१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘प्रधानमन्त्रीले संसद्सँग बदला लिन खोजे’

सांसदहरु भन्छन्– ‘ओलीको व्यवहारले संसद् र सांसदको अपमान भयो’ 
ऋषिराम पौड्याल

काठमाडौँ — सांसदहरूले सरकारले संसद्लाई कामविहीन बनाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विघटन गरेको प्रतिनिधिसभासँग बदला लिन खोजेको टिप्पणीसमेत उनीहरूले गरे । 

‘प्रधानमन्त्रीले संसद्सँग बदला लिन खोजे’

प्रतिनिधिसभामा मंगलबारको शून्य समयमा कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीले आफूमाथि आउने प्रश्न छल्न गत असारमा हठात् संसद् अन्त्य गरेको र पार्टीभित्रको विरोधी तह लगाउन गत पुसमा प्रतिनिधिसभा भंग गरेको बताए । प्रतिनिधिसभा भंग गर्ने सनक ठीक थियो भन्ने पुष्टि गर्न संसद्लाई कामविहीन बनाइएको उनको प्रतिक्रिया थियो । उनले एसिड आक्रमणकारीविरुद्ध कानुन बनाउन नदिएको भन्दै प्रधानमन्त्री ओलीले हल्ला गरेको पनि बताए ।

‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं । तर सरकारले संसद्लाई एउटा पनि विधेयक दिएको छैन,’ उनले भने । कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाएकामा आक्रोश पोख्दै उनले यो सरकार रहेसम्म संसद्लाई तिरस्कार गर्ने काम बढ्दै जाने बताए । संसद्को गरिमा कायम राख्न लडिरहने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको व्यवहारले संसद् र सांसदको अपमान भएको र यसको मूल्यांकन जनताले गर्ने उनले बताए ।

एमाले सांसद झपट रावलले प्रतिनिधिसभा विघटनपछि संसद्ले काम गर्न नपाएको भन्दै नागरिकतालगायत विधेयक अघि बढाउन माग गरे । उनले प्रतिनिधिसभाको फेरि हत्या गर्ने प्रयास नगर्न सुझाए । उनले भने, ‘राजनीतिक नेतृत्वले प्रतिनिधिसभालाई अकालमै मृत्यु नगराउनुस् ।’ माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले बिजनेस नदिएर संसद्लाई गतिहीन बनाएको आरोप लगाए । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा ब्युँतेको भन्दै सर्वोच्च अदालतलाई बधाई दिइन् ।

एमाले सांसद गजेन्द्रबहादुर महतले आफूहरू मर्‍यो भनेर झाडीमा फालेको सांसदका रूपमा उपस्थित भएको बताए । उनले व्यंग्यात्मक शैलीमा माता र पिता मिलेर सांसदलाई झाडीमा फ्याँकेको बताएका थिए । मुलुक विकासित राष्ट्रमा पुगेको भनिए पनि जुम्लाका जनताले बिजुली बाल्न नपाएको आक्रोश उनले पोखे । हातले नक्सा देखाउँदै उनले थप व्यंग्य गरे, ‘कर्णाली नेपालमै पर्छ । कर्णालीका जनता अँध्यारोमा छन्, विकसित राष्ट्रको प्रमाणपत्र घूस दिएर त ल्याइएको होइन ?’

एमाले सांसद खगराज अधिकारीले माओवादी केन्द्रप्रति लक्षित गर्दै संसद्मा प्रधानमन्त्रीलाई समर्थन गरिरहेर नैतिकताको पाठ नसिकाउन आग्रह गरे । एमाले सांसद खेमप्रसाद लोहनी, कृष्णभक्त पोखरेल, केदार सिग्देल, कृष्णप्रसाद दाहाल, घनश्याम खतिवडा, गंगा चौधरी सत्गौवा, चाँदतारा कुमारी, कांग्रेस सांसदहरू उमा रेग्मीले समसामयिक विषयमा मन्तव्य राखे । संसद्ले बिजनेस नपाएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी १८ गते बस्ने भएको छ ।

‘भारतले मिचेको जमिन फिर्ता ल्याऊ’

दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले एकतर्फी रूपमा संरचना निर्माण गरेको भन्दै प्रतिपक्षी सांसदहरूले सरकारको ध्यानाकर्षण गराए । कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउनका लागि पहल गर्न पनि उनीहरूले माग गरे । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको सदरमुकाम रहेको महाकाली नगरपालिकाको पारिपट्टि भारतले नेपालको जमिन समेटेर तटबन्ध बनाइरहे पनि सरकारले बेवास्ता गरेको बताए । नेपालको सहमतिबिना गरिएको निर्माण रोक्न सीमामा भारतीय अधिकारीलाई यताका प्रमुख जिल्ला अधिकारीले पत्राचार गरे पनि सुनुवाइ नभएको उनले जानकारी दिए ।

स्थानीय जनताले विरोध जनाए पनि सरकार मौन समर्थन गरेजसरी बसेको आरोप उनले लगाए । २०७० असार २ गते आएको भीषण बाढीले नेपालको १ हजार ४७ रोपनी जमिन खोलाले बगाएको विवरण सुनाउँदै उनले भारतले नदीमा बनाएको संरचनाका कारण खोलाले धार परिवर्तन गरेको बताए । अस्पताल, भूसंरक्षण कार्यालय, वन कार्यालय, सामुदायिक वनलगायत ३५ हेक्टरभन्दा बढी जमिन भारततिर परेको उनले जानकारी दिए । सीमाका विषयमा दुई देशबीच विगतमा भएको समझदारीलाई भारतले पालना नगरेको उनको भनाइ थियो । ‘भारतले अहिले बनाइरहेको तटबन्धले थप गाउँ बग्ने सम्भावना छ,’ उनले भने । आफ्नो भूमि बचाउने कुरामा सरकारले बेवास्ता गरेको उनले बताए ।

कांग्रेस सांसद जिपछिरिङ लामाले कालापानी, लिम्पियाधुरा र लिपुलेकको लोगो मात्र ल्याउने कि जमिन फिर्ता ल्याउने भन्दै प्रश्न गरे । उनले नक्सा जारी गर्ने समयमा सिंगो सदन एक भए पनि जमिन फिर्ता ल्याउन सरकारले वास्ता नगरेको बताए । परराष्ट्रमन्त्री भारत गएका बेला भारतले नेपालको मुद्दा सुन्न नचाहेको उनको भनाइ थियो ।

प्रकाशित : चैत्र ११, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?