तराईमा होली सतर्कतापूर्वक

विगतमा जस्तो चोकचोकमा ठूला साउन्ड बक्स राखेर नाचगान भएनन्, न त संघसंस्थाले होली मिलन कार्यक्रम नै राखे 
देवनारायण साह

मोरङ, कपिलवस्तु — घरपरिवार र टोलमा रङ–अबिर खेलेर समूह समूहमा निस्कँदै चोकचोकमा नाचगान गर्दै हिँड्ने विगतको चलन यस पटक विराटनगरमा दोहोरिएन । होली खेल्नेहरू समूहसमूहमा मुख्य चोकहरूमा निस्किए पनि भीडभाड हुने सांस्कृतिक कार्यक्रमहरू आयोजना भएनन् । चोकहरूमा विगत वर्षजस्तो ठूलाठूला साउन्ड बक्स राखेर नाचगानका सार्वजनिक कार्यक्रम भएनन् ।

तराईमा होली सतर्कतापूर्वक

कतै पनि विगतमा जस्तो मट्का फुटाउने खेल राखिएन । कोरोनाबाट जोगिन सरकारले सतर्कता अपनाउन गरेको सूचनालाई होली खेल्नेहरूले समूहमा हिँडेर बेवास्ता गरे पनि भीडभाडसहितका कार्यक्रम गर्दै आएका संस्थाले विगतको चलनलाई निरन्तरता दिएनन् । चोकचोकमा होली खेल्नेका लागि यस पटक पानी र ठन्डाइको व्यवस्था गरिएको थिएन ।

विगतमा कोरोना संक्रमणबाट बढी प्रभावितमध्येको महानगरमा यस पटक संघसंस्थाले केही सतर्कता अपनाएको देखिएको छ । विगतमा चोकचोकमा होली मिलन सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्थ्यो । घर र टोलबाट होली खेलेर निस्केकाहरू बजार क्षेत्र घुम्दै भेटिने समूहहरूसँग रङ–अबिर खेल्थे । विराटनगरसँग जोगिएका ग्रामीण क्षेत्रबाट पनि घरघरमा होली खेलेपछि मुख्य बजार क्षेत्रमा भेल हुन ठूलो संख्यामा भीड लाग्थ्यो । यस पटक त्यस्तो भीड देखिएन । यस पटक आआफ्नो समूहमा मात्रै होली खेलेको पाइएको छ । मधेसी–पहाडी मिश्रित बसोबास रहेको विराटनगरमा सोमबारको होली विगतजस्तो भीड र तडकभडकको नभएको स्थानीयले बताएका छन् ।

वसन्तोत्सवसमेत भनिने यो वर्ष मधेसका कतिपय समुदायले घरघरमा कुल देउताको पूजा गरेपछि रङ–अबिर लगाएर होली पर्व मनाउने चलन छ । विराटनगरका राधेश्याम मण्डलका अनुसार महिलाहरूले बिहानै गोबरले आँगन लिपपोत गरेपछि चोखो भएर मलपुवा र खीर पकाउँछन् । मलपुवा, खिर, लड्डु, पान, सुपारी, फूल चढाएर कुल र ग्राम देउताको पूजा गरेको प्रसाद ग्रहण गरेपछि मधेसी समुदायमा फागु पर्व अर्थात् होली मनाउने चलन रहेको उनले बताए ।

नयाँ पुस्तामा होलीमा मासु र मदिरा सेवनको विकृति बढेको गुनासो विराटनगरका रामकृष्ण साहको छ । ‘प्रसाद ग्रहणपछि ठूलाले सानाको निधारमा सात किसिमको रङ र अबिरको टीका लगाइदिन्छन् भने सानाले ठूलाको खुट्टामा रङ–अबिर राखेर आशीर्वाद लिन्छौं,’ उनले भने, ‘गाउँटोलका अग्रज बूढापाका, वृद्धवृद्धाले घरघरमा गएर रङ–अबिर लगाइदिएर आशीर्वाद दिने परम्परा छ । जेसुकै खान थालेर बिस्तारै विकृति आएको छ ।’ विराटनगर–१४ का प्रभुलाल अरगरियाले मधेसमा देबर–भाउजू, साली–भिनाजुलगायत हाँसोठट्टा गर्ने नाता भएकाहरूबीच रङ र अबिर छ्यापेर हर्षोल्लासका साथ होली मनाउने गरेको बताए ।

‘आशीर्वाद दिने–लिने औपचारिक विधिपछि युवादेखि वृद्धसम्मले भाङको लड्डु, दूधमा सक्खर, काजु, किसमिस, पिस्ता, बदाम, अलैंचीका साथै भाङ मिलाएर बनाएको लस्सी खाने चल्न छ,’ उनले भने, ‘भाङको नसा चढेपछि गाउँमा समूहसमूहमा हार्मोनियम, ढोलक, झाली, झम्टा, डम्फा बजाएर होलीको गीत गाउने परम्परा छ ।’

प्रत्येक समूहले घरघरमा नाच्दै होली गीत सुनाएपछि घरमूलीले सामर्थ्यअनुसारको पैसा, धान, चामल उपहार दिने चलन रहेको अरगरियाले बताए । उक्त धान, चाम र पैसाले पछि भगवान्को पूजा गरी प्रत्येक घरमा लड्डु बाँड्ने परम्परा छ ।

