डढेलो नियन्त्रणमा गृह मन्त्रालय पनि

अब्दुल्लाह मियाँ

काठमाडौँ — डढेलोका कारण प्रदूषण बढेपछि बल्ल नियन्त्रण, नियमन र व्यवस्थापनमा सम्बन्धित निकायहरू समन्वयमा जुटेका छन्  । डढेलोको सिजनअघि नै व्यवस्थापनमा काम हुनुपर्नेमा गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वन तथा वातावरण मन्त्रालयले समन्वय थालेका हुन् । 

डढेलो नियन्त्रणमा गृह मन्त्रालय पनि

संघीयतापछि वनका धेरै निकाय प्रदेशस्तरमा गएका छन् । तर जनशक्ति र पर्याप्त आधुनिक उपकरण नहुँदा डढेलो नियन्त्रण हुन सकेको छैन । प्राधिकरणले प्रदेश, प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय हुने गरी काम थालेको हो ।

प्राधिकरणले डढेलोले निम्त्याएको विपत् व्यवस्थापनका लागि बजेट निकासाको तयारी गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘विभिन्न विपत् व्यवस्थापनका लागि जम्मा भएको रकम डढेलो नियन्त्रण र यसबाट पीडित भएकाहरुका लागि प्रयोग गर्न सकिन्छ ।’

घटनाबारे विश्लेषण गर्न तथा अन्य प्राविधिक पक्षमा काम गर्न प्राधिकरणले वन तथा भू–संरक्षण विभागमा लामो समयदेखि डढेलो व्यवस्थापनमा काम गर्दै आएका उपसचिव सुन्दरप्रसाद शर्मालाई आफूअन्तर्गत सरुवा गरेको छ । ‘प्रकोपका रूपमा अघि बढेको डढेलो व्यवस्थापनबारे तल्लो तहका निकायबीच कसरी समन्वय गर्न सकिन्छ भनेर प्राधिकरण र वनका निकायले सँगै काम गर्न थालेका छौं,’ पोखरेलले भने, ‘विगतमा वनले मात्र हेर्ने गरेको डढेलोमा संयुक्त ढंगले काम सुरु भएको छ ।’

गत सातादेखि देशैभर डढेलोका घटना बढिरहेका छन् । लामो समयदेखिको खडेरीका कारण पनि यो वर्ष चैतमै डढेलोका घटना बढेको डढेलोविज्ञ शर्माको विश्लेषण छ । सामान्यतया नेपालमा फागुनदेखि जेठसम्म डढेलोका घटना बढी हुने गरेका छन् । पोखरेलले यो वर्ष डढेलोका घटना बढ्ने संकेत देखिएकाले यसको नियन्त्रण र व्यवस्थापनका लागि जिल्लासँग पनि सहकार्य गरिने बताए ।

तराईदेखि हिमाली क्षेत्रसम्म एकै पटक डढेलो लाग्दा शुक्रबारदेखि काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदूषणको मात्रा अत्यधिक बढेको छ । विज्ञका अनुसार डढेलोको धूवाँ र गन्ध वायुमण्डलमा मिसिएको छ । वातावरणविद् भूषण तुलाधरले यो वर्ष प्रदूषणको अवस्था भयावह भए पनि सरकारले खासै चासो नदेखाएको बताए ।

‘विकराल अवस्था भइसक्यो,’ तुलाधरले भने, ‘विपत् घोषणा गर्न ढिलाइ भयो ।’ काठमाडौंभित्र विगतमा पनि प्रदूषण बढ्थ्यो, यसपालि २–३ महिनाको अन्तरालमा सहनै नसक्ने प्रदूषण बढ्नुमा डढेलोको समेत ठूलो भूमिका रहेको विज्ञहरु बताउँछन् । ‘जलवायु परिवर्तनका कारण सुक्खा मौसम बढिरहेको छ,’ उनले थपे, ‘सुक्खा र खडेरी हुँदा डढेलोका घटना बढे । त्यसको असर अहिले देखा पर्‍यो ।’

विज्ञ शर्माका अनुसार शनिबार पनि ५१ जिल्लाका २०९ स्थानमा डढेलो लागेको छ । काठमाडौंसहित देशभरको वायुमण्डलमा शनिबार पनि वायुको गुणस्तर सूचकांक (एक्यूआई) सरकारले तोकेको मापदण्डभन्दा बढी रेकर्ड भयो ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यू एअर’ ले काठमाडौंलाई शुक्रबार विश्वका ९४ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा राखेको थियो । शनिबार पहिलो प्रदूषित सहरमा चीनको राजधानी बेइजिङ छ, काठमाडौं दोस्रोमा परेको छ ।

सम्बन्धित समाचार

घातक धूवाँले दिउँसै अन्धकार

एकै दिन ४७९ डढेलो : अहिलेसम्मकै सबैभन्दा धेरै

प्रकाशित : चैत्र १५, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?