कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्कनेमा संक्रमित पनि

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा दुई दिनमा १४ जनामा कोरोना पुष्टि
अर्जुन शाह, भवानी भट्ट

कैलाली, कञ्‍चनपुर — भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् ।

भारतबाट फर्कनेमा संक्रमित पनि

स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिरै लागेका थिए । अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परेका छन् ।’ उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनै लक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । ‘बुधबार १ सय २८ जनाको परीक्षण गरेका थियौं,’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’

यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी ३४ नम्बर गणका एसपी दीपेन्द्र कुँवरले बुधबार यो संख्या एक हजार नाघेको दाबी गरे । अहिले भारतको दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत मुख्य सहरमा संक्रमण फेरि व्यापक फैलिएको छ । ती सहरहरूमा धेरैको संख्यामा नेपालीहरू कार्यरत छन् । धेरै संक्रमित थपिन थालेपछि अत्यधिक त्रास फैलिएकाले आफू घर फर्किएको गौरीफन्टा नाकामा भेटिएका बझाङका दिलबहादुर रोकायाले बताए । ‘गुजरातबाट आएको हुँ, पोहोरकै जस्तो कोरोना फैलिन थालेपछि घर फर्किएका हौं,’ रोकायाले भने, ‘गाउँका अरू पनि फर्कने तयारीमा छन् ।’

जोखिम बढेसँगै संक्रमितलाई राख्न क्वारेन्टाइन र आइसोलेसन राख्ने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि धनगढीमा ५० शय्याको अस्पताल निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख धामीले जानकारी दिए ।

यसैबीच, कैलाली प्रशासनले संक्रमणको जोखिमलाई ख्याल गर्दै भीडभाड नगर्न बुधबार सबैलाई आग्रह गरेको छ । प्रशासनले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन रोक लगाएको छ । आदेशको अबज्ञा गरे कारबाही हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

महेन्द्रनगरको बसपार्क क्षेत्रमा होटल व्यवसाय गर्ने एक जनामा बुधबार एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखियो । उनको होटेलमा भारतबाट घर फर्किनेहरू बस्दै आएका छन् । उनीहरूबाटै संक्रमण भएको अनुमान गरिएको छ । गड्डाचौकी नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट घर फर्किँदै तस्बिर : भवानी भट्ट/कान्तिपुर

कञ्चनपुरको गड्डाचौकी नाकामा यसअघि पनि भारतबाट घर फर्किने ४ जनामा संक्रमण देखिएको छ । उनीहरूलाई होम आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘जोखिम बढी भएका स्थानबाट आएकाको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘खास गरी महाराष्ट्र, गुजरात, दिल्ली र पन्जाबबाट आउने तथा शंकास्पद व्यक्तिको परीक्षण भइरहेको छ ।’ उनले गड्डाचौकी नाकाबाट फर्किने सबैको स्वास्थ्य परीक्षण भइरहेको बताए ।

कञ्चनपुरमा हालसम्म १६ हजार ४४२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७११ जनामा संक्रमण देखिएको छ । यसैगरी १ हजार ८० जनामा एन्टिजिन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको छ, जसमध्ये ५ जनाको गड्डाचौकी नाकामा परीक्षण गरिएको हो ।

कञ्चनपुरका गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक १ हजार हाराहारीमा भारतबाट घर फर्किरहेका छन् । सीमावर्ती बजारतर्फ जानेको संख्या पनि बढी नै छ । नाकामा आवागमन केही सहज भएपछि सीमावर्ती बजारसम्म किनमेलका लागि जानेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट मंगलबार रातिदेखि भारतबाट फर्किनका लागि बिहान ६ देखि साँझ ८ बजेसम्मको समय निर्धारण गरेको छ ।

‘भारतमा संक्रमण दर वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गरी केही कडाइ गर्न खोजिएको हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘संक्रमण बढी भएका क्षेत्रबाट आएका र लक्षण देखिएकाको एन्टिजिन परीक्षण भइरहेको छ ।’ कोभिड १९ संकट व्यवस्थापन समितिले पनि सभासमारोह तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ । ‘सर्वसाधारणलाई राति १० देखि ४ बजेसम्म हिँडडुल गर्न रोक लगाएका छौं,’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘होली पर्व तथा पूर्णागिरि मेलामा समेत भीडभाड नगर्न सचेत गराएका छौं ।’

प्रकाशित : चैत्र १२, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?