कोरोना संक्रमणको जोखिम : नाका आउजाउ कडाइ गरिने

क्वारेन्टाइनसमेत सञ्चालन गर्ने लुम्बिनी प्रदेश सरकारको तयारी
नाकाको दुवैतर्फ हेल्थ डेस्क स्थापना गरी जनशक्ति परिचालन

भैरहवा र तिलोत्तमा — कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम : नाका आउजाउ कडाइ गरिने

भीड हुने कार्यक्रमलाई निरुत्साहित गर्ने पनि प्रदेश सरकारले जनाएको छ । यसका लागि जिल्ला प्रशासन र स्थानीय सरकारसित रोकथाम तयारीबारे छलफल गरिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

‘अहिले मिडियामार्फत सचेतना फैलाइरहेका छौं,’ उनले भने, ‘छिट्टै पालिकासँग बैठक बस्ने, पुन: क्वारेन्टाइन सञ्चालन तयारी थाल्न आग्रह गर्नेबारे सल्लाह भइरहेको छ ।’ कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेर आगामी रणनीति तय गरिने उनले बताए । पहिलेको तुलनामा सचेत र व्यवस्थित तरिकाले कोरोनाको सामना गर्ने गरी अध्ययन र काम भइरहेको उनको भनाइ छ । ‘नागरिकलाई जतिसुकै आग्रह गर्दा पनि मास्क लगाउन आनाकानी गरिरहेकाले संक्रमण विस्तार नहोला भन्न सकिन्न,’ उनले भने ।

रूपन्देहीको मुख्य बेलहिया–सुनौली नाकामा पर्यटक आवागमन बन्द गरिए पनि विभिन्न प्रयोजनमा सीमा वारपार गर्नेको संख्या दैनिक बढिरहेको छ । सीमामा हुने खुला आगमनले भारतमा तीव्र फैलिरहेको कोरोना संक्रमण सहजै मुलुक प्रवेश गर्ने भएकाले नाकामा हेल्थ डेस्क राखेर ज्वरो नाप्ने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । ‘ज्वरो आएको खण्डमा एन्टिजेन्ट जाँचमार्फत मलेरिया वा अन्य कारण हो भनी पत्ता लगाउने सुविधा सुरु गरिसकेका छौं,’ उनले भने, ‘मुलुकबाहिरदेखि आउने नागरिकलाई स्वास्थ्य अवस्था ठीक भए पनि कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान प्रत्येक पालिकामा लागू गरेका छौं ।’ जिल्लामा रहेका सबै अस्पताललाई उपकरणसहित तयारी अवस्थामा रहन र प्रशासनको भूमिकाका विषयमा छलफलबाट तय भएअनुसार काम भइरहेको घिमिरेले बताए ।

यूएस एडअन्तर्गत सञ्चालित स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाले सिद्धार्थनगर नगरपालिका र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्दै नाकामा ल्याब कक्षसहितको हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएको छ । ‘कोरोनासँगै मलेरिया संक्रमणका बारेमा पनि सिमानामै सावधानी अपनाउन सुरु गरेका छौं,’ परियोजनाअन्तर्गत आपत्कालीन निगरानी अधिकृत रजनीश चौधरीले भने, ‘सिमानाबाट नेपालतर्फ आउने हरेक यात्रुको तत्काल ज्वरोको नाप लिएर आवश्यक परीक्षण गर्नेछौं ।’ नाकाको दुवैतर्फ एक–एक हेल्थ डेस्क स्थापना गरी जनशक्ति परिचालन गरिएको छ । पश्चिमतर्फको डेस्कमा भारतबाट आएका हरेक यात्रुको थर्मगनबाट ज्वरोको नाप लिने गरिन्छ । जुन यात्रुमा उच्च ज्वरो देखिन्छ, उसलाई पूर्वतर्फको हेल्थ डेस्कमा आधा घण्टाभन्दा धेरै समय आराम गर्न लगाएर पुन: ज्वरो नापिन्छ । ज्वरो उच्च देखिएमा डेस्कभित्रै रगतको नमुना लिई मलेरियाको आरडीटी परीक्षण र स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिन्छ । दुवै परीक्षणको रिजल्टका आधारमा संक्रमित यात्रुको व्यवस्थापन गरिन्छ । कोरोना संक्रमित भएको पुष्टि भएमा संक्रमितको अवस्था हेरेर तत्कालै एम्बुलेन्सद्वारा होम आइसोलेसन, संस्थागत आइसोलेसन वा कोभिड अस्पताल पुर्‍याइने व्यवस्था मिलाइएको छ ।

