कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सत्तासमीकरणबारे ठोस निर्णय दिन देउवालाई दाहालको आग्रह

बबिता शर्मा

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासमीकरणबारे विधा तोडेर ठोस निर्णय दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तासमीकरणबारे कांग्रेस र जसपाले ठोस निर्णय लिन नसक्दा नयाँ सरकार गठनबारे अन्योलता कायमै रहेका बेला अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति देउवासँग स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् । 

सत्तासमीकरणबारे ठोस निर्णय दिन देउवालाई दाहालको आग्रह

दाहालनिकट मानिने माओवादी केन्द्रका स्थायी कमिटीका एक सदस्यका अनुसार भेटमा देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराएलगत्तै निवासमै पुगेर दाहालले देउवासँग भेट गरेका थिए । ‘संसद् पुनस्थापना भएको पनि डेढ महिना भयो । संसद् अधिवेशन सुरु भएको पनि एक महिना हुन लाग्यो । नयाँ सरकारबारे केही प्रगति भएन । तपाईंहरुले ठोस निर्णय लिन नसक्दा अन्योलता भयो । आफै सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुस् भन्ने मेरो प्रस्ताव छ । होइन, यो प्रस्ताव मान्य छैन भने पनि एउटा निष्कर्षमा पुग्नुस् भन्ने मेरो आग्रह छ’ दाहालले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै दाहाल निकट ती नेताले भने । उनका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘म जसपासँग पनि छलफल गर्छु र चाँडै निर्णय लिन्छु ।’

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्च अदालतले फागुन ११ को फैसालमार्फत असंवैधानिक भन्दै उल्टाइदिएपछि ओलीको विकल्पमा नयाँ सरकार गठनको पहल सुरु भएको थियो । माओवादी केन्द्रले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले समय परिपक्क नभएको भन्दै ठोस अग्रसरता लिएका छैनन् ।

नयाँ सत्तासमीकरणलाई लिएर जसपामा दुई धार छ । जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीसँग सहकार्यको पक्षमा छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् ।

सत्तासमीकरणमा अन्योलता रहेकै कारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको छैन । यद्यपि पछिल्लोपकट दाहालले राजनीतिक र नैतिक रुपमा अब धेरै समय समर्थन कायम राख्न नसक्ने बताएका छन् ।

प्रकाशित : चैत्र १७, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?