अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री राईको निर्देशन

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन एमालेका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईको अध्यक्षतामा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सदस्यहरूले सात दिनभित्र अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो ।

अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री राईको निर्देशन

प्रदेशसभा सदस्यहरूले प्रस्ताव फिर्ता लिन सहमति जनाइसकेको र उनीहरूलाई सात दिनभित्र लिखित रूपमा हस्ताक्षर फिर्ता लिई दललाई जानकारी गराउन निर्देशन दिइएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । उनले बैठकमा एमाले संसदीय दलको विधान प्रस्तुत गरेर सर्वसम्मत रूपमा पारित गरिएको बताए । बैठकले संसदीय दलको १५ सदस्यीय बोर्डसमेत गठन गरेको उनले सुनाए ।

बोर्डमा दलका नेता तथा मुख्यमन्त्री राई, दलको उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहनेछन् । जसमाया गजमेर, आशारत्न जबेगु, यशोधा अधिकारी, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, लीलावल्लभ अधिकारी र नीलम बस्नेतलाई बोर्डको सदस्यमा चयन गरिएको राजभण्डारीले बताए । दलको अर्को बैठकले उपनेता र सचेतक चयन गर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबल भइसकेको छ । सर्वोच्चको फैसलाले नेकपा पुरानै एमाले र माओवादी केन्द्रको हैसियतमा पुगेपछि नेपाल समूहका ५ जना प्रदेशसभा सदस्यले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूले हस्ताक्षर फिर्ता लिइसकेपछि प्रदेशसभा बैठक बस्ने र सरकारले बिजनेससमेत दिने राजभण्डारीले बताए ।

प्रकाशित : चैत्र ११, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?