कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

टीकापुर घटनाका पीडित भन्छन्– ‘हामीमाथि अन्याय नहोस्’

‘रेशम चौधरीको संलग्नता छैन, फसाइएको हो भने न्यायिक छानबिन गरेर छोडिन्छ भने भन्नु केही छैन तर जघन्य अपराधमा संलग्नलाई राजनीतिक मुद्दा बनाएर जेलमुक्त गर्नु सत्ता लोलुपता मात्रै हो’
गणेश चौधरी, भवानी भट्ट

टीकापुर र कञ्चनपुर — टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीलाई ‘केन्द्रमा राखेर’ यतिबेला सत्ता राजनीति चलिरहेको छ । अदालतबाट सजाय तोकिएर जेलमा रहेकाहरूका आफन्त र फरार रहेकाहरूको भेलाले शुक्रबार कारागारमा रहेका चौधरीलाई सरकारसँग वार्ता गर्ने टोलीको संयोजक बनाएका छन् ।

टीकापुर घटनाका पीडित भन्छन्– ‘हामीमाथि अन्याय नहोस्’

उक्त घटनामा मारिएका टीकापुरका नाबालकसहित अन्य पीडितका आफन्त भने सरकार र जनता समाजवादी पार्टीले चौधरीलाई रिहा गर्न गरिरहेको वार्ता र छलफलप्रति निकै आक्रोशित छन् ।

जन्मकैद भुक्तान गरिरहेका चौधरी संयोजकत्वको वार्ता टोलीसित सरकारले वार्ता गर्ने कुरा उक्त घटनामा मारिएका नाबालक टेकबहादुरका बुबा नेत्र साउदलाई चित्त बुझेको छैन । ‘वार्ता गरेरै समाधान खोज्ने हो भने न्यायालयको के अर्थ रह्यो । अहिले सत्ता जोगाउन रेशमलाई छोड्ने तरिका कसरी ठीक हुन्छ ?’ उनले भने, ‘छोरा गुमाउँदाको पीडा कति छ कति । देश र जनताका लागि नेताले राम्रो गरिदिने र पीडितको घाउमा मलम लगाउने काम गरिदिएको भए केही सन्तुष्ट हुने ठाउँ हुन्थ्यो । व्यक्तिगत स्वार्थ र सत्तामा मात्र नेताहरू केन्द्रित भए ।’ सरकारमा रहेका नेतामा ‘नैतिकता’ नदेखिएको उनले प्रतिक्रिया दिए । सरकारले वार्ता गरेर समाधान खोज्ने नै हो भने पीडितको कुरा पनि सुन्न जरुरी रहेको उनको भनाइ छ । ‘रेशमलाई छोड्नु नै थियो भने हिजो बहुमतको सरकार थियो । त्यतिबेला नै छोडे पनि हुन्थ्यो, अहिले सत्ता जोगाउन रेशमलाई छोड्ने कुरा भइरहेको छ । गृहमन्त्री नै धर्ना बस्नु कहाँको नैतिकता हो ?’ नेत्रले भने, ‘कानुन गरिब निमुखालाई मात्र लाग्ने हो कि ठूलाबडालाई पनि लाग्ने निर्क्योल हुन जरुरी छ ।’

कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी निलम्बित भएपछि यो क्षेत्रले सांसद नपाउँदा विकास निर्माणमा असर परेको स्थानीय भनाइ छ । आरोपितलाई चुनाव लड्न दिएर अहिले ‘नाटक’ चलिरहेको साउदको बुझाइ छ । ‘रेशमलाई सकभर चुनाव लड्नै नदिनुपर्ने । जितिसकेपछि कि बहुमतको सरकार भएका बेला छोडे पनि हुन्थ्यो । कि उपचुनाव गराएर भए पनि यो ठाउँका लागि सांसद दिनुपर्थ्यो । अहिले यो सत्तामा बसेकाहरूको नाटक हो । सत्ता जोगाउने खेलमात्र हो ।’

‘पीडितमाथि जहिल्यै अन्याय’

घरमा एक्लै । गाईभैंसीदेखि बाख्राको रेखदेख र खेतीपातीको कामले फुर्सदै छैन । व्यस्तताका बीच पनि ५३ वर्षीया मन्धरादेवी विष्ट बेलाबेलामा एक्लै टोलाउँछिन् । पाँच वर्षअघि टीकापुर घटनामा उनका श्रीमान् प्रहरी निरीक्षक बलराम विष्टको हत्याबारे सम्झिँदा उनी रुन थाल्छिन् । घटनाका मुख्य दोषी रेशम चौधरीलाई सरकारले जेलमुक्त गर्ने चर्चा चलिरहेको थाहा पाएपछि उनी झनै निराश भइन् ।

