कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टहरामा दिन काट्दै बासको आस

गत असारमा घरबारी बगेपछि विस्थापित भएका १०८६ मध्ये धेरैको बिजोग
दरिलो आश्रय नपाउँदा वर्षायाममा फेरि बिचल्ली हुने त्रास 
घनश्याम खड्का

म्याग्दी — पहिरोग्रस्त राम्चे बस्तीको दाहिने छेवैको पाखोमा ढोका–झ्यालबिनाको जस्ताको छाना लाएको टहरा छ । तिनै साँघुरा टहरामा बस्छन् गोरे सुनारको तीन, ओमप्रसाद लाम्गादे, नरेश लाम्गादेको चार/चार र डिलबहादुर जुग्जालीको पाँच जनाको परिवार ।

टहरामा दिन काट्दै बासको आस

जुग्जाली परिवार छिमेकी गाउँ रिखबाट झरेका हुन् । दलित बाहुल्य रहेको राम्चे बस्ती धौलागिरि गाउँपालिका–७ मराङको माथि टुप्पोमा पर्छ ।

गत असार २५ मा पहिरोले घर बगाएपछि उनीहरू सुरक्षित थलो खोज्दै यहाँ आएका हुन् । अर्को वर्षायाम आउनै लाग्दा पनि उनीहरूको सुरक्षित बासको टुंगो लागेको छैन । पहिरोबाट अति प्रभावित मराङ गाउँमा मात्र २३ घरपरिवार पूर्णरूपमा विस्थापित छन् । ‘फेरि बर्खा सुरु भयो । दिनैपिच्छे असिनापानी पर्न थालेको छ । घर बनाउन न सुरक्षित थलो पाइयो न त सरकारले हेर्‍यो,’ नरेश लाम्गादेले भने, ‘हिउँदका चिसा दिन त जसोतसो बिताइयो, बर्खाको झरीबादल यो छाप्रोमा कसरी कटाउने भन्ने पिरलो छ ।’

अन्नपूर्ण–३ फगामका १७ परिवारको अवस्था पनि उस्तै छ । पहिरोले सिंगो बस्तीको जमिन धाँजाधाँजा भएर बगेपछि स्थानीय सुरक्षित बासको खोजीमा भौंतारिएका छन् । पहिरोपछि भूगर्भविद्ले फगाम गाउँमा बस्ती बसाउनु उपयुक्त नहुने भन्दै अन्यत्र स्थानान्तरण गर्न सुझाएका छन् । तर पहिरोग्रस्त बस्तीवरपर एकीकृत बस्ती राख्ने सुरक्षित ठाउँ छैन । खेतीबाली लगाउने जग्गानजिकै भएकाले बसाइँ सरेर अयन्त्र जान स्थानीयको मन मानेको छैन । विकल्प पनि छैन । ‘टुपुक्क घर/छाप्रो मात्र भएर के गर्नु, परिवारको पेट पाल्न खेती किसानी गर्न बारी चाहियो । कति दिन पाखोको छाप्रोमा दिन बिताउने ? बिखलबन्दमा परियो,’ फगामकी अमृता फगामीले भनिन्, ‘सरकारले राहत दिने कुरा सुनेका छौं, राहत पाए तल सडक वरपर जग्गा किनेर त्यहीं छाप्रो हाल्न पाए हुन्थ्यो ।’

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गत वर्षायामको बाढीपहिरोबाट बस्न नमिल्ने गरी घर भत्केपछि जिल्लाका १ हजार ६८ परिवार विस्थापित छन् । त्यसैगरी बाढीपहिरोमा परी असारयता धौलागिरिमा १९, मालिकामा ८, रघुगंगामा ३ र अन्नपूर्णमा एक जना गरी ३१ को मृत्यु भएको थियो । धौलागिरि, मालिका र अन्नपूर्णका गरी ५ जनाको अवस्था अझै अज्ञात छ । ‘पीडितको विवरण गृह मन्त्रालयमार्फत पुनर्निर्माण प्राधिकरणमा पुर्‍याएका छौं । बजेट सोझै गाउँपालिकामा आउने र त्यहींबाट पीडितको हातमा रकम पुर्‍याउने भन्ने छ,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले भने ।

