३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रूपन्देहीका तीनै सुरक्षा अधिकारीको सरुवा

मन्त्रीको कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्न नसकेको आरोप
घनश्याम गौतम

रूपन्देही — सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकैसाथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृह मन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।

गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारीबिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबर्जस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए । असुरक्षा देखिएपछि मन्त्रीद्वयले कार्यक्रम छाडेर लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगेर पत्रकार सम्मेलनमार्फत कुरा राखेका थिए । उक्त औद्योगिक क्षेत्रको अहिलेसम्म पनि वातावरणीय प्रभाव मूल्यांकन हुन सकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे । उनका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् । ‘सरुवा भएको हो,’ बुढाले भने, ‘अन्य विवरण जानकारीमा छैन ।’ त्यस्तै, प्रहरी प्रमुख पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा एसपी मनोज केसी आउने भएका छन् । सशस्त्र प्रहरी प्रमुख भरत खनियाले भने औपचारिक पत्र प्राप्त नभएको बताए । रूपन्देहीमा सोमबार होलीको सार्वजनिक बिदा भएका कारण कुनै पनि अधिकारीले पत्र बुझेका छैनन् । चार दिनअघि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको पनि सिरहाको इलाका प्रशासन कार्यालयमा सरुवा भएको थियो ।

प्रकाशित : चैत्र १६, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?