१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बझाङका भूगोलविद्को नाममा अमेरिकी विश्वविद्यालयमा कार्यालय

वसन्तप्रताप सिंह

बझाङ — बझाङको दुर्गम गाउँमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएका भूगोलविद् तुलसीराम जोशी र उनकी पत्नी मर्लिनको सम्मानमा त्यहाँस्थित फेयरमोन्ट राज्य विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेको छ । 

बझाङका भूगोलविद्को नाममा अमेरिकी विश्वविद्यालयमा कार्यालय

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक केन्द्रका रूपमा स्थापित कार्यालयलाई ‘तुलसी र मार्लिन जोशी’ नाम दिइएको फेयरमोन्ट राज्य विश्वविद्यालय र फेयरमोन्ट राज्य कोषद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जोशी दम्पतीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन आर्थिक सहयोग गरेबापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ ।

जोशी परिवारको सहयोगले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न सघाउ पुग्ने विश्वविद्यालयकी अध्यक्ष मिर्टा एम मार्टिनले बताएकी छन् । ‘तुलसी र मर्लिनले क्याम्पसमा अन्तर्राष्ट्रिय विद्यार्थीको उपस्थिति हुनु कत्तिको महत्त्वपूर्ण हो भनेर बुझ्दछन्,’ उनले भनिन्, ‘फेयरमोन्ट राज्य युनिभर्सिटीमा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाम्रो फाल्कन परिवार र हेरचाह गर्ने संकायबाट फाइदा लिनेछन् ।’

न्यून आयस्रोत भएका मुलुकका विद्यार्थीले पनि विश्वव्यापी प्रतिस्पर्धा गर्न सकून् भनेर आफूहरूले सहयोग गरेको जोशीले बताए । ‘हाम्रो सहयोगलाई हाम्रै नामबाट विश्वविद्यालयले सम्मानित गरेकोमा धेरै खुसी लागेको छ,’ उनले भने ।

जोशी बझाङको छबिसपाथीभेरा गाउँपालिका ४ ब्यासीको तामाखानीमा जन्मिएका हुन् । उनी २०१३ सालमा बझाङकै सत्यवादी स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए । त्यसपछि उनले अमेरिकाकै विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका छन् । यसअघि उनले अमेरिकी राष्ट्रपतिबाट प्रेसिडेन्ट भोलेन्टियर पदक र स्टेट गभर्नमेन्ट पदकसमेत पाइसकेका छन् ।

उनले नेपालमा पनि विभिन्न विद्यालयलाई १ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गरेका छन् । जोशीले बझाङका ३ र कैलालीका २ गरी ५ विद्यालयलाई सहयोग गरेका हुन् ।

प्रकाशित : चैत्र १३, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?