थारू मोर्चाको वार्ता टोली गठन

‘सरकारमा जाने सिँढी नबनाइयोस्’
मोहन बुढाऐर

धनगढी — थारुवान/थारुहट मोर्चाले टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न वार्ता टोली गठन गरेको छ।

थारू मोर्चाको वार्ता टोली गठन

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले कैलालीको हसुलियामा पत्रकार सम्मेलन गरी कारागारमा रहेका रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएका छन् । वार्ता टोलीका ६ सदस्यीय टोलीमा टीकापुरबाट लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् । उनीहरु सबै अदालतबाट टीकापुर घटनामा दोषी करार ठहर गरिएकामा पर्छन् ।

‘सरकार थारुसँग वार्ता गर्न इच्छुक देखिएकोले वार्ता टोली गठन गरेका छौं,’ मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘वार्ता जेलभित्र होइन । संयोजक रेशम चौधरीलाई बाहिर ल्याएर सरकारले वार्ता टोलीसँग वार्ता गर्न तयार हुनुपर्‍यो ।’ उनले थारुका १४ बुँदे राजनीतिक मुद्दाहरुलाई अहिलेको वार्तामा थाती राखेर टीकापुर घटनाका झुटा मुद्दा खारेजी र जेलमा रहेकालाई रिहाइका विषयमा मात्रै वार्ता गर्न तयार भएको बताए । वार्ता टोलीको गठनसँगै शुक्रबार बसेको मोर्चाको बैठकले चैत २० गते भित्रमा सामूहिक रुपमा सर्वाेच्च अदालतमा न्याय प्राप्तिका लागि जाने निर्णय गरेको उनले बताए ।

टीकापुर घटनामा रेशम चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन् । लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ ।

‘जिल्ला अदालतबाट पनि पूर्ण न्याय नपाएको अवस्थामा उच्च अदालतबाट नस्लियत गरिएको अन्यायपूर्ण फैसला गर्‍यो,’ उनले भने,‘यसका विरुद्ध सामूहिक रुपमा सर्वाेच्व अदालतमा जाने निर्णय गरेका छौं ।’ बैठकले जेल सजाय भोगिरहेका टिकापुरका दोषी करार ठहर भएकोको रिहाइ र झुटा मुद्दा फिर्ताको प्रक्रियालाई अघि बढाउन खोजिएन भने एक महिनाको सरकारलाई ‘अल्टिमेटम’पनि दिएको छ ।

‘हामी वार्ताको, न्यायको र दबाबको माध्यमबाट टीकापुर विद्रोहबाट उत्पन्न समस्याको समाधान खोजीरहेका छौं,’ उनले भने, ‘तर सरकार गम्भीर हुँदैन भने यसको परिणाम सरकारले भोग्नुपर्छ भन्दै एक महिनाको समय दिएका छौं ।’ उनले टीकापुर घटनाका मुद्दा फिर्ता नहुन्जेल सबै आन्दोलनलाई जारी राखिने बताए ।

‘सरकारमा जाने सिँढी नबनाइयोस्’

टीकापुर आन्दोलनबाट उत्पन्न समस्या समाधानको दृष्टिकोणबाट सबै राजनीतिक दलले आ–आफनो स्तरबाट पहल मात्रै गरिदिन अनुरोध गर्दै मोर्चाका संयोजक थारुले टीकापुरका घटनाको विषयलाई सरकारमा जाने सिँढी मात्रै नबनाउन भने । ‘जेलमा रहेका रेशमसहित अन्यको रिहाइ र झुटा मुद्दा फिर्ताको मागमा अहिले कांग्रेस, जसपा, माओवादी सबै दलबाट पहल होस् भन्ने चाहना हो,’ उनले भने, ‘तर कुनै पनि दलले यसलाई सरकारमा जाने सिँढी मात्रै नबनाइयोस् भन्ने हाम्रो चाहना हो ।’

उनले नयाँ सरकार, पुरानै सरकार बनाउने विषयमा आफूहरुका मुद्दा नजोडिदिन आग्रह गरे । ‘सरकार बन्दै गर्छ । ढल्दै गर्छ,’ उनले थपे, ‘यसलाई मुख्य मुद्दा बनाएर सरकारको सिँढी चढ्ने र लेनदेनको विषय बनाउने काम मात्रै नहोस् ।’

कैलालीको हसुलियामा टीकापुर घटनामा दोषी करार ठहर गरिएका लक्ष्मण थारुसहित उनको परिवारजन  । तस्बिर : मोहन बुढाऐर/कान्तिपुर

प्रकाशित : चैत्र १३, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?