नेता जोशीको निधनप्रति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शोक प्रस्ताव पारित- समाचार - कान्तिपुर समाचार

नेता जोशीको निधनप्रति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शोक प्रस्ताव पारित

तीन दिन केन्द्रीय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधमा शोक प्रस्ताव पारित गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौंमा पूर्वउपमेयर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ ।

बैठकपछि कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ । उहाँको निधनबाट पार्टी र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।'

त्यस्तै जोशीप्रति सम्मान प्रकट गर्दै चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ । जोशीको १३ औँ दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ ।

मस्तिष्कघात भई एक महिनादेखि उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको हो । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

प्रकाशित : चैत्र १४, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्

मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु भएको छ । शुक्रबार आफैलाई आगो लगाएका रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका हिराबहादुर भुजेलको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार भुजेलले शुक्रबार दिउँसो मट्टितेल छर्केर शरीरमा आगो लगाएका थिए । परिवारका सदस्यले तत्काल उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना गरेका थिए ।

तामाकोशीमा उपचार सम्भव नभएपछि काठमाडौंको कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा भुजेलको शनिबार मृत्यु भएको हो । ४३ वर्षीय भुजेलले मट्टितेल छर्किएर किन आगो लगाए भन्नेबारे खुल्न सकेको छैन ।

प्रकाशित : चैत्र १४, २०७७ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×