१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रहेनन् जुझारु नेता जोशी

प्रजातन्त्र पुनःस्थापनालगत्तै काठमाडौंको उपप्रमुख भएपछि जोशीले राजनीतिक उचाइ बढाएका थिए । पछिल्लो संसदीय चुनावमा हारे पनि उनी जनताको घरदैलोमा पुगिरहेकै थिए ।
जगदीश्वर पाण्डे

काठमाडौँ — मस्तिष्कघात भई एक महिनादेखि उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

रहेनन् जुझारु नेता जोशी

कांग्रेसमा जुझारु नेताको छवि बनाएका जोशी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । राजधानीमा लोकप्रिय नेतामध्येमा पर्ने उनले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे । २०६४ को पहिलो संविधानसभा निर्वाचन कांग्रेसका लागि प्रतिकूल हुँदा पनि उनी विजयी भएका थिए । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचन पनि उनले जिते । २०७४ को चुनावमा काठमाडौंको निर्वाचन क्षेत्र नं ८ मा उनी एमालेका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतले हारेका थिए ।

चुनाव हारे पनि उनी जनताको घरदैलोमा पुग्ने गरेका थिए । उनले केही समयअघिदेखि कोभिड–१९ सम्बन्धी जनचेतना फैलाउन र जनताको सुखदुःख बुझ्न घरदैलो अभियान चलाएका थिए । २०७३ सालमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार बनेका बेला उनी उद्योगमन्त्री भए ।

उनले राजनीतिमा फड्को भने काठमाडौं महानगरपालिकाको उपप्रमुखबाट मारेका हुन् । प्रजातन्त्र पुनर्बहालीलगत्तैको निर्वाचनमा उपप्रमुख बनेर उनले राजनीतिमा आफ्नो उचाइ बढाएका थिए । राजनीतिमा उनको प्रवेश भने पञ्चायतकालमै भएको थियो । राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट भएको हो । पञ्चायतकालमा प्रजातन्त्रका लागि लड्दा उनी पटक–पटक जेलसमेत परे । उनी संघमा महामन्त्रीसम्म भए ।

दस वर्षअघिदेखि उनी कांग्रेसको केन्द्रीय सदस्य थिए । उनले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारी थालेका थिए । केही समयअघि उनले पत्रकार भेटघाटमार्फत नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी अघि बढाएको बताएका थिए । त्यसपछि उनी कार्यकर्तामाझ निरन्तर सक्रिय हुँदै आएका थिए ।

फागुन १४ गते मस्तिष्कघात हुनु केही घण्टाअघि जोशी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा आयोजित बैठकमा सहभागी थिए । त्यसपछि उनी साथीको घरमा डिनरमा लागि गएका थिए । घर फर्केर सुतेका उनलाई करिब साढे १ बजेतिर मस्तिष्कघात भएपछि तत्काल वीर अस्पताल लगिएको थियो ।

वीरमा भेन्टिलेटर खाली नभएपछि उनलाई नर्भिकमा लगेर उपचार गराइएको हो । उपचारका क्रममा केही दिन उनको अवस्था सुधार भएको थियो । उनी होसमा आएका थिए । शरीर चलाउने र मान्छे चिन्ने भएका थिए । अचेत भएर दोस्रो पटक भेन्टिलेटरमा पुर्‍याएपछि भने जोशी होसमा आउन सकेनन् ।

जोशीको निधनमा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले जोशीको निधनबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा जोशीको निधनले कांग्रेसले इमानदार र निष्ठावान् नेता गुमाएको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले जोशी राजनीतिज्ञ मात्र नभई उच्च सामाजिक भावनाका नेता भएको जनाएका छन् । उनले जोशी आम जनताका ढुकढुकी र लोकप्रिय नेता रहेको बताएका छन् । ‘भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु,’ पौडेलले उल्लेख गरेका छन् । जोशीको निधनलाई कांग्रेसका नेता तथा कार्यकर्ताले पत्याउनै नसकिने घटना भनेका छन् ।

फूर्तिलो र खिरिलो शारीरिक बनोटका जोशीलाई मस्तिष्कघात भएको खबर धेरैले विश्वासै गरेका थिएनन् । उनी केही वर्षदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । जोशीको निधनपछि कांग्रेसले शनिबार बिहान आकस्मिक बैठक बोलाएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बिहान उनकै टोल यात्खामा र दिउँसो १२ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राख्ने तयारी छ । अन्त्येष्टि भने पशुपति वा देवघाट कहाँ गर्ने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित : चैत्र १४, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?