कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हचुवामा मुद्दा, अदालतद्वारा सफाइ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला विरोध प्रदर्शन गर्न खोज्दा पक्राउ परेका युवकको पक्षमा फैसला
विरोध गर्नका लागि अनुमति माग्ने कामलाई आधार बनाई पक्राउ गर्नु र मुद्दा चलाउनु न्यायको मान्य सिद्धान्त प्रतिकूल रहेको ठहर
जनकराज सापकोटा

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार कसुरसम्बन्धी मुद्दाको पूर्ण पाठको फैसला सोमबार सार्वजनिक गर्‍यो । सार्वजनिक स्थानमा उभिएर विरोध प्रदर्शन गर्न पाउने सामान्य नागरिकको मौलिक हकविरुद्ध सरकारी संयन्त्र नै कसरी बाधक बन्छ भन्ने यो पाठले प्रमाणित गर्छ ।

हचुवामा मुद्दा, अदालतद्वारा सफाइ

प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालय एक युवाले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने हकविरुद्ध कसरी उभियो भन्ने बुझ्न गत वर्ष असोज २३ का दिन पुग्नुपर्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउनु दुई दिनअघि मानवअधिकार तथा शान्ति समाजमा समेत आबद्ध ३२ वर्षीय बीपी भनिने बलराम पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । उनका साथमा चिनियाँ राष्ट्रपति आउने दिन जलवायु परिवर्तनमा कार्बन उत्सर्जन न्यूनीकरण गरी वातावरण संरक्षणमा योगदान गर्न आग्रहसहित विरोध गर्ने व्यहोराको निवेदन थियो । निवेदनमा परमाणु अस्त्र निःशस्त्रीकरणको बाटोमा लाग्न आग्रह तथा लिपुलेक उपयोग गर्ने गरी चीन–भारतले गरेको सम्झौताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाऊँ भन्ने पनि उल्लेख थियो ।

सुरुमा उनी साढे ११ बजेतिर जिल्ला प्रशासनको दर्ता शाखामा छिरे । कर्मचारीले ‘के विषयको निवेदन’ भनेर सोधेपछि उनले ‘चिनियाँ राष्ट्रपति आउने दिन आफूहरूले शान्तिपूर्ण रूपमा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गर्न खोजेको’ बताए । कुरा सुन्नेबित्तिकै प्रशासनका कर्मचारीले उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको कोठामा पुर्‍याए ।

‘त्यो कोठामा राष्ट्रपतिको भ्रमण कार्यक्रमको सुरक्षासँग सम्बन्धित बैठक रहेछ । प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी उत्तमराज सुवेदीसहितका सुरक्षाकर्मीहरू थिए,’ बलरामले सुनाए । सुरुमा त उनका कुरा सुनेर प्रजिअ र सुरक्षा अधिकारीले मुखामुख गरे । उनका अनुसार निवेदनको व्यहोरा पढेपछि एसएसपी सुवेदीले मोबाइल खोसे । अनि त एकैछिनमा गाडीमा राखेर परिसरको टेकुस्थित हिरासतमा पुर्‍याए । परिसर काठमाडौंले उनलाई अभद्र व्यवहार कसुरमा मुद्दा प्रक्रिया अगाडि बढायो र जिल्ला अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लियो ।

पूर्ण पाठको फैसलामा प्रहरी कर्मचारीको कामकारबाहीमा बाधा अवरोध पुग्ने कार्य गरेको र चीनका महामहिमको नेपाल भ्रमणको विरोध प्रदर्शनसम्बन्धी एक थान पत्र बरामद भएको प्रतिवेदन अदालतमा पेस गरेको देखिन्छ । सात दिन थुनामा बसेपछि आठौं दिन बलरामलाई प्रहरीले छोडिदियो । तर जिल्ला प्रशासन कार्यालयले ‘आरोपितले कसुर अपराध गरेको होइन भन्न नसकिने मनासिव आधार नदेखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने’ भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार २ हजार रुपैयाँ जरिवाना गर्‍यो ।

थुनामुक्त भएपछिका ५ महिनासम्म पनि जिल्ला प्रशासन कार्यालयमा तारिख खेपिरहेको बलराम बताउँछन् । स्नातक तहको पढाइ सकेर वैदेशिक रोजगारीका लागि २ वर्ष साउदी अरब बसेर फर्केका उनी मानवअधिकारसम्बन्धी अभियानमा सक्रिय थिए । सीटीईभीटीमा तीनमहिने पाककलासम्बन्धी कक्षा लिएर जापान जाने तयारीमा रहेका उनले पक्राउ परेपछिका एक वर्ष थुना र अदालती कारबाहीकै क्रममा बिताए ।

थुनामुक्त भएपछि जिल्ला प्रशासन कार्यालयको फैसलाउपर उनी जिल्ला अदालत काठमाडौं पुगे । अदालतले फागुन १९ गते जिल्ला प्रशासनको निर्णयलाई उल्टाइदियो । अदालतले स्थानीय प्रशासनसम्बन्धी ऐन २०२८ अनुसार प्रशासनसमक्ष निवेदन दिई शान्तिपूर्ण तवरबाट विरोध गर्न पाउनुपर्छ भन्ने उल्लेख भएकाले उनको कार्यलाई अपराध भन्न नमिल्ने उल्लेख गरेको छ । विरोध गर्नका लागि अनुमति माग गर्ने कामलाई आधार बनाई पक्राउ गर्नु र मुद्दा चलाउनु न्यायको मान्य सिद्धान्तको प्रतिकूल रहेको ठहर पनि अदालतले गरेको छ ।

अदालतले प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर बलरामलाई पक्रिने कामलाई कानुनी रूपमा गलत भएको ठहर्‍याएको छ । यस्तै, जिल्ला प्रशासनको फैसलालाई उल्ट्याउँदै जरिवाना गरिएको २ हजार रुपैयाँसमेत फिर्ता गर्न अदालतले आदेश दिएको छ ।

बलरामले कान्तिपुरसँगको कुराकानीमा आफूले विधिसम्मत विरोध प्रदर्शन गर्न पाऊँ भनेर निवेदन दर्ता गराउन खोज्नुलाई नै अपराधी झैं व्यवहार गरेर प्रशासनले मानसिक यातना दिएको बताए । उनले भने, ‘प्रहरी प्रशासनकै कारण एक वर्ष तनावमा बिताएँ, अब प्रशासनविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गर्छु ।’

प्रकाशित : चैत्र १८, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?