कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गुठी जग्गा अतिक्रमण : स्रेस्तामा ७ सय रोपनी, आम्दानी शून्य

गुठीका जग्गामा बस्ती र बजार विस्तार, किनबेच तीव्र
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–५ र ६ वडामा रहेको नागेश्वर दुग्धनाथ शिवालयको गुठीको नाममा सात सय रोपनी क्षेत्रफलमा सिंगो लेगुवा बजार र दर्जन गाउँबस्ती छ ।

गुठी जग्गा अतिक्रमण : स्रेस्तामा ७ सय रोपनी, आम्दानी शून्य

छिमेकी जिल्ला संखुवासभाको धर्मदेवी नगरपालिका–८ र ९ वडामा समेत उक्त मन्दिरको नाममा दुई सय रोपनीभन्दा बढी जग्गा व्यक्तिले भोगचलन गर्दै आएका छन् । स्रेस्तामा मन्दिरको गुठीको नाममा सयौं रोपनी जग्गा उल्लेख भए पनि त्यसबाट आम्दानी भने शून्य छ ।

वि.सं. १८७२ मा शिवालयको नाममा छुट्याएको साविकको लेगुवा गाविस–३ देखि क्रमशः ७ वडामा समेटिएको जग्गाको व्यवस्थापन द्वन्द्वकालमा लथालिंग बनेको हो । मालपोत कार्यालयको अभिलेखअनुसार जिल्लामा विभिन्न गुठीको नाममा करिब ३४ हजार रोपनीभन्दा बढी जग्गा छ । धनकुटा नगरपालिकासहित लेगुवा, तेलिया, आहाले, वेलहारा, घोर्लिखर्कलगायत स्थानमा गुठीका जग्गा छन् । यीमध्ये यातायातको पहुँच पुगेका बस्ती तथा बजार विस्तार भएका स्थानका यस्ता जग्गा व्यक्तिगत किनबेच र अतिक्रमण तीव्र बन्दै गएको छ । अतिक्रमणको चपेटामा परेकोमध्ये नागेश्वर दुग्धनाथ महादेव गुठी जग्गा सबैभन्दा समस्याग्रस्त बनेको छ ।

२०३२ सालदेखि कपाली तमसुकको भरमा सामान्य किनबेच हुँदै आए पनि डेढ दशकयता व्यक्तिगत किनबेच तीव्र बन्दै गएको गुठी व्यवस्थापन समितिका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले बताए । ‘पछिल्लो अवस्था नियाल्दा अतिक्रमणको पराकाष्ठा नाघेको छ’, उनले भने, ‘स्थानीय तहदेखि जिम्मेवार निकायको चासो नगए गुठीको अस्तित्व पूर्णरूपमा संकटमा पर्ने निश्चित छ ।’ लेगुवा र संखुवासभाको मूलगाउँ तथा आँखीभुइँमा रहेका गुठीका सयौं रोपनी जग्गा अतिक्रमित छ । गुठीको नियन्त्रणभन्दा बाहिर रहेको जग्गामा सर्वसाधारणले पुस्तौंदेखि बस्दै र कमाइ गर्दै आएका छन् ।

जग्गा गुठीको स्रेस्तामा सीमित रहेको छ भने भोगचलन गर्दै आएका स्थानीयको नाममा लालपुर्जा छैन । तर वर्षौंदेखि घरसारको आधारमा किनबेच हुँदै आएको जग्गाको लालपुर्जा दिनुपर्ने माग गर्दै आएको यसको अगुवाइ गर्दै आएका ठगेन्द्र अधिकारीले बताए । तर झन्झटिलो कानुनी प्रक्रियाका कारण लालपुर्जा दिलाउन कठिनाइ हुने महालक्ष्मीका नगर प्रमुख पर्शुराम नेपाल बताउँछन् । व्यक्तिको नाममा जग्गा नभएकाले बिजुलीलगायत नगरले उपलब्ध गराउने अन्य सुविधाबाट स्थानीय वञ्चित छन् । पालिकालाई अधिकार दिए समस्या समाधान गर्न सकिने नेपालको दाबी छ ।

गुठीको जग्गामा हाल ११ सयभन्दा बढी घर निर्माण भइसकेको महालक्ष्मी–६ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । द्वन्द्वकालअघि लेगुवा तथा आँखीभुइँलगायतमा रहेको गुठीको खेतबाट सयौं मुरी धान शिवालयमा संकलन हुँदै आएको थियो । त्यसपछि आम्दानी प्राप्त हुन छाडेको गुठी व्यवस्थापन समितिका अध्यक्ष डिकबहादुर पुरीले बताए ।

‘उतिबेला शिवालयमा महाशिवरात्रि, बालाचतुर्दशीका बेला धार्मिक मेला लाग्ने, होमादी, पाठपरायण, स्वस्तिशान्ति गर्ने गरिन्थ्यो, अहिले आम्दानी नै छैन,’ उनले भने, ‘पछिल्लो समय त पुजारीलाई तलब नै दिन सकिएको छैन ।’ अहिले महालक्ष्मी–५ र ६ वडाको सहयोगमा मासिक रूपमा ३ हजारका दरले पुजारीलाई पारिश्रामिक दिने गरिएको छ । मन्दिर स्थानीय विराज खड्काको पहलमा बनेको थियो ।

करिब २ सय ३५ वर्ष पुरानो नागेश्वर शिवालय तथा दुग्धनाथ महादेवको मन्दिरको महालक्ष्मी नगरपालिकाले जीर्णोद्धार गरेको छ । छथरजोरपाटी गाउँपालिकास्थित तेलियामा रहेको पिण्डेश्वर गुठीको जग्गामा हाल डेढ सय बढी घर निर्माण भएका छन् ।

साविकको तेलिया गाविसको १, २, ३ र ५ वडामा रहेको करिब चार सय हेक्टर जग्गामा स्थानीयले भोगचलन गर्दै आएका छन् । रैकर गुठी भएकाले किनबेच हुने स्थानीय शंकर ओझाले बताए । यसैगरी धनकुटा नगरपालिका–७ स्थित नर्वदेश्वर मन्दिरको नाममा रहेको महत्त्वपूर्ण जग्गा अतिक्रमण भएको स्थानीयको गुनासो छ । बजार क्षेत्रमा रहेको उक्त जग्गा अतिक्रमण गरेर घर निर्माण गरिएका छन् ।

प्रकाशित : चैत्र ११, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?