३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भोजपुर ‘सामूहिक हत्या’ का दोषी अझै पत्ता लागेनन्

न्यायका लागि मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म गुहार, प्रहरी भन्छ– ‘अनुसन्धान जारी छ तर उपलब्धि हात परेन’ 
विनोद भण्डारी

विराटनगर — भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा २०७४ असार १० मा ८, १४ र १५ वर्षका तीन बालबालिका एकै पटक रहस्यमय रूपमा बेपत्ता भए । स्थानीयले रातभर खोला, पोखरी, झाडी र भीरपाखामा खोजतलास गरे तर कहीं फेला परेनन् ।

भोजपुर ‘सामूहिक हत्या’ का दोषी अझै पत्ता लागेनन्

बेपत्ता हुनेमा चेतनाथ फुयाँलकी १४ वर्षीया छोरी सुष्मा, ८ वर्षीय छोरा प्रदीप र छिमेकी रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जित थिए । खोज्ने क्रममा गाउँलेले चेतनाथको घरदेखि करिब सय मिटर पर तोरणबहादुर कार्कीको पोखरीमा पानीभित्रै पसेर खोजी गरे । कतै नभेटिएपछि चेतनाथले स्थानीय प्रहरी चौकी पुगेर तत्कालीन प्रहरी निरीक्षक माधव केसीलाई सबै विवरण सुनाए । तर भोलिपल्ट बिहान पोखरीको डिलमा तीनै जना बालबालिकाको शव फेला पर्‍यो ।

पोखरीको डिलमा शव फेला पर्दा प्रदीप र रन्जितको खुट्टामा चप्पल भए पनि सुष्माको थिएन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा, सुष्मा र रञ्जितको घाँटीमा चुइगम फेला परेको उल्लेख छ । उनीहरूमा कुनै चोटपटक, दाग र विषादी फेला नपरेको रिपोर्टमा भनिएको छ ।

स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटक–पटक टोली पुगेर अनुसन्धान गरे पनि मृत्युको कारण र घटनामा संलग्नबारे केही पनि पत्तो लागेन । घटनाबारे प्रहरीले सुरुदेखि नै अनुसन्धानमा गम्भीर रूपले ध्यान नदिँदा वास्तविकता बाहिर आउन नसकेको पीडित परिवारको आरोप छ । चेतनाथ भन्छन्, ‘प्रहरी टोली पटक–पटक घटनास्थल आए पनि हामीसँग भेट्ने र बुझ्ने काम कहिल्यै गरेन ।’

स्थानीय निर्वाचन सुरक्षाका लागि त्यसबेला प्याउलीमा सेनाको अस्थायी ब्यारेक खडा गरिएको थियो । स्थानीयका अनुसार प्रदीप र रञ्जित अन्तिम पटक ब्यारेक नजिकै देखिएका थिए । भोजपुरबाट निर्वाचित पूर्वसांसद कुमारीलक्ष्मी राईले अनुसन्धानमा लगिएको कुकुर सेनाको ब्यारेकतिर छिर्न लागेपछि तानिएको अभिव्यक्ति त्यसैबेला दिएकी थिइन् । गाउँलेले नियोजित हत्या भएको भन्दै निष्पक्ष रूपमा छानबिन र पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएका छन् । पोस्टमार्टम रिपोर्ट अहिलेसम्म नदिइएको चेतनाथ बताउँछन् ।

त्यही वर्षको साउन अन्तिम साता चेतनाथले काठमाडौं पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए । राष्ट्रपतिले गम्भीर अनुसन्धान गरेर दोषी पत्ता लगाउने आश्वासन पनि दिइन् । ‘जम्मा पाँच मिनेट भेट्ने मौका मिलेको थियो,’ उनले भने, ‘राष्ट्रपतिबाट जसरी भए पनि घटनाको गम्भीर अनुसन्धान गरी छोराछोरीको हत्यामा संलग्नलाई पत्ता लगाएर उचित क्षतिपूर्ति दिलाउने आश्वासन पाएको थिएँ ।’ तर अहिलेसम्म घटनाको वास्तविकता र संलग्नको पत्ता नलागेपछि उनी हैरान छन् । आफ्नै जिल्लाको नाताले उनीबाट न्याय र क्षतिपूर्ति पाइन्छ भन्ने आशा रहे पनि पूरा नभएको उनको गुनासो छ । त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मालाई पनि भेटेर न्याय मागेका थिए ।

