३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तुवाँलोका कारण अन्तर्राष्ट्रिय विमानस्थल १ घन्टा १५ मिनेट बन्द

विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान डाइभर्ट
सुरज कुँवर

काठमाडौँ — धुँवा मिसिएको तुवाँलोका कारण शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घन्टा १५ मिनेट बन्द भएको छ ।

तुवाँलोका कारण अन्तर्राष्ट्रिय विमानस्थल १ घन्टा १५ मिनेट बन्द

विमानस्थलका एक वरिष्ठ एयर ट्राफिक कन्ट्रोलरका अनुसार विमानलाई उड्नका लागि आवश्यक पर्ने दृश्यता (भिजिविलिटी) ५ हजार मिटरबाट घट्दै एक हजार मिटरमा पुगेपछि दिउँसो २ बजेर ५५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म विमानस्थल बन्द गरिएको थियो ।

‘धुँवा मिसिएको तुवाँलोले आकाश धुमिलिएपछि काठमाडौं विमानस्थल बन्द गर्‍यौं,’ ती एयर ट्राफिक कन्ट्रोलरले कान्तिपुरसँग भने । त्यसबेला आन्तरिक उडानमा रहेका ८ वटा जहाज काठमाडौंमा अवतरण हुन नसकेर अन्यत्रै डाइभर्ट भएका थिए ।

पोखराबाट उडेको यतिको जहाज जनकपुर र विराटनगरबाट उडेको त्यही फर्केको थियो । त्यस्तै बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट उडेका तीनवटा जहाज जनकपुर डाइभर्ट भएका थिए । बुद्धकै नेपालगन्जबाट काठमाडौं आउँदै गरेको विमान भैरहवा गएको थियो । चन्द्रगढीबाट काठमाडौंका लागि उडेको सौर्यको सीआरजे विमान चन्द्रगढी नै फर्किएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रताबबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ हङकङबाट आएको क्याथे प्यासिफिकको कार्गो बोकेको वाइडबडी विमान एक घन्टासम्म सिमरामाथिको आकाशमा होल्डमा परेको थियो । काठमाडौंको आकाश सफा नभएपछि क्याथेको विमान दिल्ली हुँदै हङकङ नै डाइभर्ट भएको थियो । काठमाडौंस्थित क्याथेको कार्यालयले उक्त विमान शनिबार मात्रै फर्किने जनाएको छ ।

त्यसैगरी मध्यपूर्वबाट आएको फ्लाई दुबईको विमान पनि काठमाडौंमा अवतरण हुन नसक्ने भएपछि दिल्लीतर्फ डाइर्भट भएको महाप्रबन्धक तिवारीले बताए ।

विमानस्थल बन्द हुँदा बेलुकी ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रियगरी कम्तीमा एक दर्जन उडान डाइभर्ट भए । त्यस्तै समयमै विमानस्थलमा पुगेका यात्रुहरुले २ घन्टासम्म डिले खेप्नु परेको अधिकारीले जनाएका छन् ।

प्रकाशित : चैत्र १३, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?