कान्तिपुरकर्मी बिनु सुवेदीसहितका पत्रकार पुरस्कृत- समाचार - कान्तिपुर समाचार

कान्तिपुरकर्मी बिनु सुवेदीसहितका पत्रकार पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मीसहित विभिन्न व्यक्तित्व पुरस्कृत भएका छन् । रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी बिनु सुवेदीलाई प्रदान गरेको छ ।

सुवेदी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन् । क्लबको वार्षिकोत्सवका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले २५ हजार राशिको पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

क्लबले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टीमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंई प्रदान गरेको छ । यो पुरस्कारको राशि १ लाख रुपैयाँ छ । ५० हजार रुपैयाँको ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ रेडियो नेपालका समाचार महाशाखा प्रमुख नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिएको छ ।

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई र ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई दिइएको छ । ‘सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका बालकृष्ण अधिकारी, बाबुछिरि फोटो पत्रकारिता पुरस्कारबाट रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटे पुरस्कृत भएका छन् ।

त्यस्तै, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका जीवन भण्डारी, डीसी नेपालका मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका दीपक अर्याललाई प्रदान गरिएको छ ।

प्रकाशित : चैत्र १८, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

गौरिकाले गरिन् पौडी पोखरी उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागकी कीर्तिमानी पौडीवाज गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गर्दै पौडीप्रेमीका लागि स्विमिङ पुलको संख्या बढ्नु सकारात्मक रहेको बताइन् । 

ओलम्पियन गौरिकाले सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी थिइन् । सानो र ठूलो गरी दुई पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाए । सुविन लामा र सानोभाइ पौडेललाई प्रशिक्षकमा रहेका छन् । गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका सञ्चालक मन्दिर राणाले बताए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई १ वर्षे निःशुल्क सदस्यता दिइएको छ ।

सन् १९९८ मा जिमखानाका रूपमा स्थापना गरिएको क्लबले आफ्नो सेवा विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको विष्टले बताए । क्लबले जिमका लागि ५ प्रशिक्षक नियुक्त गरेको छ । प्रशिक्षकमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दीपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् । क्लब सञ्चालन गर्न हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी गराए ।

प्रकाशित : चैत्र १८, २०७७ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×