‘हामीजस्ता पीडितले कहिल्यै न्याय पाउँदैनौं, अन्याय मात्रै हुन्छ,’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ दीपनगरमा बसोबास गरिरहेकी विष्टले भनिन्, ‘अदालतले जेल सजाय तोकेको छ भन्ने सुनेकी थिएँ, अहिले छाड्ने कुरा भइरहेको छ भन्ने पनि सुनें ।’ उनले अदालतको फैसलाअनुसार दोषीमाथि कारबाही हुनुपर्ने बताइन् । चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले घटनाको मुख्य योजनाकार र दोषीका रूपमा फैसला गरी जेल सजाय तोकेको हो ।

विष्टका तीन छोरी र एक छोरा छन् । दुई छोरी र छोरा अध्ययनका लागि धनगढीमा छन् । जेठी छोरी विवाह गरेर विदेशमा छिन् । मन्धरा घरमा एक्लै बस्छिन् । दुःख विराम केही भए पनि उनलाई सघाउने दोस्रो कोही छैन । ‘बुढेसकालमा एक्लै बस्नुपर्‍यो, हाम्रो पीडा कसले देख्छ,’ विष्टले भनिन्, ‘मेरा बालबच्चाले बुबा भन्न पनि पाएनन्, तिनलाई कस्तो लाग्दो होला ।’ उनले चौधरीलाई रिहा गरेर पीडितमाथि झनै पीडा थपिने बताइन् ।

सोही घटनामा हत्या गरिएका कञ्चनपुरकै बेलौरी नगरपालिकाका अर्का प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंह पदको लोभका लागि अपराधीको साथ खोज्नु ठीक नभएको बताउँछन् । राजनीतिका नाममा अपराधी छाड्दै जाने हो भने मुलुकमा गलत परिपाटीको विकास हुने उनले बताए । ‘रेशम चौधरीको संलग्नता छैन, फसाइएको हो भने न्यायिक छानबिन गरेर छोडिन्छ भने मेरो भन्नु केही छैन,’ बोहराले भने, ‘तर जघन्य अपराधमा संलग्नलाई राजनीतिक मुद्दा बनाएर जेलमुक्त गर्नु सत्तालोलुपता मात्रै हो ।’ उनले राज्यका मन्त्री नै जेलमा पुगेर अपराधीसँग वार्ता गर्नु देशकै लागि अनुचित भएको बताए ।

मृतक बोहराकी श्रीमती शारदा काठमाडौंमा छिन् । उनका दुई छोराहरू पनि काठमाडौंमै पढिरहेका छन् । चौधरी रिहा भए टीकापुर घटनाका पीडितहरूमाथि ठूलो अन्याय हुने बोहरा बताउँछिन् । उच्च अदालत दिपायलले समेत माफी दिन नसकिने खालको टिप्पणी गरेकाले सरकारले गलत काम गर्न नहुने उनले बताए ।

घटनामा हत्या गरिएका इन्सपेक्टर बोहराकी श्रीमती शारदाले आफ्नो परिवारको प्रमुख माग भनेकै घटनाका दोषीमाथि हदैसम्मको सजाय दिएर न्याय पाउनु रहेको बताइन् । ‘अदालतले फैसला गरी सजाय तोकिसकेको अवस्थामा पटक–पटक यही कुरा दोहोरिने गरेको छ,’ उनले भनिन्, ‘यति ठूलो घटनामा जसले आफन्त गुमाएका छन् उनीहरूको भनाइ अरू के नै हुन सक्छ र, दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायबाहेक ।’ पीडित परिवारले अधिकारकर्मी र सरोकारवालासमक्ष दोषीलाई माफी दिने विषयमा सहमत नहुने आग्रह गरेका छन् । उनीहरूले पीडित परिवारको न्यायका लागि समेत सोच्न माग गरेका छन् ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट पक्षधर प्रदर्शनकारीबाट नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक दुधेबालकको ज्यान गएको थियो । सोही घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले रेशमसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष र १ जनालाई ६ महिना कैद सजायको फैसला सुनाएको थियो । घटनामा संलग्न भनिएकामध्ये ३१ जना अझैसम्म फरार छन् ।

प्रकाशित : चैत्र १४, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?