लिमीबाटै मानसरोवर दर्शन !

हुम्ला — अब हुम्लाको लिमीबाटै तिब्बतस्थित कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ । विगतमा मानसरोवर–कैलाश दर्शन गर्न चीनको भिसा लगाएर तीर्थयात्रीलाई हिल्सा र ताक्लाकोट हुँदै तिब्बत पुग्नुपर्ने बाध्यता थियो ।

लिमीबाटै मानसरोवर दर्शन !

कोरोना महामारीका कारण चीनले नाका नखोलेपछि नाम्खा गाउपालिका–६, लिमीको लाप्चाबाट मानसरोवरको दर्शन गर्ने व्यवस्था मिलाइएको हो । मानसरोवरको दर्शनका लागि लाप्चालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न लागिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । ‘अब यहींबाटै कैलाशको दूरदर्शन गर्न सकिन्छ,’ उनले भने, ‘नाका नखुलेपछि वैकल्पिक व्यवस्था मिलाएका हौं ।’ उनका अनुसार मानसरोवर दर्शनका लागि बर्सेनि १० देखि १५ हजार भारतीय तीर्थयात्री हुम्लाको बाटो हुँदै आउने गरेका छन् ।

सदरमुकाम सिमकोटको बाटो भएर मानसरोवर दर्शन गर्न जाने पर्यटकका लागि नेपालगन्ज–सिमकोट जहाज र सिमकोट–हिल्सा हेलिकप्टर सेवा सञ्चालन हुँदै आएको थियो । होटल व्यवसायी संघ, हुम्लाका अध्यक्ष मिम लामाका अनुसार चिनियाँ भिसा लिनुपर्ने बाध्यताका कारण यसअघि मानसरोवर दर्शन गर्न आउने पर्यटकले विभिन्न सास्ती भोग्दै आएका थिए ।

‘भिसामा ढिलाइ हुँदा भारतीय पर्यटकलाई ५ देखि ७ दिनको प्याकेज लिनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘नाका बन्द हुँदा यहाँको पर्यटन व्यवसाय संकटमा परेको थियो, अब फस्टाउने आशा छ ।’ मानसरोवर दर्शनको गन्तव्य फेरिएपछि व्यवसायीले सिमकोट–लाप्चा हेलिकप्टर प्याकेज ल्याएका छन् । ‘भारतीय तीर्थयात्रीलाई लक्षित गरी नयाँ प्याकेज ल्याएका छौं,’ पर्यटन व्यवसायी विजय लामाले भने, ‘नेपालगन्जबाट प्लेनमा आएका पर्यटकलाई हेलिकप्टरबाट लिमी पुर्‍याइनेछ ।’ उनले सीता एयर र माउन्टेन हेलिकप्टरको सहकार्यमा प्याकेज सुरु गरिएको जानकारी दिए ।

मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । हरेक वर्ष मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्रीको आकर्षण बढ्दै गएको देखिन्छ । चीन सरकारले अप्रिलदेखि सेप्टेम्बरसम्म तीर्थयात्रीको सुविधाका लागि नाका खोल्ने गरेको भए पनि अघिल्लो वर्षको चैतदेखि बन्द छ । जसका कारण गत वर्ष भारतीय पर्यटक मानसरोवर तीर्थयात्रामा आउन सकेनन् । अवैध नाकाबाट पर्यटक मानसरोवर प्रवेश गर्न थालेपछि चीनले यो वर्ष थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘लिमीलाई नयाँ गन्तव्य बनाइएपछि जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने आशा छ,’ उनले भने, ‘भारतीय तीर्थयात्रीलाई लक्षित गरी यो रुटबाट पर्यटक भित्र्याउन ३ वटै तहको सरकार गम्भीर बन्नुपर्छ ।’

कसरी गर्ने दर्शन ?

लाप्चा समुद्र सतहदेखि झन्डै ५ हजार मिटर उचाइमा छ । परापूर्वकालमा हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको लाप्चाबाट कैलाश पर्वत र मानसरोवर तालको अधिकांश भाग देख्न सकिन्छ । ‘लिमीबाट कैलाश दर्शन गर्दा तीर्थयात्रीले बेग्लै अनुभूति लिन सक्छन्,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘यो व्यवस्थाले पर्यटकले पाउने सास्ती कम गर्नसमेत सहयोग पुगेको छ ।’ उनका अनुसार भारतीय तीर्थयात्री यसअघि पैदल, स्थल र हवाई मार्ग प्रयोग गरी मानसरोवर जाने गरेका थिए ।

कैलाश–मानसरोवर दर्शनका लागि नेपालगन्ज–सिमकोट हुँदै हिल्साको बाटो छोटो भएकाले भारतीय पर्यटकको आकर्षण बढेको हो । तीर्थयात्रीको सुविधाका लागि गत वर्षसम्म सदरमुकाम सिमकोटदेखि हिल्सासम्म हेलिकप्टर यात्राको व्यवस्था गरिएको थियो । हिल्सा पुगेका पर्यटकलाई चिनियाँ भूमिमा गाडीमार्फत ताक्लाकोट पुर्‍याइन्थ्यो भने उनीहरू ताक्लाकोटबाट ४/५ घण्टा पैदल हिँडेर मानसरोवर पुग्थे ।

व्यवसायी लामाका अनुसार सिमकोट पुगेका पर्यटकलाई लेक नलागोस् भनेर एक दिन सदरमुकामै राख्ने व्यवस्था मिलाइएको छ । ‘एक दिन सिमकोट बसेपछि पर्यटकलाई लिमीसम्म झन्डै २० मिनेटको हेलिकप्टर यात्रा गराइनेछ,’ उनले भने, ‘लिमी पुगेका तीर्थयात्रीलाई कैलाशको दुरदर्शन गराएपछि उसै दिन सिमकोट फर्काउने व्यवस्था मिलाएका छौं ।’ लाप्चा धेरै उचाइमा भएकाले तीर्थयात्रीलाई १० देखि १५ मिनेट मात्र पूजाको समय दिइने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ११, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?