अर्काको नाममा बैंक खाता खोलेर ठगी

नेपालबाहिर रहेकाको कागजात प्रयोग गरेर खाता खोल्ने र रकम एटीएमबाट झिक्ने गरेको गिरोहबाट ठगिएकाहरु न्याय माग्दै
जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले फागुनको अन्तिम साता चितवन स्थायी ठेगाना भएका सफल गुरुङको खोजी सुरु गर्‍यो । प्रहरीको अनुसन्धानले उनी वैदेशिक रोजगारीमा साइप्रसमा रहेको पत्तो मात्रै लाएन, उनको परिवारका सदस्यहरूको सम्पर्कमा पनि पुग्यो ।

अर्काको नाममा बैंक खाता खोलेर ठगी

एक ठगी घटनाका केही पीडितले गुरुङको नेपाली बैंक खातामा रकम जम्मा गर्ने गरेको देखिएपछि प्रहरीले खोजी गरेको थियो । तर साइप्रसमा रहेका उनी प्रहरीको सम्पर्कमा आएपछि खुल्यो, अरू कसैले उनको नाममा बैंक खाता खोलेर ठगी धन्दा चलाएको रहेछ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीमा जाने प्रक्रिया सिलसिलामा गुरुङले एक कन्सल्टेन्सीमा नागरिकतालगायत डकुमेन्टको फोटोकपी बुझाएका थिए । पछि अर्कै कन्सल्टेन्सीबाट साइप्रस उडे । ठगको गिरोहले उनको नागरिकताको दुरुपयोग गर्दै बैंक खाता खोलेछ । प्रहरी अनुसन्धानले कोरोना संक्रमण तीव्र भएका बेला उक्त गिरोहका सदस्यले मास्क लगाएर बैंकमा गई सजिलै खाता खोलेको देखिन्छ ।

यसरी खोलिएको खातामा गिरोहले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै दर्जनौंलाई पैसा जम्मा गर्न लगाउने, अनि खातामा जम्मा हुनेबित्तिकै निकाल्ने गरेको देखिन्छ । प्रहरीले रकम निकाल्न प्रयोग भएका एटीएम बुथबाट सीसीटीभी फुटेज ल्याएर पनि हेरेको थियो । जसमा ठग समूहले समीर तामाङ नामका कर्मचारीलाई रकम जम्मा हुनासाथ एटीएमबाट पैसा निकाल्न पठाएको देखिन्छ । चलाख समीरले एटीएमबाट रकम निकाल्दा परिचय खुल्ने डरले प्रत्येक पटक मास्क र हेल्मेट लगाएको देखियो ।

फागुनको २३ गते प्रहरीले यही ठगी घटनामा संलग्न रहेको भन्दै आफूलाई सरोज अधिकारी पनि भनेर चिनाउने शिशिर बस्नेतलाई पक्राउ गरेको छ भने उनका दाइ माइकल बस्नेत र सहयोगी पदम आचार्य भनिने सुमितकुमार उपाध्याय र अर्का एक जनाको खोजी गरिरहेको छ । शिशिर पक्राउ परेपछिको प्रारम्भिक बयान र प्राप्त प्रमाणका अनुसन्धानबाट ठगीको सिलसिलाबारे धेरै तथ्य खुलेको प्रहरीले जनाएको छ । आफ्नो परिचय खुल्ने कुनै पनि कागजात उपयोग नगरी बैंक खातादेखि कम्पनीसम्म खोलेर यो समूहले डेढ दर्जनभन्दा धेरैबाट तीन करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

यो गिरोहले ललितपुरको कुमारीपाटीमा हाई सक्सेस म्यानेजमेन्ट ग्रुप प्रालि नामक कम्पनी खोलेको देखिए पनि उक्त कम्पनी न त कम्पनी रजिस्ट्रारमा न त अन्य कुनै पनि सरकारी संयन्त्रमा दर्ता भएको देखियो । अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘आफ्नो परिचय सबै लुकाएर फर्जी कागजातका आधारमा कम्पनी खोल्ने, अर्काको कागजातमा बैंक खाता खोल्ने र ठग्ने गरेको देखियो ।’

