लकडाउन गर्दैनौं : मन्त्री श्रेष्ठ- समाचार - कान्तिपुर समाचार

लकडाउन गर्दैनौं : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

भक्तपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन् । 

शनिबार मध्यपुर थिमि नगरपालिकाको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्वास्थ्य प्रति सजग रहँदै विद्यालय संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालनालाई कडाई गर्ने तर लकडाउन नगर्ने बताएका हुन् । ‘विद्यालय बन्द गरेर होइन, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाको सामना गरिन्छ,’ उनले भने ।

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकोले स्वास्थ्य सुरक्षामा सम्झौता नगर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।

सरकारले कोरोना संक्रमणको दर केही वृद्धि भएपछि उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न आग्रह गरे पनि मध्यपुर थिमि नगरपालिकाले २५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — दिवंगत कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा स्व जोशीका दाजु राजुराज जोशी र  भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।

अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको नीजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

स्व जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

विस २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत अथक् योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए ।

मस्तिष्कघात भन्दा पहिले स्व नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए । विसं २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्व जोशीका श्रीमति र एक छोरी छन् ।

प्रकाशित : चैत्र १४, २०७७ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×