२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

टीकापुर घटनाबारे छिट्टै वार्ता टोली गठन गर्छौं : गृहमन्त्री थापा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन् ।

टीकापुर घटनाबारे छिट्टै वार्ता टोली गठन गर्छौं : गृहमन्त्री थापा

केही दिनदेखि थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंले संयुक्त रुपमा माइतीघरमा जारी राखेको धर्ना कार्यक्रमै उपस्थित भएर गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले बिहीबार नै टोली बनाउने जानकारी गराए । 'समस्याहरु छिट्टै संवाद र वार्ताबाट हल गर्ने भन्ने हो । आजै क्याबिनेटमा कुरा राखी वार्ता टोली गठन गरी यसलाई निष्कर्षमा लगेर हल गरिनेछ,' उनले भने ।

गृहमन्त्री थापाले आन्दोलनरत पक्षलाई धर्ना रोकेर वार्ता टोली गठन गर्न पनि आग्रह गरे । उनले भने, 'लामो समयदेखिका समस्याका रुपमा रहेका कैलालीका समस्या सरकारको वार्ता टोलीमार्फत निष्कर्षमा लगिनेछ । तपाईंहरुको आन्दोलनलाई नै वार्ताकै रुपमा लैजान सकिन्छ । त्यसको लागि तपाईंहरु वार्ता टोली गठन गर्नतिर लाग्नुस् ।'

उनले दुवै पक्षको वार्ता टोली बसेर समस्याको समाधान गरिने बताए । उनले समस्याहरु राजनीतिक, कानुनी रुपले वा प्रशासनिक रुपले हल गरिने पनि बताए ।

आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने जस्ता १९ बुँदे माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेका छन् ।

गत पुस पहिलो साता टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । चौधरी अहिले जेलमा छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित : चैत्र १२, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?