घरमा रङ लगाउने काम गर्ने धुलिखेलका सुमन लामाको दम्पती पनि यही ठग गिरोहको पासोमा परे । पोर्चुगल पुर्‍याइदिने र मासिक ६ सय ५० युरो तलब हुने काम दिलाइने आश्वासनमा परेर ४ महिनाअघि ७ लाख रुपैयाँ सफल गुरुङको खातामा जम्मा गरिदिएका थिए । सुमनले भने, ‘काम हुन्छ भनेपछि मैले उनीहरूले दिएको बैंक खातामा रकम जम्मा गरिदिएँ । पछि पो थाहा भयो ठगीधन्दाको समूहले ठगेछ ।’

सुमनका अनुसार ठगिनेमा उनीसहित २० जनाभन्दा धेरै उनकै सम्पर्कमा छन् । उनले भने, ‘तीन/चार लाखदेखि आठ/दस लाखभन्दा धेरै पैसा फसेका पनि छन् ।’ नुवाकोट चौघडाका अनिल राईलाई पनि हंगेरी पठाएर जागिर मिलाइदिने सपना देखाएर यो समूहले साढे तीन लाख ठग्यो । गरगहना बनाउने काम गर्ने अनिलले एउटा फेसबुक पेजमा वैदेशिक रोजगारीको विज्ञापन देखेपछि यो समूहको सम्पर्कमा पुगेका थिए । उनले विदेश जाने आशामा पटकपटक गरेर साढे तीन लाख रुपैयाँ बुझाए । पैसा बुझाएपछि पनि काम नभएपछि उनले शंका गरेर थप सोधीखोजी सुरु गरे । ‘त्यसपछि पो थाहा भयो म त ठगीको जालोमा परेछु,’ उनले भने, ‘यो समूहले फरकफरक परिचय बताए पनि ठग्नेहरूको संख्या कम्तीमा दुई दर्जनभन्दा धेरै छ ।’

अपराध अनुसन्धान कार्यालयले प्रारम्भिक अनुसन्धान सुरु गरेर ठगीको यो मुद्दामा थप अनुसन्धान गर्न फाइल प्रहरी परिसर ललितपुरलाई बुझाइसकेको छ । परिसर ललितपुरका एसएसपी किरण वज्राचार्यका अनुसार यो समूहले नटवरलालकै शैलीमा शृंखलाबद्ध ठगी गरेको देखिन्छ । परिसर ललितपुरको सम्पर्कमा मात्रै यो समूहबाट पीडित हुने करिब १५ जना आइसकेका छन् । उनले भनिन्, ‘फर्जी कागजातका आधारमा ठग्दै हिँड्ने गरेको देखिन्छ ।’ प्रहरीका अनुसार शिशिरसहितको समूह यसअघि पनि यस्तै शैलीको वैदेशिक रोजगार ठगीमा पक्राउ परेर थुनामा बसेको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पक्राउ परेका शिशिरले निसानको गाडी चढ्ने गरेको र किस्ता तिर्न नसकेपछि उक्त गाडी बिक्रेताले तानेको बताए । उनले भने, ‘ठगी गर्ने र मोजमस्तीमा पैसा उडाउने गरेको देखियो ।’ प्रहरीले सफल गुरुङको नाममा भएका कारोबारको सबै विवरणहरू झिकाएर अध्ययन गरेको छ । प्रहरीका अनुसार ठगी मुद्दामा थुनाबाट निस्केपछि गत साउन २९ गतेबाट सफलको खाता सक्रिय पारेर ठगी गरेको देखिन्छ ।

यही समूहको ठगी जालोमा एक वर्षअघि परेका नवीन रम्तेल र उनका साथीहरूको दुःख झन् बेग्लै छ । नवीन दक्षिण कोरिया जान भनेर सुटकेस गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेका थिए । उनलाई बिदाइ गर्न श्रीमती र सालोसहित अन्य तीन जना साथी पनि विमानस्थल पुगेका थिए । उनीजस्तै अन्य दुई साथी पनि घरबाट बिदाबारी भइवरी विमानस्थल पुगेका थिए । कृषि फार्ममा काम गरेर मासिक २ देखि साढे दुई लाखसम्म कमाइ हुने सपना देखेर विमानस्थल पुगेका उनीहरू तीनै जना त्यतिबेला झस्किए, जब बोर्डिङ पास निकाल्ने बेला सम्बन्धित विमान कम्पनीको डेस्कका प्रतिनिधिले बताए, ‘यो टिकट नै नक्कली छ ।’ एकैछिनको सोधखोजपछि थाहा भयो, उनीहरूको दक्षिण कोरियाको भिसा पनि नक्कली पो रहेछ ।

