कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु : ओली 

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताएका छन् । उनले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गरेका छन् । 

पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु : ओली 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी नेकपा नाम ऋषि कट्टेललाई दिई दुवै पार्टी ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर सर्वोच्च अदालत पुगेका दिन नै ओलीले उक्त प्रतिक्रिया जनाएका हुन् ।

काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओलीले भने, 'पार्टी किन फुटाइदिएको भन्ने निर्वाचन आयोगमा गएर थपक्क पार्टी एकता गर्न कसले रोक्या छ ? एउटै पार्टी गरिपाउँ! गर न एउटा पार्टी, गर एउटा पार्टी । अदालतले गरिदिने हो एउटा पार्टी ? पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु ।'

पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरणको चर्चा चलेका बेला एउटै मञ्चमा देखा परेको अवस्थामा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरतिर हेर्दै भने, 'उहाँ र म नमिल्ने अनि अदालतमा गएर महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्ने ?'

‌ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने बताएका छन् । उनले दाहाललाई मिल्ने बाटोमा नहिँडेको पनि बताएका छन् । उनले दाहाललाई भने, 'मिल्ने बाटोमा हिँठड्नुस् न । डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ?'

दाहालले नेकपाबारेको मुद्दामा रिट निवेदक ऋषि कट्टेलले नमागेको कुरामा अदालत प्रवेश गरेको भन्दै उक्त फैसला पुनरावलोकनको माग गरेका छन् । यसबारे ओलीले प्रतिक्रिया दिएका छन् । उनले त्यतिबेला नेकपा दर्ता गर्ने क्रममा दाहालले जबर्जस्ती गरेको बताएका छन् । निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा 'ह्याकुलाले मिचेर' नेकपा दर्ता गरेको ओलीको भनाइ थियो ।

ओलीले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप पनि लगाएका छन् । उनले विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र हटाउन खोजेको बताए ।

प्रकाशित : चैत्र १७, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?