कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ भेरियन्टका कारण संक्रमित बढेको हुनसक्छ : विज्ञ

स्वरूप आचार्य

काठमाडौँ — सीमावर्ती भारतीय राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै नेपाल सरकारले पुनः सतर्कता अप्नाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । विगत एक सातायता नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि देखिएको छ ।

नयाँ भेरियन्टका कारण संक्रमित बढेको हुनसक्छ : विज्ञ

नेपालमा पनि अझ विशेष गरेर काठमाडौं उपत्यकामै विगत एक सातायता संक्रमितहरुको संख्या उकालो लाग्न थालेको छ । यस्तै संक्रमितहरुको संख्या बढ्नुको कारण कुनै नयाँ भेरियन्टले गर्दा पनि हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् ।

जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारीका अनुसार भाइरसलाई फैलनका लागि सयम र स्थान दिएको खण्डमा अनुवांशिक गुण परिवर्तन गरेर फैलिन थाल्छ । ‘मलाई लाग्छ भारतमा पनि फैलिनुको कारण सम्भवतः नयाँ भेरियन्टकै कारण पनि हुनसक्छ,’ उनले भने, ‘हामी कहाँ पनि त्यही हुनसक्छ । त्यसैले सतर्कता त अपनाउनैपर्छ ।’

नेपालमा भेटिएको कोरोना भाइरसको सुरुमा गरिएको जिनोम सिक्वेन्सिङमा पनि सो भाइरसमा थोरै भए पनि केही अनुवांशिक परिवर्तन देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा देखिएको थियो । पछिल्लो समय बेलायती भेरियन्ट भेटिएपछि काठमाडौं विश्वविद्यालयमा गरिएको जिनोम सिक्वेन्सिङमा पनि भाइरसमा अनुवांशिक परिवर्तन देखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार सरकारले नयाँ भेरियन्टका बारेमा अध्ययन गर्नका लागि एउटा समूह बनाएर जिम्मा दिए पनि केही ठोस काम अगाडि बढेको भने छैन । 'मन्त्रालयको सम्पूर्ण ध्यान पछिल्लो समय खोप प्राप्त गर्नेतर्फ मात्रै केन्द्रित भयो । अरु प्राविधिक विषयमा खासै ध्यान दिएको छैन,' उनले भने, 'नयाँ भेरियन्टका बारे जान्न जिनोम सिक्वेन्सिङको अध्ययन गर्न जरुरी छ । त्यो हुनुपर्छ ।'

गत मंगलबार ३ हजार ३ सय ३१ नमूना परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको थियो । ७९ जनामध्ये काठमाडौंमा २७, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण भएकोमा १ सय ५० जनामा संक्रमण देखिएको थियो भने ३ जनाको मृत्युसमेत भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणले देखाउँछ । मंगलबार भने कुल ४ हजार ३२ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयको तथ्यांक हेर्दा उपत्यका र पोखरमा संक्रमितको संख्या बढिरहेको देखिन्छ ।

‘सरकारले जे गल्ती पहिला गरेको त्यही गल्ति फेरि पनि दाहोर्‍याउनु हुँदैन,’ डा. भण्डारीले भने, ‘समय छँदै परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई बढाउनुपर्छ । त्यसका साथै क्वारेन्टाइन र आइसोलेसनमा पनि ध्यान दिनुपर्छ ।’

जनस्वास्थ्यविद् डा. दिनेश न्यौपाने भारतमा संक्रमितको संख्या बढ्दा नेपालमा पनि बढ्ने र त्यहाँ घट्दा घट्ने ट्रेण्ड पहिला पनि देखिएकोले पनि उच्च सतर्कता अपनाउनुपर्ने बताउँछन् । ‘केही समययता खोप आएको भन्दै भारत तथा नेपालमा पनि मानिसहरुले कोरोनाबाट बच्ने व्यक्तिगत उपायहरुको अवलम्बन नगरेकोले पनि संक्रमितको संख्यामा फेरि वृद्धि भएको हुनसक्छ,’ उनले भने, ‘विगत केही समययता सबै स्थानमा अनियन्त्रित भीडभाड बढेको छ र मानिसहरुले सामाजिक दूरी र मास्कको प्रयोगको पनि बेवास्ता गरेका छन् ।’ उनले नयाँ भेरियन्टका कारण पनि संक्रमण फैलन थालेको आशंका पनि व्यक्त गरे ।

संक्रमितहरुको संख्या बढ्न थालेसँगै सरकारले जनस्वास्थ्य सतर्कता अपनाउन र सचेत रहन आग्रह गरिरहेको छ । भारतसँगको केही सीमामा आवतजावतलाई व्यवस्थित पनि गर्न खोजे पनि भित्रिने तथा बाहिरिनेको यकिन तथ्यांक संकलन गर्न नै समस्या देखिएको छ ।

प्रकाशित : चैत्र ११, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?