कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तिलौराकोटको प्राचीनता खोजिँदै

भूभौतिक सर्वेक्षण, ड्रोन फोटोग्राफी, टोपोग्राफी, अगरकोर र फिल्ड वाकिङबाट अनुसन्धान 
मनोज पौडेल

कपिलवस्तु — स्वदेशी र विदेशी विज्ञ पुरातत्त्वविद्सहित विद्यार्थी टोली शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को अध्ययन अन्वेषणमा जुटेका छन् । तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत बनाउने गरी बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद्, प्रोफेसर र वरिष्ठ परामर्शदाता उत्खननमा संलग्न छन् ।

तिलौराकोटको प्राचीनता खोजिँदै

शाक्य गणराज्य तिलौराकोट प्रवेश गर्नासाथै प्राचीन सहरको झल्को दिई शान्ति, करुणा मैत्रीको अनुभूति गर्ने गरी उत्खनन अघि बढाइएको हो ।

यहाँ दुई ठाउँमा उत्खनन गरिँदै छ । समयमाई मन्दिरछेउ पश्चिमतिर उत्खनन गरिँदै छ भने मध्यक्षेत्रको केन्द्रीय प्रशासनिक भवन संरचनाको भित्री सुरक्षा किल्ला पर्खालको दक्षिण–पूर्वी कुनामा पनि उत्खनन भइरहेको छ । दुवै ठाउँमा ट्रेन्च खनेर अध्ययन थालिएको छ । यसपटक उत्खननसँगै संरक्षणको काम पनि अघि बढाइएको छ । मध्यभागमा रहेको प्राचीन समयमाई मन्दिर संरक्षण गरिँदै छ । प्रशासनिक भवन संरचनाको पश्चिम भागको सुरक्षा किल्ला पर्खाल र दक्षिण गेट पनि संरक्षण भइरहेको छ । त्यहाँ पुरातात्त्विक मूल्य मान्यताअनुसार सुर्की र चुनाले नयाँ इँटा जोडिएको छ ।

त्यस्तै, तिलौराकोटमा दक्षिणतिर दरबार सुरक्षाका लागि बनाइएको खाई मोठमा अगरकोर गरिएको छ । जमिनबाट एउटा पाइप तल पठाएर प्राकृतिक माटो माथिको सांस्कृतिक धरोहर (कल्चरल डिपोजिट) को अध्ययन गरिएको छ । यसले कालक्रम पत्ता लागेर प्राचीनता थाहा हुन्छ । त्यस्तै पूर्वी द्वारदेखि २० मिटर पूर्व ढिस्को र पुरातात्त्विक स्थल मानिएका चेतराई देई र लमतियामा जियोफिजिक्स (भू–भौतिक) सर्वेक्षण गरिएको छ । नवलपरासीको पण्डितपुरमा पनि जियोफिजिक्स गरिएको छ । बेलायतका पुरातत्त्वविद् डंकन हलले जियोफिजिक्स गरिरहेका छन् । म्याग्नोमिटर नामको यन्त्रबाट निस्कने विकिरणले जमिनमुनि दुई मिटरसम्मको अवस्था पत्ता लगाउँछ । नेपालमा सन् २०१३ मा पहिलोपटक यो प्रविधि हलले नै प्रयोग गरेका थिए ।

विगतका उत्खननमा पाइएका पुरातात्त्विक महत्त्वका माटाका भाँडाकुँडा, मूर्ति र सिक्कालगायत वस्तुको संरक्षण पनि गरिँदै छ । यहाँ वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गरिएको टोलीमा संलग्न लुम्बिनी विकास कोष प्रमुख पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, अगरकोर र फिल्ड वाकिङबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘उत्खननबाट आएका तथ्य र परिणामले यहाँको प्राचीनता बढाएको छ ।’

नौ वर्षदेखि भइरहेको अध्ययनले तिलौराकोटमा ईसापूर्व आठौं शदाब्दीदेखि मानव बसोबास रहेको र इसाको छैटौँ शताब्दीमा दरबारको वरिपरि सुरक्षा किल्ला पर्खाल बनाइएको पत्ता लागेको उत्खनन टोली सदस्य पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीले बताए । ‘उत्खननबाट प्राचीन सहरको स्वरूप र सांस्कृतिक विकासक्रम थाहा लाग्दै छ,’ उनले भने, ‘त्यतिखेर घर बनाउन केके प्रयोग गरिन्थ्यो, कस्तो घर बनाइन्थ्यो र आर्थिक सामाजिक पाटो पनि पत्ता लाग्यो ।’

पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछि युनेस्कोको समन्वयमा जापान सरकारको जाप्निज फन्ड इन ट्रस्टको सहयोगमा उत्खनन भइरहेको छ । तेस्रो चरणअन्तर्गत सन् २०१९ देखि २०२१ सम्म काम हुने भएको हो । अर्को वर्षदेखि उत्खनन हुने/नहुने टुंगो छैन । उत्खननको नेतृत्व डुर्‍हाम विश्वविद्यालय बेलायतका प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रविन कनिङ्घमले गरेका छन् । उनीसँगै आठ जना विदेशी पुरातत्त्वविद् र प्रोफेसर, पुरातत्त्व विभागका सात जना पुरातत्त्वविद्, लुम्बिनी विकास कोषका आठ जना पुरातत्त्वविद् र कर्मचारी सहभागी छन् ।

त्यस्तै त्रिविका इतिहास, संस्कृति र पुरातत्त्व पढ्ने २५ विद्यार्थी र लुम्बिनी बौद्ध विश्वविद्यालय स्नाकोत्तर पढ्ने विद्यार्थी पनि यसमा सहभागी छन् । उत्खनन एक महिनासम्म चल्नेछ भने ५२ कामदार र मिस्त्रीले उत्खनन र संरक्षणको काम गरिरहेका छन् ।

तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल हो । तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूची (टेन्टेटिभ लिस्ट) मा परेको थियो ।

प्रकाशित : चैत्र १५, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?