कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बौद्धिक चोरी आरोपमा ७ जनालाई कारबाही

गोविन्द पोखरेल

काठमाडौँ — बौद्धिक चोरीमा संलग्न अवकाशप्राप्त एक प्राध्यापक र ५ उपप्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गरेको छ । पटक पटक बौद्धिक चोरीमा संलग्न भएका घटना बाहिर आउँदासमेत त्रिविले कुनै कारबाही नगरेको भन्दै आलोचना भइरहेका बेला ६ जना प्राध्यापक एकैपटक कारबाहीमा परेका हुन् ।

बौद्धिक चोरी आरोपमा ७ जनालाई कारबाही

उनीहरूबाहेक कारबाहीमा कल्पना मिश्र पनि परेकी छन्, उनी भने त्रिविसँग आबद्ध होइनन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरका उपप्राध्यापक हरेराम मिश्र, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक रोहितकुमार देव, उपप्राध्यापक जनक अधिकारी र विमलकुमार कण्ठ छन् । यस्तै, पूर्वाञ्चल इन्जियिरिङ क्याम्पस धरानका उपप्राध्यापक तथा पीएचडी स्कलर युवराज साहु पनि कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सबै प्राध्यापक रसायनशास्त्री हुन् । अनुसन्धानात्मक लेख अनाधिकारिक रूपमा साभार गरिएको उजुरी परेपछि माघ ४ गते शिक्षाध्यक्षको कार्यालयले त्रिवि केन्द्रीय रसायनशास्त्र विभिागका प्रमुख प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा त्रिवि कार्यकारी परिषद्को चैत ४ गतेको बैठकले कारबाही सिफारिस गरेको हो ।

प्राध्यापक मिश्रसहित बौद्धिक चोरीमा संलग्न सबैलाई दुई वर्षसम्म त्रिविका कुनै पनि विद्यार्थीको सुपरिवेक्षण, थेसिस गाइडलगायत अनुसन्धानात्मक क्रियाकपलाप गर्न प्रतिबन्ध लगाइएको शिक्षाध्यक्ष शिवलाल भुसालले बताए । ‘छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा कार्यकारी परिषद्ले निर्णय गर्दै प्रकाशित सबै अनुसन्धानात्मक लेख रिट्र्याक्ट गर्ने निर्णय भएको छ,’ उनले भने । परिषद्ले महेन्द्र मोरङ क्याम्पसमा आंशिक शिक्षकका रूपमा संलग्न देवलाई दुई वर्षसम्म कक्षा सञ्चालनमा रोक लगाएको छ ।

छानबिन समितिमा प्राध्यापक बस्नेतसहित रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुली र उपप्राध्यापक भानुभक्त न्यौपाने सदस्य थिए । छानबिन प्रतिवेदनले विभिन्न ११ वटा आलेख अध्ययन गर्दा सबैमा ‘साइन्टिफिक मिसकन्डक्ट’ देखिएको थियो । ११ वटै आलेखमा प्राध्यापक मिश्रको संलग्नता देखिएको थियो । अधिकांश आलेखका चित्र यसअघि प्रकाशित आलेखमा छापिएका थिए ।

‘२/३ वटा आलेखका तथ्यांक र आफूले यसअघि नै प्रयोग गरेका तथ्यांक पुनः प्रयोग गरेर आलेख छापिएको पाइयो,’ संयोजक बस्नेतले भने । क्रिस्टालोग्राफी र यसको पहिचानसम्बन्धी आलेखमा उनीहरूले एकेडेमिक इथिक्सभन्दा बाहिर गएर काम गरेको छानबिन समितिले ठहर गरेको छ । केही आलेखमा ‘सेल्फ प्लागिरिजम’ समेत देखिएको समितिले जनाएको छ । ‘कुनै कुनैमा आफैंले प्रयोग गरेको तथ्यांक अन्य आलेखमा पनि प्रयोग गरिएको पाइयो,’ समितिका एक सदस्यले भने ।

फ्रान्सका प्राध्यापक आरमेली वेलका अनुसन्धानात्मक आलेखका तथ्यांक हुबहु प्रकाशित भएपछि उनले त्रिविलाई मेलमार्फत उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा शिक्षाध्यक्षको कार्यालयले छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित : चैत्र १५, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?