एक खाद्य उत्पादक कम्पनीको ललितपुर जिल्लामा वितरण प्रमुखको हैसियतमा नवीनले कोरिया जाने भनेरै काम छोडीवरी एजेन्टलाई ९ लाख ५५ हजार बुझाइसकेका थिए । अन्य दुई साथीले पनि त्यत्तिकै हाराहारीमा रकम बुझाएका थिए । २०७६ वैशाखको त्यो घटनापछि उनीहरू तीनै जनाको होसहवास उडेजस्तो भयो । नवीनसहित पैसा फसाउने हरिकृष्ण थापा र सोनी श्रेष्ठलाई कोरिया पठाइदिने प्रक्रिया तिरुपती भिसा सर्भिसेस नामक कम्पनी खोलेर बसेका माइकल बस्नेतले चालिदिएका थिए ।

तीनै जनाले प्रहरी परिसर काठमाडौंमा उजुरी गरेपछि माइकल पक्राउ परे । प्रहरीका अनुसार झन्डै ११ महिना थुनामा बसेर उनी धरौटी बुझाएर छुटेका थिए । ठगी मुद्दामा छुटेका माइकलसहित उनका भाइविरुद्ध त्यतिबेला अर्को किर्ते मुद्दा पनि दर्ता भएको देखिन्छ । प्रहरीका अनुसार माइकलले कीर्तिपुरका बाबुराम खरेलको फोटो र नागरिकता दुरुपयोग गरेर नक्कली कम्पनी खडा गरेका थिए ।

प्रहरी स्रोतका अनुसार किर्ते मुद्दामा पनि उनीहरू धरौटी बुझाएर उम्किन सफल भए । केही समय सुन्धारास्थित केन्द्रीय कारागार र केही समय नख्खु कारागारमा बसेर उम्केपछि उनीहरूले फेरि ठगी धन्दा थाल्न ललितपुरको कुमारीपाटीमा नयाँ अफिस खोले । पहिले जस्तै नेपालमा नभएका सफल गुरुङको कागजात दुरुपयोग गरेर बैंक खाता खोले । पछिल्लो ठगी पासोमा भने धुलिखेलका सुमन लामा जस्तै दर्जनभन्दा धेरै युवाहरू परे ।

प्रहरीका अनुसार पछिल्लो घटनामा जस्तै यसअघिको ठगी घटनामा पनि यो समूहले आफूले सोझै पैसा नबुझ्ने गरेको देखिन्छ । जस्तो कि माइकलले भनेअनुसार नवीनले राजुप्रसाद गौतमको खातामा एक लाख ४० हजार जम्मा गरिदिएका थिए भने उनका २ साथीहरूले माइकलले भनेअनुसार विष्णुप्रसाद पाण्डेको बैंक खातामा २ लाख ८० हजार डिपोजिट गरिदिएका थिए ।

पछिल्लो घटनामा माइकलका भाइ शिशिरलाई फागुन २३ गते पक्राउ गरी प्रहरीले म्याद थप्दै प्रहरी परिसर ललितपुरको थुनामा राखेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णराज कोइरालाले पछिल्ला दिनहरूमा फर्जी कागजातहरू खडा गरेर बैंक खाता खोल्ने वा ठगी काममा सोझासिधा मानिसको बैंक खाता प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । उनले भने, ‘कोहीकोही त एकाध हजारको लोभमा आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिएको देखिन्छ । कसैले भने सानोतिनो प्रलोभनमा परेर खातामा जम्मा भएको रकम अरूलाई निकालेर दिने काम गरेको देखिन्छ ।’

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बैंक खाताको दुरुपयोग हुन नदिन प्रयोगकर्ता नै आफैं सचेत हुनुपर्ने बताए । उनले केही पैसाको लोभमा आफ्नो खाता कसैलाई प्रयोग गर्न दिने वा स्रोत नखुलेको रकम जम्मा गर्न लगाउने काम गैरकानुनी हुने बताए । उनले बैंक खाता खोल्नका लागि आवश्यक पर्ने नागरिकताको दुरुपयोग हुन सक्ने भन्दै आफ्नो नागरिकताको प्रतिलिपि जोकसैलाई बाँड्न नहुने बताए । उनले कालोधन वा ठगीका घटनामा बैंक खाता दुरुपयोग हुने खतरा औंल्याउँदै भने, ‘आफ्नो खाताको अनधिकृत प्रयोग गर्न नदिने वा स्रोत नखुलेको रकम जम्मा भएका बैंकलाई जानकारी गराउनुपर्छ ।’

प्रकाशित : चैत्र १४, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?