होलीका अवसरमा रङ–अबिर एकआपसमा दलेपछि सबै प्रकारका भेदभाव र शत्रुता समाप्त हुने मान्यता रहेको कटहरीका सञ्जय कामतले बताए । ‘समाजका सबै वर्गको शरीर र अनुहारमा रङ लागेपछि समान देखिने भएकाले यसलाई समानता र सद्भावको पर्वसमेत भनिन्छ,’ उनले भने, ‘यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको सञ्चार गराउँदै एकताको सन्देशसमेत दिन्छ ।’ असत्यमाथि सत्यको, छलमाथि निश्चलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको उनको भनाइ थियो ।

खरानी लगाएर होली

कपिलवस्तु- उल्लास र उमंग सञ्चार गर्ने पर्व होली सोमबार सदरमुकाम तौलिहवा र यस आसपासको क्षेत्रमा सामान्य ढंगले मनाइएको छ । जथाभावी रङ, लोला र पानी प्रयोग भएन । जोगिरा सरर पनि कमै बज्यो । चोकचोकमा होलीका आधुनिक गीत संगीतका डिजे पनि बजेनन् । रङ र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि कमै थिए । कोरोना भाइरस संक्रमणको डरत्रासले होली खेल्नेको भीड पातलो र स्वरूप फेरिएको हो ।

अवधि संस्कृतिमा होलीलाई दुःख र पीडा भुल्ने पर्व मानिन्छ । राम्रो कामको सुरुवात गर्ने पर्वका रूपमा पनि यसलाई लिने चलन छ । होलीको १५ दिनअघि संवत् गाडेपछि यसको सुरुवात हुन्छ । संवत् गाडेको ठाउँमा दैनिक दाउरा र गोबरका गुइँठा राखिन्छ । होलीको एक दिनअघि राति संवत् जलाइन्छ । र, त्यही खरानीलाई पवित्र रङ मानी होली खेल्ने चलन छ । ‘हाली सद्भाव र भ्रातृत्व मिसिएको पर्व हो,’ अवधि लोककलाका जानकार विक्रममणि त्रिपाठीले भने, ‘होलीमा अनुहार होइन, मन रंगाउनुपर्छ ।’

जथाभावी रङ, लोला र पानी फालेर होली विकृत बन्दै गएको साहित्यकार हरिराज शर्माले बताए । सानाठूला सबैले रङ र अबिरको पर्व होली चोक, गल्ली र घरघरमा खेलेका थिए । यहाँ बालबालिका, युवादेखि महिला र बूढापाकासम्म होली खेल्दै रमाइलो गर्छन् ।

होली रङहरूको पर्व हो । होलीमा रङ, गाली, हिलो र माटोको सम्मिश्रण हुन्छ । जसलाई जुन चीज मन पर्छ, त्यही प्रयोग गरेर होली मनाइन्छ । ‘जानेर/नजानेर गरेको सबै गलत काम, पाप संवत्सँगै खरानी होस् भनेर खरानी दल्ने चलन चलेको हो,’ अवधि संस्कृतिका जानकार पशुपतिमणि त्रिपाठीले भने, ‘नयाँ कामको गतिलो सुरुवात होस् भनेर संवत् जलाइन्छ ।’

होलीका दिन घर लिप्ने चलन छ । त्यही बेला महिलाले लोग्ने मान्छेलाई हिलो र गोबर छ्याप्ने चलन पनि छ । महिलाले हिलो छ्यापेपछि गालीगलौज गर्ने चलन पनि छ । विशेषगरी भाउजू र माइजूलाई देवर र भान्जाहरू सभ्य र पाच्य गाली गर्छन् । ‘यो नै पर्वको महत्त्व हो,’ साहित्यकार आरडी ठाकुरले भने, ‘यसले महिला र पुरुषबीच खुसियाली र सद्भाव साटासाट हुन्छ । तिक्तता हट्दै जान्छ ।’ यसले भ्रातृत्व बढेर परिवार, समाजमा प्रगाढ सम्बन्ध स्थापित हुने उनले बताए । त्यस्तै गाई, बाख्रा, भैंसी र गोरुलाई पनि रङ लगाउने चलन छ ।

खासमा संवत् जलाएपछिको खरानीबाट सुरु भएको होली बिस्तारै हिलो र गोबरसम्म पुगेको छ । वर्ष दिनको दुःख पीडा भुल्न होलीका दिन मिठा परिकार खाने चलन छ । त्यस दिन गोझिया, गुलगुला, बरिया, पकौडी र खिर खाइन्छ । सबैको मन लोभ्याउने गोझिया प्रायः होलीकै दिन खाइन्छ । मैदाको पिठोभित्र खुवा राखेर पकाइने यो परिकारसँगै पिठोमा सक्खर र चिनी घोलेर गुलगुला बनाइन्छ । आलु, भान्टा, केरा, फूलगोभी र पातगोभीको पकौडी खाने चलन छ । ‘मिठोमिठो खाई दुःख पीडा भुल्ने पर्व होली हो,’ तौलिहवाकी रीता श्रीवास्तवले भनिन्, ‘नयाँ सोचका साथ मन रंग्याएर पर्व मनायौं ।’

इष्टमित्रसँग खुसियाली साट्न एक दिनअघिबाटै होलीका परिकार बनाउँदै बसेको उनले बताइन् । ‘पहाडी समुदायका आफन्तलाई पनि होली परिकार खान बोलाएकी छु,’ उनले भनिन्, ‘यसले दुवै समुदायबीच आपसी सद्भाव र सम्बन्ध अझ कसिलो बनाउँदै लान्छ ।’

प्रकाशित : चैत्र १७, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?