हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान चैत २० गतेदेखि- समाचार - कान्तिपुर समाचार

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान चैत २० गतेदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही चैत २० गतेदेखि सुरु गरिने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गर्दै हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम यो वर्ष १२ जिल्लामा खुवाइने बताएको छ ।

झापा, धनकुटा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली गरी १२ जिल्लामा आम औषधि सेवन गराइँदैछ ।

अभियानमा ५४०० जना स्वास्थ्यकर्मीहरू तथा ९५०० जना महिला स्वास्थ्य स्व्यंसेविकाहरु परिचालित हुँदैछन् । ७० लाख ४५ हजार जनसंख्या लक्षित गरी १२ जिल्लामा औषधि अभियान सञ्चालन हुन लागेको हो ।

महाशाखाका निर्देशक डा कृष्ण पौडेलले औषधिप्रति गलत धारणाले अभियान पूर्ण रुपले विस्तार गर्न चुनौती भएको बताए । उनले आम औषधि सेवन अभियान र बिरामी नक्सांकन तथा व्यवस्थापनमा १८ करोड ६१ लाख ५० हजार बजेट बिनियोजन गरिएको जानकारी गराए ।

हात्तीपाइले रोग कस्तो हो ?

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउदँछ । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निकी पार्न सकिँदैन ।

हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ? कसले हुँदैन ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ ।

दुई वर्ष उमेर पुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू के छन् ?

यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ । केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिरको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।

प्रकाशित : चैत्र १३, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

एमाले संसदीय दलको बैठक : फागुन २८ पछिका निर्णय फिर्ता नहुने ओलीको अडान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान दोहोर्‍याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने बताएका हुन् । 

एमाले संसदीय दलको बैठकमा सहभागी नेताहरु । तस्बिर : अंगद ढकाल, कान्तिपुर

मुख्य सचेतक विशाल भट्टराईका अनुसार पार्टीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएको पनि प्रधानमन्त्रीले बताएका थिए ।

‘दुई जनाको स्पष्टीकरण आएको छ । त्यो स्पष्टीकरण अत्यन्त नकारात्मक छ, त्यो कारबाहीको भागिदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट आउने अपेक्षा गर्दछु,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भट्टराईले भने ।

बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने,'फागुन २८ गतेको केन्द्रीय समितिका निर्णयहरु र त्यसपछिका चैत ५ र ७ गतेका संसदीय दलको बैठकका निर्णयबाट व्याक्क हुन सकिँदैन । बैठकमा केही साथीहरु अनुपस्थिति हुनुभयो । तर बैठकले विधिसम्मत तरिकाले गरिएको निर्णय फिर्ता हुन सकिँदैन पारित गरेको दलको विधान केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ । यो विधान हाम्रो पार्टी संसदीय दलको विधान हो ।आवश्यक पर्‍यो भने समयक्रममा संशोधन गर्न सकिन्छ, अपरिवर्तन छैन । तर अहिले तलमाथि हुँदैन ।'

बैठकमा सहभागी खनाल-नेपाल समूहका सांसदहरुले एमाले ब्युँतिएपछि पार्टीलाई जेठ २ गते अगाडिको अवस्थामा लगेर एकता कायम राख्नुपर्ने ओली समक्ष सुझाव राखेका थिए । प्रमुख सचेतक भट्टराईले सुनाए, 'माननीयहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले तपाईं ऐतिहासिक बेलामा पार्टी नेतृत्वमा हुनुहुन्छ । दलको नेता हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ । तपाईंले नै पार्टी एकताबद्ध बनाएर लैजाने हो । तपाईंले ठूलो छातीका साथ पार्टीलाई एकताबद्ध बनाउनुस् भनेर सुझाव दिनु भयो ।'

उनका अनुसार प्रधानमन्त्री ओलीले एमालेमा गुट वा समूह नरहेको भन्दै अब गुट/समूहका रुपमा छलफल नगर्ने बताएका थिए । बैठकले अब संसदीय दलको नियमित बैठक नियमित राख्ने, सांसदहरुको क्षमता अभिवृद्धि गराउने, संसद्‍मा उपस्थिति प्रभावकारी बनाउने निर्णय पनि गरेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

त्यस्तै बैठकमा पार्टी सचिवलाय सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट निर्माणको तयारीमा रहेकोले सांसदहरुबाट 'फिडब्याक' मागेका दिए । यसअघिको बैठकमा अनुपस्थित वरिष्ठ नेता झलनाथ खनाल, लगायत खनाल-नेपाल समूहका सांसदहरु सहभागी थिए । तर वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बैठकमा सहभागी भएनन् ।

प्रकाशित : चैत्र १३, २०७७ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×