खुवालुङ जोगाएर जेटबोट

खुवालुङ क्षेत्रको बृहत्तर विकासको योजना निर्माण गर्न प्रदेश सरकारले अगुवाइ गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता
देवनाराण साह

मोरङ — मुख्यमन्त्री शेरधन राईले खुवालुङको संरक्षण गर्दै जेटबोट सञ्चालन गरिने बताएका छन् । मंगलबार खुवालुङ पुगेका राईले सरकारी तहमा खुवालुङ फुटाउने कुनै निर्णय नभएको भन्दै यो ठाउँलाई सांस्कृतिक तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरे ।

खुवालुङ जोगाएर जेटबोट

किरात राई यायोख्खाको टोलीलगायत स्थानीयको उपस्थितिमा राईले खुवालुङ क्षेत्रको बृहत्तर विकासको योजना निर्माण गर्न प्रदेश सरकारले अगुवाइ गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सांस्कृतिक तथा धार्मिकस्थलको विकास गरी त्यस क्षेत्रका जनताको चौतर्फी विकासका लागि प्रदेश सरकारले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा आजै खुवालुङ फुटाउँछ जस्तो भ्रामक प्रचारमा कुनै सत्यता छैन किनकि सरकारीस्तरमा यो विषयमा कुनै निर्णय भएको छैन ।’ सप्तकोसी नदीमा जल यातायात सञ्चालनका लागि अहिले अध्ययन मात्रै भइरहेको राईको भनाइ थियो ।

मुख्यमन्त्री शेरधन राईले धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी र तमोर नदीको दोभानमा रहेको खुवालुङमा मंगलबार सम्बोधन गर्दै । तस्बिरहरु : देवनारायण साह/कान्तिपुर

सप्तकोसीमा जल यातायात सञ्चालनका लागि अध्ययन गरिरहेका विज्ञ टोलीका विपलराज पाण्डेले ठूलो ढुंगाका रूपमा रहेको खुवालुङका विषयमा सरकारसँग राय मात्रै मागेको बताए । ‘खुवालुङको दायाँ–बायाँबाट जेटबोट सञ्चालनका लागि च्यानल मात्रै बनाउने र ५/५ मिटर वरिपरिबाट जहाज लग्न निषेधित क्षेत्र कायम गरेर सर्भे गर्छौं,’ उनले भने । सर्भे सकिएपछि सबैलाई जानकारी गराएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी र तमोर नदीको दोभानमा रहेको खुवालुङ ।

यायोख्खाका अध्यक्ष दिवस राईले खुवालुङ फुट्दैन भन्नेमा विश्वस्त बने पनि यहाँको विकास आवश्यक रहेको बताए । खुवालुङ क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाएर अघि बढ्न उनले प्रदेश सरकारलाई आग्रह गरे । ‘यस क्षेत्रमा खुवालुङ पार गर्ने पुर्खाहरूको ठूलो प्रतिमा बनाएर धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्नु आवश्यक छ,’ उनले भने, ‘यसले यो क्षेत्रको बासिन्दाको जीवनस्तर उकास्न ठूलो मद्दत पुग्नुका साथै किरातहरूको ऐतिहासिक धरोहर क्षेत्रको विकासमा समेत टेवा पुग्छ ।’

मुख्यमन्त्री शेरधन राईले धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी र तमोर नदीको दोभानमा रहेको खुवालुङको अवलोकन गर्दै ।

धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी र तमोर नदीको दोभानमा रहेको खुवालुङ क्रेन लगाएर फुटाई जेटबोट सञ्चालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि यसको विरोध भएको थियो ।

प्रकाशित : चैत्र १७, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?