‘पूर्वतर्फको डेस्कमा यात्रुको सामान्य स्क्रिनिङ गरेपछि डेस्कबाट परीक्षण र यात्रुको व्यवस्थापन गरिनेछ,’ चौधरीले भने, ‘कोरोना र मलेरिया दुवै संक्रमणको परीक्षण गर्न हेल्थ डेस्कमा जनशक्तिसहितको उपकरण र किट उपलब्ध छन् ।’ यस्तो हेल्थ डेस्क भैरहवा–सुनौली नाकामा स्थायी रूपमै सञ्चालन हुने उनले बताए । डेस्कमा तीन जना अहेब, एक जना ल्याब टेक्निसियन, एक चिकित्सक र एक जना निगरानी अधिकृत खटिएका छन् ।

बुटवलस्थित कोरोना अस्पतालका प्रवक्ता डा. विष्णु गौतम चाहिएजति जनशक्ति र उपकरण सरकारले उपलब्ध नगराउँदा नयाँ संक्रमण फैलिएमा उपचारमा समस्या आउन सक्ने बताउँछन् । ‘सरकारले खटाएकामध्ये ३० जनाजति बिदा भएर गइसके र बाँकी कर्मचारीको म्याद चैत मसान्तसम्म मात्र छ,’ उनले भने, ‘जनशक्ति अभाव पहिलो समस्या हो ।’ पहिले जडान गरिएका उपकरणमध्ये धेरै बिग्रिसकेका र नयाँ जडान नगरे बिरामी राखेर उपचार गर्न नसकिने उनले बताए । अहिले फिभर आइसोलेसन र कोरोना अस्पतालको आइसोलेसनमा गरी सात/आठ जना मात्र बिरामी रहेको भन्दै उनले जनशक्ति थपी तालिम दिन र काममा लगाउन समय लाग्ने भएकाले त्यसप्रति ध्यान दिन सुझाए । लुम्बिनी प्रादेशिक अस्पतालले आँटेरै कोरोना विशेष अस्पताल सञ्चालन गरिरहे पनि आवश्यक उपकरण र जनशक्ति नभए हेर र बसको विकल्प नहुने गौतमको भनाइ छ ।

दुई महिनादेखि अस्पतालमा कोरोनाका बिरामी नभए पनि पहिलेका उपकरण तयारी अवस्थामा रहेको भैरहवास्थित भीम अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए । ‘चैतसम्म म्याद रहेको जनशक्ति पनि तयारी अवस्थामै छ,’ उनले भने, ‘केस आएको खण्डमा म्याद थप गर्ने वा जनशक्ति बढाउने निर्णय होला ।’ प्रशासनले आफूहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए । ‘क्वारेन्टाइन र आइसोलेसनका हकमा अहिले केही भनिसकेको छैन,’ उनले भने, ‘मानिसले स्वास्थ्य मापदण्ड अपनाउन गरिने आग्रहलाई नकार्दा समस्या थपिन सक्छ ।’ संक्रमण भित्रिसकेपछि मात्र कडाइ गर्ने र स्वास्थ्य सामग्री प्रयोगका लागि दबाब दिने प्रवृत्तिले समस्या निम्त्याउने भएकाले अहिले नै पूर्ण तयारीका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?