नेता जोशीको निधनले पर्साको सुखचयना गाउँमा शोक छायो- समाचार - कान्तिपुर समाचार

नेता जोशीको निधनले पर्साको सुखचयना गाउँमा शोक छायो

कान्तिपुर संवाददाता

पर्सा — पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको निधनले वीरगन्ज महानगरपालिका–२१ सुखचयना गाउँमा शोक छाएको छ । राजधानीका रैथाने भए पनि जोशीको मधेसको यो गाउँसँग पुर्ख्यौली सम्बन्ध छ ।

नवीन्द्रराजका हजुरबुबा शिवराजको पालादेखि नै यहाँ जोशी परिवारले शिक्षामा राम्रै लगानी गर्दै आएको छ । विसं. २०१९ ताका तत्कालीन नेपाल राष्ट्रिय विद्यालय सुखचयनाको भवन निर्माणका लागि ३ धुर र केहीपछि थप ८ कट्ठा जमिन जोशी परिवारले दान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिले २०६७ मा थप जग्गा मागेपछि यो परिवारले फेरि साढे ९ कट्ठा जमिन र ५० हजार रुपैयाँ दियो । ग्रामीण भेगका करिब १ हजार १ सय विद्यार्थी पढ्ने यो विद्यालयलाई भवन र मैदानका लागि अहिले पनि कुनै समस्या छैन ।

शनिबार बिहानै जोशीको अन्त्येष्टिमा सहभागी हुन सुखचयनाबाट एक टोली राजधानी जाने हतारोमा थियो । टोलीको अगुवाइ गरिरहेका थिए, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अधिवक्ता जितेन्द्र पटेल । त्यतिबेला आफ्नो बुबा गजेन्द्रराजलाई जग्गा र नगद दान दिन नवीन्द्रराजले नै सहमत गराएको सम्झन्छन् पटेल ।

‘जोशी परिवारको यहाँ जिम्दारी थियो, उहाँहरूको हाम्रो गाउँप्रति जिम्दार र सामन्तजस्तो व्यवहार थिएन, गाउँमा शिक्षाको ज्योति फैलियोस् भन्ने चाहना थियो,’ पटेलले भने, ‘विद्यालयलाई सहयोग गर्नुभएकैले यसको नाम पनि नवीन्द्रजीका बुबाआमाकै नामबाट नेरा गीता गजेन्द्रराज जोशी मावि राखियो ।’

नेता जोशी विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी लिन आइरहन्थे । ‘पछिल्लो पटक लकडाउनअघि बाराको कार्यक्रममा आउँदा यहाँ पनि आउनुभएको थियो,’ उनले भने, ‘उहाँ विद्यालयको भौतिक र शैक्षिक विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर सधैं चिन्ता गरिरहनुहुन्थ्यो, निधनपछि घरकै अभिभावक गुमेजस्तो भइरहेको छ ।’

विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य ब्रह्मदेव साह विद्यालयलाई चाहिने प्राविधिक सहयोग जुटाउन जोशी सधैं प्रयासरत रहँदै आएको बताउँछन् । प्रधानाध्यापक राजकुमार सिंह आफूले जोशीसँग भेट्न नपाएकामा थकथक गर्छन् । ‘उहाँकै परिवारले खुला मनले गरेको दानले आज विद्यालय सहज रूपमा सञ्चालन गर्न ठूलो मद्दत मिलेको छ । तर उहाँसँग भेट्न पाइनँ, दुःख लागेको छ,’ सिंहले भने ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र १५, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

एसपीएलको उपाधि वारियर्सलाई

अवधेशकुमार झा

राजविराज — बजाज खडक वारियर्सले तेस्रो संस्करणको सप्तरी प्रिमियर लिग (एसपीएल) को उपाधि जितेको छ । वारियर्सले राजविराज रंगशालामा शनिबार सम्पन्न फाइनलमा रूपनी राइडर्सलाई एक रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

वारियर्सले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । नीरज मुखियाले अविजित ५२, सुनिल धमलाले २३, अमित यादवले १९ र कुशल भुर्तेलले १५ रन बनाए ।

वारियर्सबाट अनिल खरेल र गोमानन्द अमात्यले ३–३ विकेट लिए । अनिलले ४ ओभरमा १ मेडन राख्दै १० र गोमानन्दले ४ ओभरमा १८ रन खर्चिए । भुलावन सहानीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेको बजाज खडक वारियर्सले ६ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार गरेको थियो । वारियर्सका ओपनरद्वय नीरज यादवले ५१ र अनिल शाहले २९, कप्तान विवेक यादवले २२ र भुलावनले अविजित १३ रन बनाए ।

राइडर्सबाट अनिल यादवले ३ तथा सुनील र कुशल भुर्तेलले १–१ विकेट लिए । विजेता वारियर्सले ३ लाख रुपैयाँ हात पार्‍यो भने उपविजेता राइडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बजाज खडक वारियर्सका अनिलकुमार शाह चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३ सय ३४ रन बनाए ।

उत्कृष्ट बलर विशाल सुस्लिङ र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले १५ हजार प्राप्त गरे । विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए ।

विजेता खेलाडीहरूलाई राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, रूपनी गाउँपालिकाका वडाध्यक्ष पीताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनारायण देवलगायत अतिथिहरूले पुरस्कार प्रदान गरे।

प्रकाशित : चैत्र १५, २०७७ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×