‘शर्माले घटनाको वास्तविकता चाँडै पत्ता लगाउने आश्वासन दिँदै सहयोगका लागि दुई/चार लाख रुपैयाँ राज्यले छुट्याएको बताएका थिए,’ उनले भने, ‘तर हालसम्म एक रुपैयाँ पनि पाएको छैन ।’ छोराछोरीको हत्यारा पत्ता लगाउन माग गर्दै चेतनाथले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समेत भेटे । राईले पनि आश्वासनबाहेक केही नदिएको उनको गुनासो छ ।

‘मुख्यमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष पुगेर घटनाको वास्तविकता पत्ता लगाउन र क्षतिपूर्तिको व्यवस्था गर्न अनुनयविनय गरें,’ उनले भने, ‘अब त आसै मर्‍यो, मेरा छोराछोरीको मृत्युलाई राज्यले भ्यागुता मरेझैं लियो ।’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी कृष्ण चन्द घटनाको अझै अनुसन्धान भइरहेको बताउँछन् । ‘घटनाबारे अहिलेसम्म केही खुलेको छैन,’ उनले भने, ‘अनुसन्धान जारी छ तर उपलब्धि केही पनि हात परेको छैन ।’ घटनापछि विस्थापित चेतनाथ हाल सुनसरीको इटहरी–१ हलगडामा आफन्तको सहारामा बस्दै आएका छन् । अर्का पीडित रवीन्द्र सापकोटा प्याउलीमै छन् ।

परिवारै सखाप भएको घटना पनि रहस्यमै

मोरङको कानेपोखरी–३ हरकपुरमा भएको आगलागी घटनाको वास्तविकता पनि प्रहरीले अझै सार्वजनिक गरेको छैन । २०७४ असोज ४ राति एकै परिवारका ८६ वर्षीया गंगामाया राई, उनका ५६ वर्षीय छोरा चन्द्रकुमार, ४९ वर्षकी छोरी पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारीको आगलागीमा परी ज्यान गएको थियो । घटना रहस्यमय भएको भन्दै आफन्त र स्थानीयले आन्दोलन पनि गरेका थिए । स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले समेत घटनाको अनुसन्धान गरेको थियो ।

मृतकका आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी–४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसैबेला नियन्त्रणमा लिएर सोधपुछ गरी प्रहरीले छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । पथरीका तत्कालीन प्रहरी निरीक्षक राजन कार्की सरुवा भएपछि घटनाको अनुसन्धान फितलो भएको पीडित परिवारको गुनासो छ ।

आफन्तजनले नियोजित रूपले चारै जनाको हत्या गरेर घरमा आगो लगाएको हुन सक्ने आशंका गरेका थिए । घटनाको गम्भीर अनुसन्धान नभएको भन्दै मृतकका आफन्तले मोरङ प्रहरी, प्रशासन, अञ्चल प्रहरी, क्षेत्रीय प्रहरी कार्यालय हुँदै काठमाडौंको अपराध अनुसन्धान ब्युरोसम्म निवेदन दिएका थिए । गृह मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षण गराएका थिए ।

२०७४ मंसिर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा पनि घरमा आगो लाग्दा परिवारका चारै जनाको मृत्यु भएको थियो । उक्त घटनाको पनि प्रहरीले वास्तविकता बाहिर ल्याउन सकेको छैन । आगोले जलेर ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको मृत्यु भएको थियो । ट्याक्टर र थ्रेसर व्यवसायी खनालको काठको दुईतले घरको चारैतर्फबाट एकै पटक आगो दन्किएको स्थानीयको भनाइ छ ।

शिवसताक्षी नगरभित्र डेढ दशकमा यस्तै खाले तीनवटा घटना भएका भएका छन् । २०६१ मा साविक शिवगन्ज गाविसको चन्द्रडाँगीका संग्राम खड्काको घरमा आगलागी हुँदा उनीसहित परिवारका ५ जनाको जलेर मृत्यु भएको थियो । २०६९ मा साविक सतासीधाम गाविसको दूधे बजारमा मनिका खरेल भट्टराईको घरमा आगलागी हुँदा उनीसहित दुई छोराको जलेर मृत्यु भएको थियो । यी सबै घटनाको अहिले पनि अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीको भनाइ छ ।

‘कोरोनाका कारण गतवर्ष अनुसन्धान प्रभावित बन्यो,’ उनले भने, ‘अहिले सम्बन्धित जिल्ला प्रहरी, प्रदेश प्रहरी र अपराध अनुसन्धान ब्युरोको छुट्टाछुट्टै टोलीले अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित : चैत्र ११, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?