कोरोना संक्रमण नियन्त्रणमा सुस्त तयारी

प्रदेश २ मा केही महिनादेखि शून्यमा झरेको संक्रमितको संख्या दैनिक थपिए पनि मुख्य नाकामा कडाइ नहुँदा संक्रमण फैलिने जोखिम
प्रदेश ब्युरो

काठमाडौँ — भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि नेपालका सीमावर्ती र अन्य जिल्लामा संक्रमण रोकथामको तयारी थालिएको छ । जनशक्ति अभाव र ठोस योजना नहुँदा तयारी सुस्त छ भने कतिपय जिल्लामा काम नै अघि बढ्न सकेको छैन ।

कोरोना संक्रमण नियन्त्रणमा सुस्त तयारी

बारा र पर्सामा सोमबार १० जनामा संक्रमण पुष्टि भयो । तीमध्ये एक जना भारतको मुम्बईबाट फर्किएका छन् । प्रदेश २ मा केही महिनादेखि शून्यमा झरेको संक्रमितको संख्या दिनदिनै थपिन थाले पनि मुख्य नाका वीरगन्जमा कडाइ नहुँदा संक्रमण फैलिने जोखिम बढेको छ । यो नाका भएर भारतबाट दैनिक ८ देखि १० हजारसम्म सर्वसाधारण निर्बाध नेपाल प्रवेश गरिरहेका छन् तर जनशक्ति अभाव र प्रहरीको असहयोगका कारण काम गर्न अप्ठेरो भएको हेल्थ डेस्कका कर्मचारी बताउँछन् ।

वीरगन्ज महानगरपालिकाबाट खटिएका हेल्थ असिस्टेन्ट महम्मद सैनुल्लाह र मिथिलेश यादव बिहान ६ देखि साँझ ६ बजेसम्म पालैपालो डेस्कमा खटिएका छन् । ‘थर्मोमिटर, सेनिटाइजर, मास्क, पीपीई सुविधा भए पनि भारतबाट भित्रिनेलाई रोक्न र ज्वरो नाप्नसमेत जनशक्ति अभाव छ,’ यादवले भने । छेउमै रहेको इनर्वा प्रहरी चौकीका प्रहरीले समेत भारतबाट भित्रिने यात्रुवाहक सवारी साधन रोक्न सहयोग नगरेको उनीहरूको गुनासो छ । ‘हामी एक वर्षदेखि निरन्तर खटिएका छौं, सरकारले केही सुविधा दिएन,’ सैनुल्लाहले भने, ‘अरू त छाडौं, जोखिम भत्तासमेत पाएका छैनौं ।’ भारतबाट टाँगा र सुमोमा उत्तरप्रदेश, पश्चिम बंगाल क्षेत्रका यात्रु आउँदा बढी जोखिम हुने गरेको छ । दैनिक करिब ५० जनाको मात्र जाँच गर्न सकेको उनले बताए ।

सीमा प्रहरीचौकी इनर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक पुण्यप्रसाद दाहालले आफ्नो क्षमता र जनशक्तिले भ्याएसम्म हेल्थ डेस्कका कर्मचारीलाई सहयोग गरेको दाबी गरे । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सीमामा कडाइ सुरु गरिएको बताए । मंगलबार सम्पन्न जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले भारतबाट आउनेलाई जाँच र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको उनले जानकारी दिए ।

सप्तरीको सीमामा भने कुनै सतर्कता अपनाइएको छैन । नेपाल–भारत सीमानाका सप्तरीको कुनौलीमा हेल्थ डेस्क राखिएको छैन । साना नाकाबाट निर्बाध आउजाउ भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले डेस्क राख्ने तयारी भएको बताए । मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी गरिए पनि जिल्लाका अन्य ६ वटा नाका भएर दैनिक सयौंको आवतजावत हुँदै आएको छ । संक्रमण बढ्ने जोखिम र व्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालय धनुषाले पनि छलफल थालेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । ‘प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रलायलाई आग्रह गरी प्रदेशका ८ वटै जिल्लामा एउटै नीति ल्याउन आग्रह गरेको छु,’ उनले भने, ‘जिल्ला तहमा सरकारी कार्यालयलाई भीडभाड हुने गरी कार्यक्रम गर्न रोकिएको छ । सुरक्षा बैठकमा समेत कोरोना नियन्त्रणबारे छलफल भएको छ ।’

