तंग्रिँदै दोभान बजार

दुःखजिलो गरेर घर बनाउँदै पीडित, अस्थायी टहरामा व्यापार व्यवसाय सुरू
आनन्द गौतम

दोभान, ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ दोभानका लोकेन्द्र अधिकारीले फागुन १८ को आगलागीमा ३ करोड ५० लाख रुपैयाँ क्षति बेहोरे । उनको १७ लाख त नगदै जलेको थियो भने किराना र कोल्डसेन्टर पनि आगोले बाँकी राखेन । तीनवटा घरमा सामान गोदाम गरेका उनको सबैभन्दा बढी चामल जल्यो ।

तंग्रिँदै दोभान बजार

तिनै अधिकारीले अहिले अस्थायी टहरो बनाएर फेरि व्यवसाय सुरु गरेका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य सामान राखेर व्यवसाय सुरु गरेको उनले बताए । ‘दुई/चार बोरा चामल, नुन, तेल, एक/दुई कार्टुन चाउचाउ बिक्री हुन्छ,’ लोकेन्द्रले भने । उनले पुरानो ठाउँमा नभई बन्धकी लगाएको जमिनमा अस्थायी संरचना बनाएर व्यापार सुरु गरेका हुन् । ‘दुई/तीन दिन त पाल ओढाएर पनि चलाएँ,’ अधिकारीले भने, ‘अब जस्तापाता लगाइसकेर अलिक ढुक्क भयो ।’

किराना सामान, ग्यास, डिजेल, पेट्रोल, ट्र्याक्टरका स्पेयर पार्ट्सलगायतका सामग्री जल्दा ५० लाख रुपैयाँ बराबरको क्षति बेहोरेका राजेन्द्र पौडेलले पनि व्यवसाय सुरु गरेका छन् । नजिकैबाट उठेको आगोले पसल भेटेपछि नगद पैसासमेत निकाल्न नपाएका उनको पसलमा रहेको ४ लाख रुपैयाँ जलेको थियो । यहाँका अर्का व्यापारी टंक खतिवडाले पनि व्यवसाय सुरु गरेका छन् । मनी ट्रान्सफर चलाउने उनले जलेको ठाउँबाट पूर्वतर्फ सारेर व्यवसाय सुरु गरेका हुन् । आगलागीका बेला तल्लो तलामा रहेको नगद पैसा भने उनले निकालेका थिए । माथिल्लो तलामा रहेको ५ लाख ८० हजार रुपैयाँ जलेको टंक बताउँछन् ।

आफ्नै पसलसँग जोडिएको भोला पौडेलको घरबाट सुरु भएको आगलागीमा तल्लो तलामा रहेको नगद पैसा भने उनले निकालेका थिए । ‘मेरो पसलभन्दा नजिकैबाट आगो लाग्न सुरु भयो, नानीहरू खोज्न थालें, माथिल्लो तलामा जाने अवस्थै भएन,’ उनले भने, ‘अरूको तुलनामा मेरो नगद कमै जलेछ ।’

बाहिरबाट आएको पैसा लिन सदरमुकाम फुङलिङ नै धाउनुपर्ने भएपछि कोठा खोजेर काम सुरु गरेको टंक बताउँछन् । नेपाल टेलिकमको टावर जलेपछि इन्टरनेट पनि नभएकाले व्यवसाय निकै दुःखले चलाइरहेको उनले सुनाए । ‘सदरमुकाममा साथीलाई राखेर फोनबाट नम्बर टिपाएर इन्ट्री गराउँदै कारोबार गरिरहेको छु,’ उनले भने, ‘अहिले त व्यवसायभन्दा पनि सुविधा मात्रै दिइएको छ ।’ कमाइभन्दा खर्च बढी भइरहेको खतिवडा बताउँछन् ।

जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र अन्यत्र विस्तार हुने जोखिमले पनि यहाँ व्यवसाय सुरु भएको हो । ‘अहिले त मान्छेले ट्याक्सीको छतमा राखेर सदरमुकामबाटै सामान लगिरहेको देखेको छु,’ लोकेन्द्रले भने, ‘गाउँका पसलमा पनि बाहिरबाट सामान आउन थालेको छ ।’

गाउँका पसलले अन्यत्रबाट सामान ल्याएर व्यवस्थित भए यहाँको व्यापारिक केन्द्र जोखिममा पर्ने बुझाइ उनीहरूको छ । फेरि व्यापार स्थापना गर्न नसके गाउँमा दिएको उधारो उठाउन झन् चुनौती हुने भएकाले उनीहरू सकीनसकी व्यवसाय पुनःस्थापना गर्न थालेका हुन् । यहाँको बजारले मैवाखोला, मेरिङदेन, मिक्वाखोला र आठराई त्रिवेणी गाउँपालिका धानेको थियो ।

स्थानीय व्यापारीले गोदाम गरेको खाद्यान्न सबै खरानी भएको व्यापारी दीपक धिताल बताउँछन् । गाउँपालिकाको तथ्यांकअनुसार ४१ हजार १ सय ७५ किलो चामल मात्रै जलेको थियो । आगलागीमा दोभान बजारको मुख्य व्यापारिक केन्द्रका ५० वटा घर पनि नष्ट भए । ६२ परिवार विस्थापित भएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे अधिकांशले घर बनाउन थालेको बताउँछन् । ‘सडक फराकिलो बनाउने र ठाउँ–ठाउँबाट सडक निकाल्ने सहमति भयो,’ आङदेम्बेले भने, ‘पक्की पिल्लर र पहिलो तलामा इँटा अनिवार्य गरेका छौं, त्यहीअनुसार निर्माण हुन्छ ।’

पहिलाको जस्तो काठ र जस्तापाताको मात्रै नबन्ने उनको भनाइ छ । जग्गाधनीले पनि भाडामा व्यवसाय गरेर बसेकालाई विस्थापित नगराउने बताएका छन् । ‘मेरो जग्गामा जति बस्नुभएको थियो, सबैलाई बस्नुहोस्, व्यवसाय गर्नुहोस् भनेको छु । कसैलाई पनि विस्थापित गराउँदिनँ,’ स्थानीय जग्गाधनी भीम लंवाले भने । यहाँ जलेका ५० घर आठ जनाको जग्गामा रहेको गाउँपालिकाको तथ्यांक छ ।

प्रकाशित : चैत्र १३, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?