कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन हुँदैन : देउवा

सुनसरी — कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग बहुमत भएकाले कांग्रेसले चाहदैमा नयाँ सरकार गठन नहुने बताएका छन् । 

कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन हुँदैन : देउवा

उनले सर्वोच्च अदालतको आदेशपछि नेकपा पार्टी, एमाले र माओवादी केन्द्रमा विभाजित भए पनि पुष्पकमल दाहालले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए ।

दलित संघ केन्द्रीय कार्यसमितिद्वारा मंगलबार धरानको चुम्लुङ हिममा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तरक्रियामा पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसले सरकार नबनाउने बताएका हुन् ।

उनले भने, ‘अहिले एउटा पार्टी सरकारमा छ, त्यसलाई प्रचण्डजीको पार्टीले समर्थन गरेको छ । त्यसैले यो संयुक्त सरकार हो । संयुक्त सरकार भएकाले बहुमतको सरकार भयो । बहुमतको सरकार हुँदाहुँदै कांग्रेसले चाहदैमा नयाँ सरकार गठन हुँदैन ।’

उनले माओवादी पनि सरकारमै सामेल भएकाले कांग्रेसलाई सरकार ढाल्ने र बनाउने हतारो नभएको र कांग्रेस अहिले सरकारमा जान बल नगर्ने बताए । उनले भने, ‘तर परि आए छाड्दैन पनि ।’

उनले ओलीको बहुमतको सरकार रहेसम्म कांग्रेसले प्रतिपक्षीको भूमिकामा बसेर मुलुकभर संगठन विस्तार गर्दै जाने बताए । उक्त अवसरमा नेता देउवाले दलित संघका नेताहरुले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउन आग्रह गरे । उनले भने, ‘दलित आयोग गठन गर्ने काम मेरै पालामा सुरु भएको हो । दलित समुदायका नेताहरूलाई जनसम्पर्क बढाउनु जरुरी छ ।’

नेपाल दलित संघका सभापति मीन विश्वकर्माले मुलुकमा जातीय विभेदको उन्मुलन गर्ने पार्टी कांग्रेस मात्र भएको बताए । अन्तरक्रियामा नेपाल दलित संघ केन्द्रिय कार्यसमितिका पदाधिकारी, प्रदेश नं १ का १४ जिल्लाका संघका दलित अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

प्रकाशित : चैत्र १०, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?