सर्लाही सदरमुकाम मलंगवाबाट भारत जाने मुख्य नाकाअन्तर्गत गोरखकाली प्रहरीचौकीदेखि भन्सार हुँदै सीमासम्म सुनसान छ । तर चौकीभन्दा पश्चिम–दक्षिणको चोरबाटो हुँदै दैनिक हजारौं मानिसको लस्कर वारपार भइरहेको छ । चोरबाटो भएर आउनेको तथ्यांकसमेत राख्ने गरिएको छैन । मुख्य बाटामै घर भएका नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सीमा नजिकबाट चोरबाटो भएर सहजै वारपार भइरहेको बताए । दैनिक उपभोग्य सामान खरिद गर्न पनि स्थानीय भारतको सोनबर्सा तथा बसबिट्टा बजार जाने गरेका छन् । मलंगवा नगरपालिका–९ का सुरेन्द्र रायले दैनिक उपभोग्य सामग्री खरिद गर्न भारत जाने र होलीमा भारतबाट फिर्नेको भीड बढेको बताए । ‘यसलाई व्यवस्थित गर्न जरुरी छ, नभए कोरोना पुनः पुरानै अवस्थामा फर्किन सक्छ,’ उनले भने ।

सिरहाका मुख्य नाका माडर, ठाडी र बरियारपट्टीमा कडाइ गरिए पनि अन्य स्थानबाट लुकीछिपी आउजाउ चलिरहेको छ । सवारीसहित आउजाउमा रोक लगाइए पनि लुकीछिपी नाका वारपार गर्ने क्रम बढिरहेको ठाडीका कन्हैया भट्टले बताए । कोरोना कहरका बेला स्थानीय प्रशासनले सीमा नाकामा ८ वटा हेल्थ डेस्क सञ्चालन गरेको थियो । अहिले डेस्क सञ्चालनमा छैन ।

५ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको सशस्त्र प्रहरी सिरहाका डीएसपी योगराज दाहालले जानकारी दिए । दैनिक हजार हाराहारी संख्यामा यात्रु आउजाउ गर्ने पूर्वी नाकामा सुरक्षाकर्मीले थर्मलगनका भरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् । नाकामै रहेको मेचीनगर नगरपालिकाको हेल्थ डेस्कले भने स्वास्थ्य जाँच गरेको देखिएको छैन । झापाको कोभिड विपद व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले भारतबाट प्रवेश गर्नेको अनिवार्य स्वास्थ्य परीक्षण र अभिलेख राख्न सुरक्षा निकायलाई निर्देशन गरेको छ ।

ट्राभल एजेन्ट संघ झापाका अध्यक्ष नेत्र कार्कीले नाका खुल्ला भन्दाभन्दै पुनः कडाइ हुने कुराले व्यवसायी सशंकित बन्न थालेको बताए । उनले भने, ‘बिस्तारै व्यवसायले लय समात्दै थियो, फेरि नाका बन्द गरिने कुराले चिन्तित बनाएको छ ।’

क्वारेन्टाइन निर्माणको सुरसार

संघीय सरकारको निर्देशनबमोजिम कर्णाली प्रदेश सरकारले क्वारेन्टाइन निर्माणको तयारी थालेको छ । कर्णालीमा ८ सय ९१ स्थानमा ४१ हजार ९ सय ५६ बेडका क्वारेन्टाइन निर्माण गरिएको थियो, जसमध्ये कात्तिक पहिलो साता १५ स्थानमा सञ्चालनमा रहेका ठूलो क्षमताका ४० हजार ५० बेड क्वारेन्टाइन हटाइएको थियो । अहिले ७६ स्थानमा १ हजार ९ सय ६ बेडका क्वारेन्टाइन बाँकी रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसन पुनःस्थापना गर्ने गरी आवश्यक तयारी थालिएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

