२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निर्माणाधीन सडकमा गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

सन्तोष सिंह

धनुषा — महोत्तरीको पीपराबाट अपहरित दम्पतीको शव निर्माणाधीन सडकमा गाडिएको अवस्थामा फेला परेको छ ।

निर्माणाधीन सडकमा गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

फागुन ११ गते राति पिपरा गाउँपालिका–५ सहोडकाबाट अपहरित ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवीको शव ३२ दिन पछि निर्माणाधीन सडकमा पुरिएको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । मृतक मुसाफिरले लगाएको हरियो बुट्टा भएको टिसर्ट र गीताले लगाएको मंगलसुत्र (पोते) र चुराबाट परिवारले शव पहिचान गरेको प्रहरीले जनाएको छ ।

पिरपरा गाउँपालिकाको–२ स्थित अतरा जानेबाटोमा बिहीबार दुवै जनाको शव फेला परेको हो । पीपरा बजारबाट अतरा जाने सडकखण्डमा बाढीले बगाएको सडकमा बनाइएको डाइभर्सनमा गाडिएको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालयबाट घटना अनुसन्धानका लागि खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

'मुसाफिरको शव बोरामा राखेर र गीताको शव त्यत्तिकै गाडिएको थियो,' प्रहरी नायब उपरीक्षक महतोले भने,‘शव चाँडै गलाउन भनेर शवसँगै नुन पनि राखिएको थियो ।’ निर्माणाधीन सडकमा १० दिनभित्रै शव गाडिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

सडक निर्माण अन्तर्गत दोश्रो चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुवै जनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो । झा दाम्पती अपहरण गरेको आरोपमा छिमेकसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।

प्रहरीले पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भइ हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचारहरु :

प्रकाशित : चैत्र १२, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?