२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कागजी प्रक्रिया पूरा नहुँदा भारत पुगेका किशोरी ल्याउन ढिलाइ

भारतीय प्रहरी सामू किशोरीहरुले 'आफूहरु गायिका बन्न हिँडेको' बताए

महोत्तरी,धनुषा — भारतको बिहारको सीतामढीबाट सात नेपाली किशोरी तथा बालिकाहरुलाई नेपाल ल्याउने कानुनी प्रक्रिया लम्बिएको छ । बालिका तथा किशोरीको स्वास्थ्य परीक्षण लगायत अन्य कागजी प्रक्रिया पूरा नहुँदा उनीहरुलाई नेपाल ल्याउन ढिलाइ भएको हो ।

कागजी प्रक्रिया पूरा नहुँदा भारत पुगेका किशोरी ल्याउन ढिलाइ

कानुनी प्रक्रिया गर्न प्रयाप्त समय लाग्ने भएकाले बुधबार उनीहरुलाई ल्याउन सम्भव नभएको सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी सीपी गौतमले बताए । भारतमा बालबालिकाको हकहितका लागि काम गर्ने सीडब्लुजी, वाइलाइन लगायतका संघ संस्थाहरुले उद्धार गरिएका बालिका र किशोरीसँग छुट्टाछुट्टै सोधपुछ र कानुनी प्रक्रिया पूरा भएपछि बिहीबार मात्रै नेपाल ल्याउन सकिने उनले बताए ।

उद्धार गरिएका बालिका र किशोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । उद्धार गरिएका सातै जनाको कोरोना परीक्षण समेत गरेर मात्रै नेपाल पठाइने उनले बताए ।

किशोरी लिन महोतरीबाट नेपाल सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार सीतामढी पुगेको छ । भंगाहामा मंगलबार घाँस काट्न जाँदा बेपत्ता ७ किशोरी तथा बालिकालाई भारत, बिहारको सीतामढीबाट उद्धार गरिएको हो । भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान छन् ।

‘गायिका बन्ने सपना’ लिएर भारत

सीतामढीमा भेटिएका सात किशोरीले गायिका बन्न हिँडेको बताएका छन् । भारतको सीतामढीस्थित रेल्वे स्टेशनमा अलमलमा परेको देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा किशोरीहरुले आफूहरु गायिका बन्न हिँडेको बताएको रेल्वे प्रहरीले बताएको किशोरीका काका मनोज पासवानले बताएका छन् ।

किशोरीहरु मध्ये १८ वर्षीया अस्मिता सितापुर उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेको परिवारले जनायो । अन्य किशोरीहरु सोही विद्यालयको कक्षा ७ र ८ मा अध्ययन गर्ने छात्रा हुन् । गायिका बन्न हिँडेको बताएका किशोरी मध्ये १५ वर्षीया अर्चना विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा गायनमा भाग लिने गरेको परिवारले बताएको छ । आफ्नी नातिनीले गीत गुनगुनाइरहने गरेको गरेको अर्चनाका हजुरबुबा धरमनाथ पासवानले बताए ।

प्रकाशित : चैत्र १८, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?