१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयमा सधैं आन्दोलन

लकडाउन खुलेयता मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलन नभएको दिन छैन 
ज्योति कटुवाल

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गतको ‘स्कुल अफ ल’ र इन्जिनियरिङ केन्द्रीय क्याम्पसका विद्यार्थी झन्डै तीन सातादेखि आन्दोलनमा छन् । ‘स्कुल अफ ल’ अन्तर्गत स्नातक तह बीए/एलएलबीको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि भएको प्रवेश परीक्षामा शिक्षकबाटै प्रश्नपत्र चुहावट भएको विद्यार्थीको आरोप छ ।

मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयमा सधैं आन्दोलन

त्यस्तै इन्जिनियरिङ संकायअन्तर्गतको हाइड्रोपावरको आठौं सेमेस्टर सकिन लाग्दासमेत काउन्सिलमा दर्ता नभएको भन्दै इन्जिनियरिङका विद्यार्थी पनि आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयले नेपाल इन्जिनिरिङ काउन्सिलमा दर्ता नगराएरै १ सय ९२ विद्यार्थीलाई हाइड्रोपावरको अध्ययन गराइरहेको छ । नेपाल इन्जिनिरिङ परिषद् ऐन २०५५ मा हाइड्रो इन्जिनियर भनेर छुट्टै पढाउन नपाउने भनिए पनि विश्वविद्यालयले आफूखुसी अध्ययन गराइरहेको हो । इन्जिनियरिङ काउन्सिलमा दर्ता नगराई अध्यापन गराउँदा विद्यार्थी र सरकारको सबै लगानी खेर गएको विश्वविद्यालयका स्ववियु परिषद् सभापति रोशन बस्नेतले बताए ।

‘हाइड्रोपावर इन्जिनिरिङ संकायको पढाइ त ट्युसन पढेको जस्तो हुने भयो,’ उनले भने, ‘न प्रमाणपत्र, न कुनै सम्भावना ।’ कोरोना महामारीपछि विश्वविद्यालय खुलेयता एमयूमा आन्दोलन नभएको दिन नै छैन । विद्यार्थीका मागप्रति क्याम्पस र विश्वविद्यालय प्रशासन गम्भीर नहुँदा आन्दोलन नरोकिएको हो । कानुन पढेर वकिल बन्ने सपना बोके पनि राजनीतिक खिचातानीमा परेपछि आन्दोलित हुनुपरेको पाँचौं सेमेस्टरका विद्यार्थी सचिन तिमिल्सेनाले बताए ।

फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयले कानुन संकायको स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । ४५ जनाको कोटा रहेको परीक्षामा १ सय ९० परीक्षार्थी सहभागी थिए । उक्त परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका हुन् ।

‘एकाएक छानबिन समितिले बनाएको प्रतिवेदन लुकाइयो, निर्देशक अर्जुन ऐडीलाई बर्खास्त गरियो,’ विद्यार्थी विष्णुविवेक ढुंगानाले भने, ‘उपकुलपतिले बेइमानी गरेर नयाँ निर्देशक नियुक्त गरे ।’ उनका अनुसार विद्यार्थीले दिएको निवेदनका आधारमा व्यवस्थापन शाखा प्रमुख आनन्द सुवेदीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिए पनि प्रतिवेदन लुकाइएको उनको आरोप छ ।

विश्वविद्यालयमा सत्तापक्ष हावी हुँदा शैक्षिक विकासमा असर परेको पूर्वरजिस्ट्रार महेन्द्र मल्लले बताए । ‘स्टेकहोल्डर नै सन्तुलित नहुँदा विश्वविद्यालयमा अस्थिरता पैदा भइरहेको छ,’ उनले भने, ‘शैक्षिक, भौतिक र आर्थिक रूपमा सम्पन्न भए पनि साझा मर्ममाथि प्रहार हुँदा र नेतृत्व एकलौटी चल्दा आन्दोलन भइरहेको हो ।’ अस्थिरताकै कारण विश्वविद्यालयमा ७ संकायका डिन, ९ क्याम्पस प्रमुख र ४ अनुसन्धान तथा विकास केन्द्रका निर्देशक पद रिक्त छन् ।

प्रकाशित : चैत्र १५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?