खोला-नदी उत्खननमा ठेकेदारको मनपरी

मापदण्ड तोकेरै उत्खननको ठेक्का लिएका कम्पनीले अवैध रुपमा गिट्टी, बालुवा निकाल्दा पर्यावरणीय असर मात्रै होइन, वर्षात्मा नजिकका बस्ती र फाँटमा डुबान, कटानको जोखिमसमेत बढेको छ ।
ओमप्रकाश ठाकुर

सर्लाही — नियमन फितलो हुँदा सर्लाही भएर बग्ने वाग्मती, लखन्देही र बाँके खोलामा मापदण्डविपरीत उत्खनन भइरहेको छ । खोलाको ठेक्का लगाई नियमनको समेत जिम्मेवारी पाएका स्थानीय तह मौन बस्दा ठेकेदारको मनपरी बढेको हो । स्थानीय तहको मौनताले मिलेमतोको आशंका उब्जाएको स्थानीय बताउँछन् ।

खोला-नदी उत्खननमा ठेकेदारको मनपरी

मापदण्ड तोकेर गिट्टी, बालुवा, ढुंगालगायत नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका कम्पनीले अवैध उत्खनन गर्दा पर्यावरणीय असर पर्नुका साथै वर्षातमा नजिकका बस्ती र फाँटमा बाढी पस्ने जोखिमसमेत बढेको छ । यही कारण बरहथवा नगरपालिका–१ खर्सालघाटमा बर्सेनि वाग्मती नदीको बाढीले गाउँ डुबानको खतरा रहेको स्थानीय दीपलाल सहनी बताउँछन् ।

उनका अनुसार वाग्मतीले यहाँको सयौं बिघा खेतीयोग्य जग्गासमेत कटान गरिसकेको छ तर त्यस्तो खतराको ख्यालै नगरी नगरपालिकाले खर्सालघाटमै उत्खननको ठेक्का लगाएको छ । नगरले २०७८ जेठसम्मका लागि मलंगवाको राजन कन्स्ट्रक्सनसँग ३२ लाख ३० हजार ७ सय ७० घनफिट गिट्टी, बालुवा निकाल्ने गरी एक करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उक्त स्थानबाट ५ फिट गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख भए पनि १२ देखि १५ फिटसम्म उत्खनन भइरहेको छ ।

अवैध उत्खननले जनधन गुम्न सक्ने खतरा जनप्रतिनिधिले नदेखेको सहनीको गुनासो छ । ‘एक त पहिलादेखि नै कटानको समस्या छ, त्यसमाथि अवैध उत्खननले बाढी गाउँ पस्ने खतरा बढेको छ,’ सहनीले भने, ‘हामीले भनेको कसैले सुन्दैन, जनप्रतिनिधिहरू पनि खोला बेचेर पैसा कमाउने दाउमा छन् ।’

गत मंसिरमा उत्खननको ठेक्का लागेको वाग्मतीमा अहिलेसम्म कति परिमाणमा गिट्टी, बालुवा निकालियो भन्ने तथ्यांक नगरसँग छैन । ठेक्का सम्झौतापछि नगरबाट कुनै प्राविधिक पनि उत्खनन स्थल पुगेका छैनन् । नापजाँच नहुँदा परिमाणबारेको तथ्यांक नआएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल बताउँछन् । उनले पहिलो किस्ताको रकम जम्मा भएपछि नापजाँचका लागि प्राविधिक खोलामा पठाइने बताए । ईआईए प्रतिवेदनअनुसार नै खोलाबाट नदीजन्य पदार्थ निकालिरहेको उनले दाबी गरे ।

यता हरिवन र लालबन्दी नगरपालिकाको सीमा भएर बग्ने लखन्देही खोलाको ठेक्का सम्झौतामा ईआईएअनुसार हिरापुर डाब्कालीघाटबाट ६ सय मिटर लम्बाइ, ७५ मिटर चौडाइ र डेढ मिटर गहिराइमा उत्खनन गर्न सकिने उल्लेख छ तर यहाँ पनि १० देखि १५ फिटसम्म गहिरो खाडल बनाई उत्खनन गरिएको छ । यहाँ २० लाख पाँच हजार रुपैयाँमा गजुरमुखी निर्माण सेवाले ठेक्का पाएको हो ।

