कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीमा जोखिमलाई बेवास्ता 

कोरोना संक्रमणको लहर पुनः सुरू भएकाले भीडभाड नगर्न सरकारले जारी गरेको सूचनालाई आइतबार राजधानीमा बाहिर निस्केर होली खेल्नेहरुले अवज्ञा गरेका छन्  ।

काठमाडौँ — कालीकोट घर भएका मीनराज शाही, विजय शाही र सिन्धुलीका वीरबहादुर तामाङले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । सुन्धारा, न्युरोड, वसन्तपुर क्षेत्र वरिपरि नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।

होलीमा जोखिमलाई बेवास्ता 

कोरोना महामारीकै कारण पानीको प्रयोग नगरी केही सीमित साथीहरूसँग भेटेर रङकै माध्यममा होली मनाइएको मीनराजले सुनाए । त्यस्तै सुन्धारा परिसरमा नै होली खेल्नकै लागि आएका काभ्रेकी सविना खत्री र बाफलकी निर्मला मगरले पनि सुरक्षित रूपमा होली खेले । ‘घरमा कोरोनामात्र भनेर बस्दा–बस्दा वाक्क नै लागिसक्यो’ सविनाले हाँस्दै भनिन्,‘साथीहरू मिलेर कलरसँग खेल्दा निकै फ्रेस फिल भएको छ । मैले त डर भगाएर मज्जाले खेल्दै छु ।’

कोभिड–१९ को सम्भावित प्रकोप र संक्रमणको जोखिमबीच पनि उपत्यकामा अधिकांशले आइतबार हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । रङहरूको पर्वका रूपमा लिइने प्रत्येक फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होलीलाई हिन्दुहरूको प्रमुख चाडका रूपमा मनाइँदै आएको छ ।

हिन्दु धर्म तथा भारतभरि नै होलीको धार्मिक कथन र महत्त्व रहे पनि नेपालमा विभिन्न जातिमा होलीको आफ्नै विशेषता र धार्मिक कथनहरू रहेको संस्कृतिविद् ओम धौभडेलले सुनाए । उनका अनुसार नेवारी जातिमा होलीलाई फागुका रूपमा चिनिए जस्तै अन्य जातिमा विभिन्न नामसँगै आफ्नै शैली र फरक उद्देश्य छन् ।

‘भक्तपुरवासीले होली पर्वमा पैसाको भगवान्का रूपमा भीमद्यो (भीमसेन) लाई व्यापार व्यवसाय फस्टाओस् भनी पूजा गरी मनाइन्छ,’ उनले भने, ‘नेवारी समुदायमा यो पर्व ऋतुप्रति मध्यनजर गर्दै पनि मनाइन्छ ।’ वसन्त ऋतुको सुरुवात हावा चल्ने समयमा आकाशमा रङहरू उड्दा बन्ने आकृतिले मनमा हौसला र उत्साह थपिने जनविश्वासले पनि यो पर्व मनाइन्छ । यो ऋतुमा कामदेव जाग्ने र सन्तान उत्पादनका लागि रसरंगको उपयुक्त समयका रूपमा लिएकाले साहित्य तथा संगीतमा समेत उल्लेख हुने धौभडेलले सुनाए । उनका अनुसार होली पर्वले सद्भाव, प्रेम र भाइचाराको सम्बन्ध विस्तार गर्न सघाउँछ ।

उपत्यकामा नै कोरोना संक्रमितको संख्या र जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय तथा विज्ञहरूले नै सुरक्षित तरिकाले घरघरमा नै सबैलाई होली पर्व मनाउन आग्रह गरेको थियो । र, पनि उपत्यकामा होली खेल्नेका समूह देखिएका थिए । सबैजसो स्थानमा परिवार, आफन्त र साथीभाइको जमघटमा उपत्यकावासीले होली पर्व मनाए ।

युवायुवतीहरूको समूह भित्री तथा बाहिरी सडकमा देखिएको थियो । होली पर्वमा बाक्लै जमघट देखिने उपत्यकाका वसन्तपुर जस्ता स्थानमा भने अघिल्ला वर्षमा जस्तो भीडभाड देखिएको थिएन । होलीमा सहभागीले बेलुन तथा प्लास्टिकका साना झोलासमेत निकै कम प्रयोग गरेका थिए । युवापुस्तामा रङ र होली पर्वको महत्त्व देखिन थालेको धौभडेलको बुझाइ छ । उनले भने, ‘अहिले होलीमा पानीभन्दा अबिरलाई बढी महत्त्व दिन थालेका छन् । पहिलेजस्तो अराजक होली छैन । अहिले युवाहरू संस्कृति र जनस्वास्थ्यप्रति सचेत छन् ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा ९ सयभन्दा ट्राफिक प्रहरी खटाइएको थियो । होलीमा दुर्घटनालाई मध्यनजर गर्दै ९० भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँचको व्यवस्था मिलाइएको ट्राफिक महाशाखा रामशाहपथका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

जोखिमलाई बेवास्ता

कोरोनाको दोस्रो लहर सुरु भएकाले सरकारले भीड नगरी घरैमा होली खेल्न गरेको सूचनालाई राजधानीका विभिन्न भागमा बेवास्ता गरेको देखिएको छ । जोखिमलाई बेवास्ता गर्दै युवाहरूले होली खेलेका छन् । कतिपय ठाउँमा भने होली घरपरिवार र टोलभित्रै मनाएको देखिएको छ ।

पर्वकै अवसरमा राजधानीको वसन्तपुरमा गत आइतबार ठड्याएको चीर राति तानेर टुँडिखेलमा पुर्‍याई दहन गरिएको थियो । त्यसपछि यो वर्षको होली पर्व विधिवत् रूपमा सम्पन्न भएको मानिने परम्परा छ । तराईमा सोमबार होली मनाइँदै छ । यसै दिन नाला मत्स्येन्द्रनाथको स्नान गराइने परम्परा छ ।

ललितपुरको हरिसिद्धिमा भने फागुपूर्णिमाको अवसरमा हरिसिद्धि भवानी देवी नाच देखाइएको छ । नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ । जसमा १८ भागमा दृश्य देखाइन्छ । त्यस्तै ठैब र फूलचोकी वाखा पर्व पनि मनाइएको छ ।

विशेषगरी होलीभरि भीमसेन मन्दिरमा भव्य मेला लाग्छ । भक्तपुरमा दत्तात्रय मन्दिरसँगैको भीमसेनको मन्दिरमा भक्तजनको भीड लागेको छ । पौराणिक कथनअनुसार दानवराज हिरण्य कश्यपुले विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर आगोले प्रह्लादलाई छोएन, बरु होलिका नै भष्म भइन् ।

यसैको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर दाह गर्ने परम्परा छ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागुपूर्णिमाका दिन उक्त दहन गर्ने परम्परा रहेको युवा हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले बताए ।

प्रकाशित : चैत्र १६, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?