जिल्लाभरका १ हजारभन्दा बढी बाढीपहिरोबाट पीडित र विस्थापित भएकाको अवस्था र पीडा एउटै छ । विस्थापितमध्ये अहिले २५ परिवार जति पाल र जस्ताको टहरामा छन् । बाँकी पीडित बसाइँ सरेका परिवारका गाउँका खाली घरमा अस्थायी व्यवस्थापन गरेर बसिरहेका छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती राख्न स्थानीय तहमा प्रयास पनि थालिएको छ । मराङको वडा कार्यालयले पहिरोबाट घरपूर्ण क्षति भै घरबारविहीन भएका सबै २३ परिवारलाई स्थानान्तरण गर्न ५० लाख ५० हजार खर्चेर राम्चेमा १६ रोपनी ६ आना र अस्कारेमा १२ रोपनी गरी जग्गा खरिद गरेको छ । मराङका विस्थापितमध्ये १६ परिवारलाई अस्कारेमा र ७ परिवारलाई राम्चेमा पुनर्वास गराउने योजना छ ।

‘पहिरोग्रस्त क्षेत्रमा पुनः बस्ती बसाउन उपयुक्त नभएपछि हामीले दुई ठाउँमा जग्गा व्यवस्थापन गरी प्लटिङ गर्ने र सडकले जोडेका छौं । खानेपानी र विद्युत् सुविधा पुर्‍याउन काम भइरहेको छ,’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘एकीकृत बस्ती बसाउँदा जातीय क्लस्टर र पीडितहरूको रोजाइअनुसार खानेपानी, सिँचाइ, खेतीपातीको ख्याल पुर्‍याएका छौं ।’ पुनर्वासका लागि एकीकृत बस्ती बसाउन स्वदेश तथा विदेशबाट प्राप्त रकम उपयोग भएको छ । गाउँपालिका र वडाले सडक, खानेपानी, विद्युत्, ढलको निर्माण थालेको उनले बताए ।

पहिरोबाट घरवार गुमाई विस्थापित जिल्लाका १ हजार ६८ घरपरिवारमध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले ४० परिवारका लागि नयाँ घर बनाइरहेका छ । जिल्ला विपद् व्यवस्थापन समितिले तोकेको मापदण्डअनुसार मोनाले मालिका–७ विममा १०, धौलागिरिमा १४, मंगला, रघुगंगा, अन्नपूर्ण गापा र बेनी नगरपालिकामा ४–४ वटाका दरले नयाँ घर निर्माण गरिरहेको छ । ‘पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा प्रयोग गरेका घरको मोडेल फलो गरेका छौं,’ मोना हङकङका पूर्वअध्यक्ष दलबहादुर शेरवुजाले भने, ‘वैशाख १५ सम्म हामीले जिम्मा लिएका ४० घर तयार पारेर स्थानीय तहलाई चाबी बुझाउने योजना छ ।’

मराङको वडा कार्यालयले जस्तै मालिका–७ विम गाउँवासीको संस्था विम–मालिका संघ काठमाडौंले पहिरोले घर बगाउँदा घरविहीन भएका २२ परिवारलाई पुनर्वास गराउने भएको छ । तीमध्ये आफ्नै जग्गा नभएका १० परिवारलाई पुनर्वास गराउन २० लाख खर्चेर ५ रोपनी जग्गा खरिद गरेको छ । यो जग्गामा मोनाले घर निर्माण गरिरहेको छ । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार भान्सासहित चार कोठा र शौचालयसहितको मोडेलअनुसार पुनर्वास गराउँदा एउटा भूकम्प प्रतिरोधी घर बनाउन ५ लाख खर्च हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको अभिलेखअनुसार रघुगंगामा १६, अन्नपूर्णमा १५, मंगलामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरि गापामा ५९ र मालिका गापामा ८९ घरसमेत जिल्लाका २ सय ४७ घर बाढीपहिरोले पूरै बगाएको छ । त्यसैगरी घर नभत्केका तर उच्च जोखिममा परेका ८ सय २१ घर लाई स्थानान्तरण गरी सुरक्षित स्थानमा पुनर्वास गराउनुपर्ने समितिले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?