कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको आकाशमा धुँवा मिसिएको प्रदूषण

पश्चिमी वायुले ल्याएको प्रदूषणमा धुँवाको मात्रा अत्यधिक
लामटाङ निकुञ्जको डढेलोको धुँवा काठमाडौंसम्मै
'वर्षा नभएसम्म यो प्रदूषणको तह घट्दैन'
अब्दुल्लाह मियाँ

काठमाडौँ — काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

काठमाडौंको आकाशमा धुँवा मिसिएको प्रदूषण

केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ ।

सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

गत पुस महिनापछि शुक्रबार फेरि विश्वका ९४ सहरमध्ये काठमाडौं पहिलो प्रदूषित सहर हुन पुगेको छ ।

मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढ्न गएको हो ।

बिहीबार एकैदिन ४७९ स्थानमा डढेलो लागेको थियो । डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले काठमाडौंको वरिपरीका सबै जिल्लामा डढेलो लागेको र पश्चिमबाट बगेको वायुले सोहोरेर काठमाडौं ल्याएकाले प्रदूषण बढेको बताए ।

एकै दिन ४७९ डढेलो : अहिलेसम्मकै सबैभन्दा धेरै

'लामटाङ निकुञ्जमा लागेको डढेलोको धुवाँ काठमाडौंसम्मै आएको देखिन्छ', शुक्रबारदेखि गृह मन्त्रालय मातहतको 'राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यस्थापन प्राविधिकरण'मा डढेलोविज्ञका रुपमा खटिएका शर्माले कान्तिपुरसित भने, 'प्रदूषणमा धुवाँ मिसिएकाले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।'

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले प्रदूषणका कारण भिजिबिलिटीसमेत घटेको जानकारी दिए । 'वर्षा नभएसम्म यो प्रदूषणको तह घट्दैन' उनले भने ।

लामटाङमा सन् २०१२ मा पनि 'क्राउन फायर' भएको थियो । त्यसले काठमाडौंसम्मै प्रदूषण बढाएको थियो । शर्माका अनुसार शुक्रबार पनि ५४ जिल्लाको ४३७ स्थानमा डढेलो लागिरहेको छ ।

काठमाडौंमा केही दिनयता काठमाडौं बाहिर पनि प्रदूषण बढेको छ । केन्द्रका अनुसार धनकुटामा १८१, दमकमा १८४, पोखरामा १५३, हेटौंडामा १०२, महेन्द्रनगरमा १३९, धनगढीमा १३८, विराटनगरमा १०५, नेपालगञ्ज ९७ छ ।

काठमाडौंमा वायु प्रदूषणको मात्रा डब्लूएचओको मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ ।

सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर, काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ ।

पुसपछि शुक्रबार फेरी काठमाडौं विश्वका ९४ सहरमध्ये पहिलो प्रदूषित सहर हुन पुगेको छ ।

सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । केन्द्रका अनुसार शुक्रवार भैंसेपाटीमा पीएम १० को मात्रा ३८० माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । २.५ को हानिकारक कणको २१६ माइक्रोग्राम पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ ।

‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

वायु प्रदूषणको जोखिमबाट यसरी जोगिऔं

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । ‘साना कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छन्,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाा, इाटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धुवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

प्रकाशित : चैत्र १३, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?