१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रकै भविष्य फेरि जोखिममा : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताएका छन् । 

राष्ट्रकै भविष्य फेरि जोखिममा : दाहाल

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताए । ‘तपाईं हामी सबैको भाग्य, भविष्य, यो राष्ट्रकै भाग्य भविष्य, तपाईं हाम्रा सन्ततिहरुको भविष्य अहिले फेरि जोखिममा परेको छ, धरापमा पारिएको छ । नेपालीहरुको आत्मनिर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ,’ दाहालले भने ।

विगतमा नेपाली जनताले बाह्य हस्तक्षेपबाट नभई आफ्नाबारे आफैं निर्णय गरेर परिणाम पनि निकालेको दाहालले बताए । शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान घोषणा नेपाली आफैंले गरेको निर्णयको परिणाम रहेको दाहालको भनाइ छ । तर, अहिले आदेशपालक बनाउन खोजिएजस्तो महसुस आफूलाई भएको उनको भनाइ छ । ‘हाम्रोबारेमा निर्णय गर्दैगर्दा कसैको डर, धम्की, धाक हैन हामी आफैंले निर्णय गरेर परिणाम निकालेका थियौं । त्यो तपाईं/हामी सबैको गौरवको विषय हो । तर फेरि अहिले हामी निरीह हुन थालेको हो कि, फेरि नराम्रोसँग हेपिन थालेको हो कि, नेपालीहरुलाई निर्णयको अधिकार छैन, तिमीहरु निरीह हौ, निरीह नै रहिराख्न खोजिएको हो कि ?’ उनले भने, ‘तिमीहरुले बढी गर्‍यौं भने परिणाम भोग्न तयार होउ भनेर धम्की पो आउन थालेको हो कि ? आदेशपालक बनाउन पो खोजिएको हो कि भनेको जस्तो लाग्छ । म नेतृत्वमा भएको हुँदा मलाई यस्तो लागेको, अलि बढी छटपटी, पीडाबोध भएको स्थिति छ ।’

राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध नभए अझै खतरा हुनसक्ने दाहालले बताए । ‘जसरी संसद् भंग भयो त्यो संसद्‌मात्रै भंग भएको थिएन । संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको थियो, सार्वभौम नेपाली जनताको सार्वभौम अधिकारको अपहरण हो त्यो । सामान्य पहिला पहिला जस्तो मध्यावधि गर्ने भनेजस्तो हैन त्यो । अहिले सर्वोच्चले सच्चाएको छ,’ दाहालले भने, ‘तर अझै पनि खतराको कालो बादल मडारिइराखेको छ आकाशमा । नेपाली जनताले चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ ।’

प्रकाशित : चैत्र ११, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?