काठमाडौँ — नेपाली कांग्रेसले बागलुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । आइतबार होली खेल्ने क्रममा भएको झडपमा परी २ जना युवकको मृत्यु भएको थियो ।
सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बागलुङ, गुल्मी र प्यूठानको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको जनाएका छन् ।
शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।'
आइतबारको घटनामा प्रकाश कुँवर र दीपक नेपालीले ज्यान गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत रहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'
घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारबाही अघि बढाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।
पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।
हाल विमानस्थलको ७२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । तोकिएको म्याद सकिन ७५ दिन बाँकी छ । यो अवधिमा बाँकी काम सक्न सम्भव छैन । अहिलेकै गतिमा काम भए निर्माण पूरा हुन आगामी डिसेम्बरसम्म पुग्नुपर्छ । ‘कोरोना महामारी नभएको भए ६ महिना अगावै सक्ने योजना थियो,’ उनले भने, ‘बीचमा काम एकदम सुस्त भएकाले तोकिएको समयमा सक्न मुस्किल छ ।’ विमानस्थलमा १८ प्रतिशत उपकरण र १० प्रतिशत सिभिलको काम बाँकी छ । विमानस्थललाई आवश्यक उपकरणमध्ये चीनबाट आउनुपर्ने सामान आइसकेको छ । अमेरिका, युरोप र अस्ट्रेलियाबाट आउनुपर्ने सामग्री आइपुगेको छैन । उपकरण जडान र परीक्षणका लागि सम्बन्धित कम्पनीकै जनशक्ति आउनुपर्छ । स्पष्ट भिसा नीतिको समस्याले तत्काल ती कामदार आउने अवस्था नरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । यिनै विविध कारणले ठेकेदार कम्पनीले म्याद थपको निवेदन दिने तयारी गरेको हो ।
विमानस्थलको १४ वटा बिल्डिङ निर्माण भएर फिनिसिङको काम बाँकी छ । हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्यांगर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एक्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सकिएको छ । हाल १ सय ६६ चिनियाँ र ५ सय ४८ नेपाली गरी ७ सय १४ कामदार निर्माणमा खटिएका छन् ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणाधीन विमानस्थलमा हाल डेडिकेटेड फिडर निर्माणको काम भइरहेको छ । विमानस्थलभित्र फ्युल स्टेसन बनाउन नेपाल आयल निगमले चैत २ मा टेन्डर आह्वान गरेको छ । निगमले ट्यांक फाउन्डेसन, पम्प सेड, ग्यान्ट्री सेड, फायर पम्प सेड, प्रशासकीय भवन, प्रयोगशाला भवन, बाउन्ड्री पर्खाल, भण्डारण ट्यांक, पाइपिङ, पम्पिङ, फिल्ट्रेसन प्रणाली, अग्नि नियन्त्रण प्रणाली, अन्य मेकानिकल र विद्युतीय काम गर्नेछ । फ्युल स्टेसन बनाउन विमानस्थलले जग्गा उपलब्ध गराइसकेको छ । उडान हुने बेलासम्म फ्युल स्टेसन निर्माण नसकिए गाडीबाट ल्याएर पनि उपलब्ध गराउने आश्वासन निगमले दिएको छ ।
विमानस्थलको पूर्वपट्टि उडान र अवतरणमा अवरोध पुर्याउने डाँडा कटान गर्न बाटो खुलेको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको फागुन १३ को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई डाँडा काट्न निर्देशन दियो । निर्देशनबमोजिम विमानस्थलबाट डेढ किलोमिटर दक्षिणपूर्वमा रहेको बानियाँपाखा (रिठ्ठेपानी) डाँडा कटान ६ महिनाभित्र गर्नुपर्छ । संसदीय समितिको निर्देशनपछि फागुन २० मा भएको मन्त्रिपरिषद् बैठकले रिठ्ठेपानी डाँडाका रुख कटान र पोल हटाउन अनुमति दियो । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले डाँडाका रुख कटानका लागि अनुमति दिएको हो । आयोजनाको डिजाइनमा उक्त डाँडा ४० मिटर काट्नुपर्छ । निजी जग्गाधनीले जग्गा कटान गरिरहेका छन् । सरकारी जग्गा कटान भने सुरु भएको छैन ।
निर्णयको प्रति आयोजनालाई प्राप्त भइनसकेको मुनकर्मीले बताए । ‘ससर्त छ कि निःसर्त छ, निर्णय हेरेपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘निःसर्त भयो भने एक साताभित्र काम थाल्छौं ।’ प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्नुपरे डाँडा कटान सुरु गर्न तीन महिनासम्म लाग्न सक्ने उनी बताउँछन् । डिभिजन वन कार्यालय कास्कीले कटान गर्नुपर्ने रुखको ट्यागिङ गरिसकेको छ । कटुस, चिलाउनेलगायत सानाठूला गरी ६ सय रुख काट्नुपर्ने वन कार्यालयका प्रमुख केदार बरालको भनाइ छ । मन्त्रिपरिषद्ले गरेको निर्णय वन मन्त्रालय, वन मन्त्रालयले वन विभागमा पठाउँछ । वन विभाग र प्राधिकरणबीच सम्झौता भएपछि विभागले डिभिजन वन कार्यालयलाई निर्देशन पठाउँछ । कार्यालयले आयोजनालाई कटान आदेश दिन्छ ।