‘हामीले त कोरोनाको जोखिम कम भयो भन्ने ठानेका थियौं,’ उनले भने, ‘तर फेरि दोस्रो चरणमा कोरोना संक्रमण तीव्र हुन थालेपछि आवश्यक तयारीबारे विज्ञहरूसँग छलफल भइरहेको छ ।’ गत वर्ष वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका ४ सय बेडका क्वारेन्टाइन गत कात्तिकमा हटाइएको थियो । गत वर्ष ७९ वटै स्थानीय तहलाई १३ करोड २० लाख रुपैयाँ क्वारेन्टाइन निर्माणका लागि निकासा दिइएको मन्त्रालयको आर्थिक प्रशासन शाखाका जवानसिंह रावलले बताए । उनका अनुसार १० वटै जिल्ला विपद व्यवस्थापन समितिलाई ५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

डोल्पाका ५ स्थानमा ४९, मुगुका ६ स्थानमा १ सय ४५, हुम्लाका ३८ स्थानमा ९८ र जुम्लाका ११ स्थानमा ३ सय १० बेडका क्वारेन्टाइन नहटाइएको निर्देशनालयले जनाएको छ । त्यस्तै, कालिकोटमा ७ स्थानमा ५ सय, दैलेखमा ८ स्थानमा ७ सय ७९ र रुकुम पश्चिमको एक स्थानमा १५ बेडका क्वारेन्टाइन चालु रहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर भीडभाड हुने गतिविधि नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सीमा नाकाबाट कर्णाली प्रवेश गर्ने व्यक्तिको अनिवार्य अभिलेख राख्ने र मास्क नलगाएर सार्वजनिक स्थलमा हिँडडुल गर्नेलाई पनि कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले पनि नाकामा निगरानी बढाएको जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले सुर्खेतमा नियमित पीसीआर परीक्षण भइरहेको बताए । सोमबार र मंगलबार फेला परेका ६ संक्रमितमध्ये एक जना भारतबाट आएका हुन् ।

यस्तै, पहिले सञ्चालनमा रहेको क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न गोरखा प्रशासनले स्थानीय तह, अस्पताल र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार ७५ बेड क्षमताको आइसोलेसन तयारी अवस्थामा छ । विभिन्न पालिकामा रहेका ७४ बेड क्षमताका क्वारेन्टाइन प्रयोग गर्न मिल्ने स्वास्थ्य कार्यालय कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । यसअघि सञ्चालनमा रहेका ७४ बेडका क्वारेन्टाइनमा सामग्री भण्डारण गरिएको छ ।

समुदायमा होली खेल्न रोक

यस वर्ष समुदायमा भीडभाड गरेर होली पर्व नमनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । संक्रमण समुदायस्तरमा फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको उनले बताए ।

होलीलाई मध्यनजर गर्दै प्रदेश १ को राजधानी विराटनगरलगायत मोरङ जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पार्दै लगिएको छ । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले होली पर्वका अवसरमा हुने भीडभाड नियन्त्रणका लागि जिल्लाभरि सुरक्षा व्यवस्था कडा पारिएको बताए । कोरोना फैलिन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबर्जस्ती र इच्छाविपरीत लोला हान्ने, रङ दल्ने तथा अन्य गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने खड्काले बताए ।

-शंकर आचार्य (पर्सा), सन्तोष सिंह (धनुषा), ओमप्रकाश ठाकुर (सर्लाही), अवधेशकुमार झा (सप्तरी), भरत जर्घामगर (सिरहा), देवनारायण साह (मोरङ), पर्वत पोर्तेल (काँकडभिट्टा), चाँदनी कठायत (वीरेन्द्रनगर) र हरिराम उप्रेती (गोरखा)

प्रकाशित : चैत्र १२, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?