अवैध उत्खनन गरिरहेको भन्दै स्थानीयले विरोध जनाएपछि केही दिन काम रोकिएको थियो । अहिले फेरि उस्तै अवस्था रहेको पुलामीटोलका कृष्ण जर्घाले बताए । उनका अनुसार विवाद आउन नदिन पछिल्लो समय ठेकेदारले गहिरो खाडललाई पुरिदिने गरेका छन् । ‘नदीमा ठूल्ठूला खाडल बनाइँदा बस्ती नै जोखिममा छ,’ उनले भने, ‘अहिले त्यस्ता खाडललाई पुर्ने गरिएकाले अवैध उत्खनन भएको यसै पनि पुष्टि हुन्छ ।’ उनले तोकिएको भन्दा धेरै परिमाणमा उत्खनन भइरहेको समेत दाबी गरे ।

उनका अनुसार १० हजार घनमिटर उत्खननको ठेक्का पाएको गजुरमुखीले त्यसभन्दा बढी नदीजन्य पदार्थ निकालिसक्दा पनि उत्खनन रोकिएको छैन । नगरका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलले उत्खनन परिमाणबारे आफूलाई जानकारी नभएको बताए । ‘ठेक्का लागेको परिमाण खोलाबाट निकालियो वा निकालिएन भन्ने जानकारी मलाई आएको छैन, प्राविधिक टोलीले गर्नुपर्ने काम हो,’ उनले भने, ‘परिमाणबारे प्राविधिक टोलीले मलाई केही जानकारी दिएको छैन ।’

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा नदीजन्य पदार्थ उत्खननका लागि ईश्वरपुर नगरपालिकाले मंसिर १ मा जनकपुरको शिवम् कन्स्ट्रक्सनलाई १ करोड ८ लाख रुपैयाँमा ठेक्का दियो । सम्झौतामा ईआईएअनुसार ईश्वरपुर–१३ श्रीनगर टोलस्थित बाँके खोलाबाट ५ फिट गहिराइ र ४ लाख ५० हजार ८ सय ५ घनमिटर गिट्टी, बालुवा निकाल्न सकिने उल्लेख छ तर यहाँ पनि १५ सम्मका खाडल देखिन्छन् ।

स्थानीयको विरोधपछि नगरपालिकाले ठेकेदारसँग नदीजन्य पदार्थ निकालेको परिमाणको तथ्यांक माग्दै अहिलेलाई उत्खननमा रोक लगाएको छ तर ठेकेदार पक्षले अहिलेसम्म तथ्यांक उपलब्ध नगराएको प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बताए । ‘स्थानीयको विरोधपछि हामी आफैं पनि खोलाको निरीक्षणमा गयौं, त्यहाँ हेर्दा बढी परिमाणमा निकालिएको मलाई पनि लाग्यो,’ देवकोटाले भने, ‘ठेकेदार पक्षसँग अहिलेसम्म निकालिएको परिमाणको तथ्यांक माग्दै हाललाई उत्खननमा रोक लगाएका छौं तर पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।’

उत्खननमा रोक लगाएपछि पनि रातिमा अवैध रूपमा गिट्टी, बालुवा निकालिरहेको अवस्थामा प्रहरीले २ एक्स्काभेटर र ३ वटा टिपर नियन्त्रणमा लिई नगरपालिकालाई बुझाएको थियो । तीमध्ये केही साधन ठेकेदार कम्पनी शिवम् कन्स्ट्रक्सनकै रहेको पाइएको नगर प्रमुख मनोज देवकोटाले जनाए । पक्राउ परेका साधनका धनीलाई खोलामा बनाइएको खाल्डो पुर्न लगाई ६० हजार रुपैयाँ जरिवाना तिराई छाडिएको उनले बताए ।

प्रकाशित : चैत्र १५, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?