानका उपाय निकाल्ने जस्तो जिम्मेवारी उनीहरूलाई छ ।’ सेवासुविधा लिन मन लाग्यो भने मात्र वडा सदस्यहरू बैठकमा आउने गरेको उनको आरोप छ । ‘संविधानमा आफ्नो काम, कर्तव्य र अधिकार के छ भन्नेबारे उहाँहरू अध्ययन नै गर्नु हुन्न,’ भण्डारीले भने ।

प्रकाशित : चैत्र १९, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

चेम्बर अध्यक्षमा मल्ल सर्वसम्मत जस्तै

५५ पदका लागि ६१ जनाको उम्मेदवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको चैत २८ मा हुने निर्वाचनमा ५५ पदका लागि ६१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूको नामावली दाबी विरोधमाथि छानबिन गरी पुनः प्रकाशन गर्दा बुधबार साँझसम्म उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उम्मेदवारी फिर्ता लिने सकिने जनाएको छ । उम्मेदवारहरूले ११ देखि ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्छन् । त्यसपछि बेलुकाको ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । यही अवधिमा सबै पदमा निर्विरोधको सम्भावना रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

‘अब दुई ठाउँमा मिलाउन बाँकी छ, बिहीबार उम्मेदवारी फिर्ता लिने समयमा त्यो मिल्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको पक्कापक्की भयो । सम्भवतः सबै निर्विरोध हुन्छन् ।’ कोरोनाका कारण निर्वाचन गर्दा भीडभाड हुने देखिएकाले सर्वसम्मतमा जोड दिएको जनाइएको छ । सर्वसम्मतका लागि सबै व्यवसायीहरू एकजुट रहेको अध्यक्ष श्रेष्ठले बताए । चेम्बरका अनुसार वाणिज्यतर्फ १५ पदका लागि १८ र उद्योगतर्फ ९ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जिल्लातर्फ १५ पदका लागि १५ नै उम्मेदवारी दिइएको छ । नगरतर्फको १ पदका लागि १, वस्तुगत संघतर्फ ९ पदका ९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको चेम्बरले जनाएको छ ।

यस्तै, द्विराष्ट्रिय संस्थागततर्फ ३ पदका लागि पनि ३ जनाको मात्रै नाम दर्ता भएको छ । आबद्धतर्फ ४ जनाको नाम दर्ता भएको चेम्बरले जनाएको छ । यी सबै पदमा सम्भवतः सर्वसम्मत नै हुने चेम्बरका अधिकारीहरू बताउँछन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि सहमतिमै अगाडि बढ्ने बताए । ‘वाणिज्य, उद्योग, जिल्ला, नगर, वस्तुगत संघ, द्विराष्ट्रिय, आबद्धसहितबाट ५५ जना निर्वाचित हुन्छन्,’ उनले भने, ‘अध्यक्ष पदका लागि मबाहेक अन्यको दाबी परेको छैन । कार्यसमितिको टुंगो लागेपछि सहमति गरेरै अगाडि बढ्छौं ।’ प्रदेश सभापति ७ जना हुन्छन् । यस्तै तीन जना मनोनीत गरिन्छ । मनोनीतमा एक जना अनिवार्य महिला गर्नुपर्ने प्रावधान छ । अध्यक्ष श्रेष्ठका अनुसार बन्दसत्र सकिएको कार्यसमितिको पहिलो बैठकबाट वरिष्ठ उपाध्यक्ष/ उपाध्यक्ष छनोट हुन्छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×